
धादिङ । नेत्रावती डवजोङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निरञ्जना माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक पूरा गरेको छ ।
निरञ्जनाले यसअघि २०८० सालमा ११ स्वर्णसहित प्रथम र २०८१ सालमा ८ स्वर्णसहित प्रथम हुँदै आएको थियो । चालु वर्षको प्रतियोगितामा भने ९ स्वर्ण, ६ रजत र ८ कास्य पदक प्राप्त गर्दै फेरि पनि प्रथम स्थान हासिल गरी आफ्नो वर्चस्व कायम राख्न सफल भएको हो ।
यसवर्षको प्रतियोगितामा मंगलादेवी माध्यमिक विद्यालयले ७ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने कुण्डलादेवी माध्यमिक विद्यालयले ६ स्वर्ण, १२ रजत र ५ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।
विद्यालयहरूबीच भएको यस प्रतिस्पर्धाले नेत्रावती डवजोङ गाउँपालिकामा खेलकुदप्रतिको उत्साह र प्रतिभा विकासको राम्रो संकेत गरेको आयोजकहरूले बताएका छन् ।
