गजुरीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड भोलीदेखि सुरु हुँदै

Avatar photo
Dhadingpost
मंसिर २९, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पुस १ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने गरी पाँचौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा हुने जनाइएको छ।

उक्त प्रतियोगितामा गजुरी गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गर्नेछन्। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै प्रतिभा पहिचान गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।

गत वर्षको प्रतियोगितामा डोलभन्ज्याङ माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड स्थायी रूपमा आफ्नो नाममा गरेको थियो। त्यसपछि यस वर्षको प्रतियोगिताका लागि पालिकाले नयाँ रनिङ शिल्डको व्यवस्था गरेको छ।

स्थानीय तहमा खेलकुद विकास, अनुशासन र नेतृत्व क्षमताको विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तस्वीरः गत वर्षको विजेता डोल भञ्ज्याङले शिल्ड उचाल्दै गरेको हो ।