नेपाली कांग्रेस धादिङका ३७ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर

Avatar photo
Dhadingpost
अशोज २८, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङका ३७ जना महाधिवेशन प्रतिनिधिले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएको चुनौतीको समीक्षा गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन्।

धादिङ कांग्रेसका सचिव विकास श्रेष्ठसहसचिव नवराज तिमल्सिनाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै हस्ताक्षर अभियान सुरु गरेका थिए।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि देशभर देखा परेका राजनीतिक घटनाक्रमले कांग्रेसको आन्तरिक जीवनमा गहिरो प्रभाव पारेको भन्दै, पार्टीलाई पुनः सशक्त बनाउनका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको ठहर छ।

जिल्ला सभापति रामनाथ अधिकारी समूहले चलाएको उक्त हस्ताक्षर अभियानमा भीम प्रसाद ढुङ्गाना समूह भने सहभागी भएन।

धादिङ जिल्लाबाट हाल जम्मा ५२ जना महाधिवेशन प्रतिनिधि छन् (पहिले ५३ जना थिए तर डा. राजाराम कार्कीको निधन भएपछि संख्या घटेको हो)। तीमध्ये ३७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।

त्यसैगरी, २ जना केन्द्रीय सदस्यहरूले भने केन्द्रीय समितिबाटै दबाब दिने उद्देश्यले जिल्लाको हस्ताक्षर अभियानमा सहभागी नभएको जनाइएको छ।