सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड मिन्दुकाले जित्यो

Avatar photo
Dhadingpost
मंसिर २९, २०८२

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा मिन्दुका माध्यमिक विद्यालय समग्र विजेता बनेको छ। सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा मिन्दुकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो।

मिन्दुका माविले ५ स्वर्ण, १ रजत र ४ कास्य गरी कुल १० पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्‍यो। गत वर्ष १ स्वर्ण, १० रजत र ४ कास्य सहित नवौं स्थानमा सीमित रहेको मिन्दुका माविले यस वर्ष उल्लेखनीय प्रगति गर्दै सबैलाई चकित पारेको छ।

गत वर्षको विजेता तथा यस वर्षको प्रतियोगिता व्यवस्थापक विद्यालय महाकाली माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदकसहित दोस्रो स्थान हासिल गरेको छ। महाकाली मावि गत वर्ष ८ स्वर्ण, २ रजत र ३ कास्य सहित विजेता बनेको थियो।

विद्यालयगत नतिजा यस प्रकार रहेको छ :

१. मिन्दुका मावि – ५ स्वर्ण, १ रजत, ४ कास्य (कुल १०)
२. महाकाली मावि – ४ स्वर्ण, ४ रजत, २ कास्य (१०)
३. सुन्दरी मावि – ३ स्वर्ण, ६ रजत, १ कास्य (१०)
४. सत्यवती मावि – ३ स्वर्ण, ५ रजत, ३ कास्य (११)
५. अमरआदर्श मावि – ३ स्वर्ण, १ रजत, ७ कास्य (७)
६. बागबच्छला मावि – २ स्वर्ण, ४ रजत, ३ कास्य (९)
७. नलाङपात्ले मावि – २ स्वर्ण, १ रजत, ३ कास्य (६)
८. अकलादेवी मावि – २ स्वर्ण, १ रजत, १ कास्य (४)
९. सिद्धेश्वर मावि – १ स्वर्ण, ३ रजत, २ कास्य (६)
१०. नलाङ मावि – १ स्वर्ण, ३ रजत, १ कास्य (५)
११. कालीदेवी मावि – १ स्वर्ण (१)
१२. जलेश्वरी मावि – २ कास्य (२)
१३. पञ्चमुखी मावि – १ कास्य (१)
१४. नलाङ मोडेल एकेडेमी – पदक शून्य

भव्य पुरस्कार वितरण समारोह

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिद्धलेक गाउँपालिका प्रमुख परशुराम खतिवडा प्रमुख अतिथि रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य तथा वडा अध्यक्षहरूको विशेष आतिथ्यता रहेको थियो।

स्थानीय तहस्तरमा खेलकुद प्रतिभा पहिचान र विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागीहरूले बताएका छन्।

📷 तस्वीर: मनिश श्रेष्ठ