भुपू कमरेड बाबुराम भट्टराई
नमस्कार, लाल सलाम, जय नेपाल
खै के भनेर सम्बोधन गर्ने । माफ गर्नुहोला । तपाईको एउटा कार्यकर्ता अलमलमा प¥यो आज । तपाईलाई भन्नुपर्ने धेरै कुराहरु थिए । ती कुराहरु तपाई समक्ष राख्न नपाउँदै तपाई टाढा जानु भयो । टाढा यस अर्थ की अब असम्भव छ तपाईलाई भेट्न हामी जस्ता कार्यकर्ताले ।
आजपनि म सम्झिन्छु ती दिनहरु । जुनदिन मेरो किसान बुवाले कतैबाट भेटेर ल्याउनु भएछ तपाईको श्यामस्वेत फोटो । उहाँले जतन गरी राख्नु भयो आफ्नो सिरानीमा । दिनभरी हलो जोतेर बेलुकी घर आउँनुहुन्थ्यो । तपाईको फोटो हुर्नु हुन्थ्यो एक पटक । अनि लामो सास फेर्नु हुन्थ्यो ।
एक दिन मैले ‘को मान्छेको फोटो हो बा’ भनेर सोधें । उहाँले हामी जस्तै गरीव मान्छेको लागि जीवन मरणको बाटोमा हिडेको एक जना नेताको फोटो हो भन्नु भयो ।
एकदिन म पढ्ने स्कुलको भित्तामा ‘माओवादी जिन्दावाद’ भन्ने नारा लेखिएको देखेँ । बेलुकी घरमा आएर बुवालाई सोधें । त्यो नारा यही फोटोको मान्छेहरुले लेखेको हो भन्नु भयो । अर्को दिन राती घरको पिँडीमा केही मान्छेहरु गुनगुन कुरा गरेको सुनें । नियालेर हेरेँ । झोला बोकेका केही मान्छेहरु बुवासँग कुरा गर्दै रहेछन् । विस्तारै नजिकै गएर कुरा सुने । एक जनाले बुवालाई भनेको शव्द आजपनि मेरो कानमा गुन्जिन्छ । त्यो झोला बोकेको मान्छेले भनेका थिए । “काका, यो देशमा ९५ प्रतिशत गरीवहरु छन् । ५ प्रतिशत धनी सामन्तहरु छन् । त्यो ५ प्रतिशतले ९५ प्रतिशत गरीवहरुमाथि शासन गरीरहेका छन् । हामी त्यही ९५ प्रतिशत गरीवका लागि राज्य सत्ता ल्याउन बन्दुक बोकेर हिडेका हौं ।”
मसाल जुलुसमा हिड्न मन लाग्यो । राती राती सामन्तको घरको भित्तामा नारा लेख्दै हिड्न लाग्यो । र गरियो त्यस्तै त्यस्तै।
बस् मैले यति बुँझे तपाईले सुरुगरेको जनयुद्धको बारेमा । त्यसपछि पढ्न मन लागेन । मसाल जुलुसमा हिड्न मन लाग्यो । राती राती सामन्तको घरको भित्तामा नारा लेख्दै हिड्न लाग्यो । र गरियो त्यस्तै त्यस्तै।
अन्ततः सात कक्षाको अर्ध वार्षिक परीक्षा दिएर १४ वर्षको उमेरमा तपाईले सुरु गरेको जनयुद्धमा होमिएँ ।
प्रिय बाबुराम भट्टराई
यो वास्तविकता मैले रहरले तपाईलाई सुनाएको होइन । म जस्तै हजारौं लाखौं मान्छेहरु यस्तै यस्तै अवस्थाबाट युद्धमा होमिएका हुन् । आधाउधी सात कक्षा पढेको मैले तपाईका प्रायः कितावहरु जानी नजानी पढेँ । जति बुझेँ त्यसैको आधारमा लडाई लडेँ ।
यस्तो लाग्यो कहिले काँही, तपाईं र प्रचण्डलाई भेटेर एक पटक मर्न पाए हुन्थ्यो ।
यस्तो लाग्यो कहिले काँही, तपाईं र प्रचण्डलाई भेटेर एक पटक मर्न पाए हुन्थ्यो । लडाईंमा जाँदै गर्दा हामी कुरा गथ्र्याैं । हामी मध्ये कोही न कोही त पक्कै शहीद हुन्छौं । जो बाँच्छ उसले पछि प्रचण्ड बाबुरामलाई भेटेर हाम्रो नामसम्म सुनाईदिनु है । ती साथीहरु कयौं उतै युद्धभूमिमै छाडिए । बाँचेकाहरु पनि प्राय आज खाडीमा छन् ।
त्यसबेला हामी तपाईका कितावहरु झोला भरी भरी बोकेर हिड्थ्यौं । नौलो विहानी, जनादेश, जस्ता पत्रिकाहरुमा छापिएको तपाईको लेख हामी आफ्नो बच्चालाई भन्दा धेरै माया गरेर बोक्थ्यौं । कयौं बस्तिहरु त्यस्तापछि छन् अझै, तपाईको लेख भएको पत्रिका भेटिएकै कारण जेल बसे । कति त मारिए पनि ।
जब तपाई र प्रचण्डबीच भएको तितो बहस हामीसम्म आइपुग्यो । हामी गम्भिर भयौं तर विचलित भएनौं । किनकी हामी तपाईका विचारहरु बढेर अन्तरसंघर्ष र वर्गसंघर्षको सामान्य नियम बुझ्ने भइसकेका थियौं ।
