गजुरीमा सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, पाँच देशका खेलाडी सहभागी

Avatar photo
नारायण सिलवाल
शनिबार, पुस १४, २०८०

धादिङ । धादिङको गजुरीमा आजबाट अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्र (नेपाल, भारत, श्रीलंका, बेलायत र जापान) ले सहभागीता जनाउने सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गरेका हुन् । यस सेमिनार तथा प्रतियोगिता जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा गजुरीको गलौंदी स्थित कभर्डहल आजबाट सुरुभएको हो ।

उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री जम्कट्टेलले राज्यपुनर संरचना पछि बागमती प्रदेशको खेलकुद उचाईमा पुगेको बताएका थिए । हामीले यसै वर्ष मात्र दुईवटा प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरि सकेका छौं भने फागुन २४ देखि ३० सम्म हेटौंडामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्न गईरहेका छौं यसले पनि बताउँछ कि खेलकुदमा बागमती प्रदेशको चासोलाई । खेलकुद सबैका लागि अत्यावश्यक छ, त्यसैले प्रदेश सरकारले भौतिक पूर्वाधार होस् या खेलकुद कार्यक्रम वजेट बनाउने बेला खेलकुदलाई प्रथामिकतामा राख्ने गरेको दावी समेत गरेको थिए ।

आजबाट तीन दिन अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह तथा ब्लाक बेल्ट ग्रेडिङका कार्यक्रमहरु हुने छ भने १७ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पाँच देशका २०० भन्दा बढी खेलाडीहरुले भाग लिने बताईएको छ ।

जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघका प्रशिक्षक रमेश अधिकारीको संचालन तथा धादिङ शाखाका अध्यक्ष राजन लामाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा जापानका हान्सी अकियो ताका हासी, गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठ, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिपक खतिवडा, जिल्ला खेलकुद विकास समति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, जापानका हिसान कोजी र अक्यिो, बेलायतका सिवाजावा रोबेट जेन्सडेभिज, श्रीलंकाका समनया जयाजिवाको विशेष आतिथ्यता रहेको थियो ।