श्रीलंकामा आज नेपालले पाकिस्तान सँग खेल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, असार २९, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहिबारबाट श्रीलंकामा सुरुभए सँगै नेपालले आज (शुक्रबार) कोलम्बो क्रिकेट क्लबको मैदानमा पाकिस्तान ए सँग खेल्दैछ ।

इमर्जिङ टिम्स एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी मोहमद ह्यारिस, अर्सद इक्वाल, कामरान गुलाम र मोहमद वासिम सम्मिलित पाकिस्तानविरुद्ध नेपालले आज जितको लक्ष्य सहित मैदानमा उत्रन लागेको हो ।

इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको ‘ए’सँग खेल्दै छ । एसिया कपमा आठ देश सहभागी छन् । नेपाल मात्र सिंगो राष्ट्रिय टोली पठाएको राष्ट्र हो । यसबाहेक अन्य सहभागीले ‘ए’ टोली पठाएका छन् । युएई र ओमानले युवा खेलाडीलाई अवसर दिन आफ्नो ‘ए’ टोली नै पठाएका छन् । नेपालले आसन्न एसिया कपको तयारीलाई मध्यनजर राखी सिनियर खेलाडीलाई प्रतिस्पर्धा गराउन लागेको हो । दुई महिनापछि श्रीलंकामै एसिया कप हुँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिएको छ । आरिफ शेखले पारिवारिक कारण नाम फिर्ता लिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न जाने तयारीमा छन् । सिनियर पाँच खेलाडी टोलीमा नरहँदा पवन सर्राफ, सन्दीप जोरा र देव खनाल, श्याम ढकाल र सूर्य तामाङजस्ता युवा खेलाडीले मौका पाउनेछन् ।