कांग्रेस धादिङ भित्र समन्वय प्रमुख बनाउन यी दुईको चर्चा

Avatar photo
नारायण सिलवाल
जेष्ठ १८, २०७९

धादिङ । धादिङका स्थानीय तह कार्यपालिकाको निर्वाचन धमाधम सम्पन्न हुँदैछन् । कार्यपालिका सदस्यहरुको निर्वाचन लग्गतै जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ । निर्वाचन तयारीका लागि जिल्ला समन्वय अधिकारीले पालिका प्रमुख तथा उप प्रमुखहरुलाई जेष्ठ १९ गते ३ बजेलाई बैठक समेत राखिसकेका छन् ।

माओवादी केन्द्रले गठबन्धनको जिल्ला कार्यदलले स्थानीय तहको चुनाव अगाडी नै जिल्ला समन्वय प्रमुख माओवादीले पाउने भनेर सहमति भैसकेको जनाउँदै समन्वय प्रमुखमा ग.गाजमुनाका नवराज अधिकारीलाई अगाडी सारेको छ भने कांग्रेसले गठबन्धन दल बीच भएको सहमति माओवादीले नै तोडि सकेकोले समन्वय प्रमुख कांग्रेसले नछाड्ने बताउँदै आएको छ ।

माओवादीले गठबन्धनको सहमति विरुद्ध ज्वालामुखी प्रमुखमा, नेत्रावती प्रमुखमा, गंगाजमुना उप प्रमुखमा उम्मेदवारी दिएको कांग्रेसले बताउँदै आएको छ सहमति कार्यान्वयनका लागि हामीले पटक-पटक भन्यौं तर माओवादीले मानेन अहिले आएर सहमतिको कुरा माओवादीले गर्न सुहाउँदैन अब नयाँ ढंगले छलफल हुन्छ समन्वय प्रमुख कांग्रेसले छाड्दैन, कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बताउँदै आएका छन् ।

कांग्रेसले समन्वयमा कस्लाई ल्याउने भनेर टुङ्ग्याई नसकेको भएपनि दुई जना पात्रहरु मध्य १ लाई बनाउने भन्ने निष्कर्षमा कांग्रेस पुगेको स्रोतको दावी छ । गजुरी गाउँपालिका ४ मा ८८० मत ल्याई वडा अध्यक्षमा विजयी बनेका सुरेन्द्र प्रजा र नीलकण्ठ १२ मा वडा सदस्यमा विजयी बनेका राम प्रसाद रिजाल मध्य एकलाई समन्वय प्रमुख बनाउने कांग्रेसको तयारी छ । गजुरी ४ को वडा अध्यक्षमा प्रजाले अत्याधिक मतान्तरले विजयी भएका थिए । उनले ८८० मत ल्याउँदा उनको प्रतिद्वन्दीहरु एमालेका जलक बहादुर तामाङले १०३ मत, एकीकृत समाजवादीका हर्क वहादुर प्रजाले १६ र माओवादी केन्द्रका विर बहादुर तामाङले १३ मत मात्रै ल्याएका थिए ।

दुई नगरपालिका र ११ वटा गाउँपालिका समेत गरी १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि कसैको पनि स्पष्ट बहुमत पुग्ने देखिदैँन । धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने एससंग १ जना प्रमुख र ३ जना उप्रमुख छन । त्यसै गरी एमाले संग २ जना प्रमुख छन् । जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु-याउदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन । समन्वय समिति बनाउनका लागि नेपाली काँग्रेसले कुनै एक दल वा अन्य तीन दल मिल्दा बहुमत पुग्छ ।

दुई नगरपालिका र एघार गाउँपालिका रहेको धादिङ जिल्लाको जिल्लासभामा नगरपालिका प्रमुख र उपप्रमुख तथा सबै गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २६ जना रहन्छन् । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, दलित र अल्पसंख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ ।

समन्वय प्रमुखले पाउने तलबसुविधा समेत अधिकांश प्रदेशहरूले मेयर वा गाउँपालिका अध्यक्षभन्दा धेरै तोकेका छन् । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई वर्षअघि प्रदेश राजपत्रमा प्रकाशित गरेको सेवासुविधा अनुसार जिल्ला समन्वय समिति संयोजकले अतिथि सत्कार खर्चसहित मासिक ४४,००० रुपैयाँ पाउँछन् । त्यस बाहेक उनीहरूले बैठक भत्ता, भ्रमण भत्ता र मासिक १५० लिटर इन्धन सुविधा पाउने व्यवस्था छ । तलब सुविधा स्थानीय तहका प्रमुखको भन्दा राम्रो भए पनि पदको भूमिकाका कारण यसमा जनप्रतिनिधिको आकर्षण रहेको छ । जिल्ला समन्वय समितिलाई संघीय र प्रदेश सांसद्हरूमार्फत आउने स्थानीय पूर्वाधार विकास परियोजना शीर्षकको बजेटका लागि योजना सिफारिस र कार्यान्वयनको अनुगमन गर्ने भूमिका पनि दिइएको छ ।