शान्तिप्रकृयाको यात्रापछि तपाई अर्थ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बन्नु भयो । तपाई प्रधानमन्त्री भएको बेला एक पटक बालुवाटार पुगेको थिएँ । चार पाँच जनाले तपाई समक्ष कुरा राखे । जस मध्ये एक जना मपनि थिएँ । तपाईको ४५ मिनेटको भाषणमा मेरो कुरा सुनुवाइ नै भएन । मैले जनकलाकार प्रतिष्ठान बनाउने कुरा गरेको थिएँ । पछि मैले कुरा बुँझेँ । मैले त टाई र सुट लगाएको रहेनछु । अरुसबै जना टाइसुटमा थिए । तपाई कहाँ भेट्न आउँदा सुट सिलाउने पैसा थिएन मसँग ।
प्रिय बाबुराम भट्टराई
अन्ततः तपाई हामीलाई मर्न र मार्न सिकाउने मान्छे आफै पो पार्टी छाडेर निस्कनु भयो । तपाईले सिकाउनु भएको दर्शन हाम्रो सानो दिमागले अझै भूलेको छैन । तपाई भन्नु हुन्थ्यो, दुनियाँमा दुई थरी दर्शन हुन्छ । भौतिकवाद र अध्यात्मवाद । आज तपाई कुन वादको पछि लाग्नु भएको हो हामी अचम्मितमा परेका छौं र विस्तारै तपाईप्रतिको भ्रम मेट्दैछौं ।
तपाईलाई बाबुराम भट्टराई बनाउन १५ हजार म जस्तै अनपढ मान्छेहरुको रगत बगेको छ । म जस्तै आधा पढेका लाखौं मान्छेहरुको सपनाको एक एक अंश तपाईको व्यक्तित्वमा परेको छ ।
तपाईले छिट्टै भुल्नु भएछ । तपाईलाई बाबुराम भट्टराई बनाउन १५ हजार म जस्तै अनपढ मान्छेहरुको रगत बगेको छ । म जस्तै आधा पढेका लाखौं मान्छेहरुको सपनाको एक एक अंश तपाईको व्यक्तित्वमा परेको छ । बस्तु विकास र बिनासको द्वन्द्ववादी नियम तपाईले नै सिकाउनु भएको हो । आन्तरिक तत्व तपाईमा थियो भने, वाह्य तत्व हामी विना तपाई पटक्कै आजको बाबुराम भट्टराई बन्न सक्नु हुन्थेन । तपाईलाई प्रधानमन्त्रीको कुर्चिमा चढाएको सहरका सौखिम मान्छेहरुले होइन । म जस्तै अनपढहरुले हो ।
तपाईलाई हेक्का हुनुपर्छ । जब तपाई प्यारी छोरी र श्रीमती च्यापेर इन्डियन रेलमा सफर गर्दै हुनुहुन्थ्यो त्यसबेला हामी मृत्युसँग लुकामारी खेल्दै थियौं । हजारौं आमाहरु रुवाएर छोराछोरीलाई जनसेनामा भर्ति गर्दै थियौं । तपाईको प्रिय छोरी मानुसी स्कुल ब्याग बोकेर इन्डियन स्कुलमा छुनुमुनु गर्दै जानेबेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दै थियौं ।
प्रिय बाबुराम भट्टराई
छाडिदिउँ यी भावनात्मक कुराहरु । आज सुन्छु तपाई सहरका वुद्धिजीवीहरु भेला पारेर नयाँ शक्ति नामको खिचडी बनाउँदै हुनुहुन्छ रे । नयाँ कामको सुभारम्भका लागि तपाईलाई शुभकामना दिन बाहेक अरु के नै दिन सक्छु र म । सुन्दैछु, तपाईकी छोरी मानुसी पीएचडी गर्न भारत गएकी छिन् रे। उनलाई पनि शुभकामना । खाँचो छ यो देशमा अझै धेरै तपाईँजस्तै डाक्टरहरुको । हामी अनपढ नै सही । हामी पनि पीएचडी गरौंला जीवनशास्त्रको ।
तपाईको प्रिय छोरी मानुसी स्कुल ब्याग बोकेर इन्डियन स्कुलमा छुनुमुनु गर्दै जानेबेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दै थियौं ।
अब तपाईको घरमा बनाउन लगाउँनुस् कीर्तिपुरका नेवारहरुलाई ठूलो कम्पाउण्ड । सैन्य दलबल राख्नुस् वरीपरी । किनकी सडक खन्दै आइपुगेका धादिङका तामाङहरुको पसिनाको नमिठो गन्ध तपाईको महलसम्म आइपुग्न सक्छ । कोठाबाट निकाल्नुस् माक्र्सको फोटो र टाँस्नुस् रामदेवको फोटो । अनि गेटमा लेखिएको नारा मेटेर लेख्नुहोस् ‘संसारका पुँजीपतिहरु एक होऔं’ ।
उही तपाईको कुनै बेलाको कार्यकर्ता साभारः खबरडवली