धनबहादुर गुरुङ । म्याग्दी,
मेरो घर दर्वाङ ३ दुखुवेसी म्याग्दी हो । सन् २०१३ मा कतार गएको थिएँ । २५ महिना बसेर फर्किएको । सन् २००८ मा १८ वर्षको हुँदा दुवई पनि गएको थिएँ । तीन वर्ष काम गरेर फर्किएँ । अर्काको देशमा वातावरणपनि फरक र काम गर्न कठिन हुँदो रहेछ । तर पनि के गर्ने वाध्यताले काम गर्नै पर्ने । म पनि सायद त्यति छिटै फर्किने थिइन होला । तर घरमा आमा बिरामी भएको खबर पुगेपछि छुट्टि मिलाएर आएको थिएँ ।
घर आएपछि आमालाई उपचारका लागि पोखरा लगेँ । पोखारामा झण्डै दुई महिना अस्पतालमा बसाई भयो । तर आमा बचाउन सकिएन । आमा बितेपछि विदेश जान मन लागेन । विदेशमा मासिक ११ सय रियाल थियो । गर्मिले ओभर टाइम गर्न सकिएन । विदेशबाट ल्याएको पैसा आमाको उपचारमा सकियो । पहिला नेपालमै केहि गर्छु भन्दा ऋण पाइन । विदेश जाने भनेपछि डेढलाख रुपैयाँ सहजै पाएको थिएँ । सय कडा दुईको ब्याजले ।
तर अहिले भने ट्याक्सी किनेर चलाउँछु भन्दा पनि ऋण पाएँ । अनि चार महिना देखि म्याग्दीमा ट्याक्सी चलाउन थालेको छु । दैनिक १५ सय जति कमाई हुन्छ । कहिलेकाहिँ बाहिरको टिप पाउँदा त तीन हजार पनि कमाइन्छ । विदेशमा जास्तो काममा पेलान पनि छैन । आफ्नै ट्याक्सी हो, सके गर्ने, नसके बाल छैन ।कसैले गाली गर्दैनन् ।
घरपरिवारसँग बसेर आफ्नो ठाउँमा खुल्ला छाती बनाएर हिँढ्न पाइएको छ । विदेशमा हुँदा ज्वारो आउँदा पनि मरिन्छ जस्तो लाग्ने । आफन्त कोहि नहुने । फेरी आमा बाँचुन्जेल घरमा राम्रो भरथेग थियो । भाइ बहिनी सानै छन् । म बसेपछि उनीहरु पनि खुसी भए । छोरी र श्रीमतीलाई पनि ढुक्क छ । साभार उज्यालो अनलाईनबाट