
काठमाडौं असार १५ । सम्बन्धित विज्ञले सलह नेपाल नआउने बताएको केही दिनमै सलह मुलुकभित्र छिरेको छ । बारा, पर्सा र सर्लाहीमा देखिएको भनिएको सलह एकै दिनमा मकवानपुर र चितवन हुँदै पहाड चढ्न थालेको छ । फेब्रुअरी २०१९ मा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सलहबाट हुन सक्ने क्षतिको पूर्वानुमानसहित सतर्क रहन सुझाएको थियो । मुलुकभित्र छिरेको सलहको झुण्ड कत्रो हो भन्ने यकिन नभएको अवस्थामा यसले पुर्याउने क्षतिको चर्चा गर्नु हतार हुन्छ ।
सलहको प्रकोप प्राचीन समयदेखि नै हुनुपर्छ । महाभारतलगायत ग्रन्थमा यसको उल्लेख पाइन्छ । योगविज्ञानमा त सलहको आनीबानीसँग सम्बन्धित सल्भासन, विपरीत सल्भासन आसनको अभ्यास नै गरिन्छ । सन् १९३१ र १९३२ मा सलहकै कारण भोकमरीमा परेर एक लाख मानिसको मृत्यु भएको ठम्याउँदै नियन्त्रण गर्न सन् १९३१–१९३८ मा विभिन्न देशमा गरी पाँचवटा सलह सम्मेलन गरिएको थियो । फट्यांग्रो जस्तो देखिने सलहले व्यवहार, रंग तथा क्षमतामा असाधारण परिवर्तन गर्नुका साथै लामो दूरी उड्न सक्छ ।
मरुभूमिमा पाइने सलहको एकल वयस्क पोथीले एकपल्टमा ९५ देखि १५८ को संख्यामा अन्डा पार्छ । झुण्डमा हिँड्ने प्रकृतिको पोथीले भने एकपल्टमा करिब ८० वटा अन्डा पार्छ भने एउटा जीवनचक्रमा ६ देखि ११ दिनको अन्तरालमा कम्तीमा तीनपटकसम्म फुल पार्न सक्छ । यसको जीवनचक्र सामान्यतया तीनदेखि पाँच महिनाको हुन्छ । फुलबाट करिब दुई हप्तामा बच्चा निस्कन्छ । बच्चालाई होप्पर (पखेटा नभएको अवस्था) बन्न करिब ३० देखि ४० दिन लाग्छ । यतिवेला एक्लै हिँड्न मन पराउँछ र कम क्षति गर्छ । जब झुण्डमा मिसिन थाल्छ, तब शरीरको रंग परिवर्तन भई खैरो वा पहेंलो बन्छ र उड्ने क्षमता विकसित गर्छ । सलहले ठूलो क्षति गर्ने यही अवस्थामा हो ।
मरुभूमिमा पाइने सलहको प्रजाति ‘डेजर्ट लोकस्ट’ नै हाल पाकिस्तान र भारतमा विध्वंस मच्चाएर नेपाल आएको हो । हाल विश्वका ९० देशका करिब चार करोड ५० लाख वर्गकिलोमिटर क्षेत्र यसको जोखिममा छ । विश्वको २० प्रतिशत भूभाग र एक दशांश जनसंख्यालाई यसले चुनौती दिन सक्ने आकलन छ ।
४० देखि ४२ डिग्री तापक्रम यसको प्रजनन सुहाउ“दो मानिन्छ । कम तापक्रममा यो वयस्क हुन धेरै समय लाग्छ । सलह प्रतिघन्टा १६ देखि १९ किलोमिटरको गतिले उड्ने गर्छ । मरुभूमिमा पाइने सलहका प्रजाति ‘डेजर्ट लोकस्ट’ नै हाल पाकिस्तान र भारतमा विध्वंस मच्चाएर नेपाल आएको हो । हाल विश्वका ९० देशका करिब चार करोड ५० लाख वर्गकिलोमिटर क्षेत्र यसको जोखिममा छ । अफ्रिकाको इथियोपिया, केन्या तथा सोमालिया यसको मुख्य चपेटामा पर्ने गर्छन् । यस्तै विश्वको २० प्रतिशत भू–भाग र एक दशांश जनसंख्यालाई यसले चुनौती दिन सक्ने आकलन छ । सलहको प्रकोप कुनै निश्चित अन्तरालमा भन्दा पनि वातावरणीय अनुकूलतासँगै बढ्ने देखिन्छ ।
यस शताब्दीमा सन् १९२६-१९३४, १९४०-१९४८, १९४९-१९६३, १९६७-१९६९, १९८६-१९८९ मा यसको प्रकोप देखिएको थियो । २०१८ को मे र अक्टुबरमा दुई ठूला चक्रवातपछिको भारी वर्षा र बढ्दो तापक्रमले साउदी अरबनजिकैको दक्षिणी अरेबियन क्षेत्रमा सलहको प्रजनन क्षमतामा असाधारण परिवर्तन भयो । करिब नौ महिनामै तीन पुस्ताको जीवनचक्र पूरा गरी आफ्नो संख्या असाधारण रूपमा बढाएको थियो ।
२०१९ को जनवरीमा यही झुण्ड यमन र साउदी अरेबिया हुँदै इरान पुग्यो, त्यसपछि पाकिस्तान । भारत–पाकिस्तान सीमामा मनसुन तथा चक्रवातका कारण उत्पन्न वातावरणमा यो थप सक्रिय भयो । पाकिस्तानको बलुचिस्तान र सिन्ध प्रान्तको ५० लाख हेक्टर खेती नाश पार्यो । त्यहाँ करिब आठ खर्ब रुपैयाँको बाली नष्ट गरेको अनुमान छ । भारतको राजस्थान, मध्यप्रदेश, उत्तरप्रदेश हुँदै अहिले नेपालको मध्यतराईबाट प्रवेश गरेको छ ।
बहुभक्षी सलहले मानवलाई आक्रमण गर्दैन, तर हरिया बोटबिरुवा, फूल, फल, अन्न जे भेटे पनि खाइदिन्छ– एकदिनमा आफ्नै तौल (दुई ग्राम) बराबर । सलहको एउटा झुण्ड काठमाडौं जिल्ला (करिब ४५० वर्गकिलोमिटर) भन्दा पनि ठूलो हुन सक्छ । एकै झुण्डमा करोड मात्र होइन, अर्बौंका संख्यामा सलह हुन सक्छन् । विगतभन्दा यसपटकको सलह अधिक विनाशकारी देखिन्छ ।
पाकिस्तानले सलहको प्रभावलाई दशककै सबैभन्दा भयानक भन्दै राष्ट्रिय आपत्कालीन अवस्थाको घोषणा गर्यो । भारतमा १९९७ मा पनि सलहले सताएको थियो । तर, यसपटकको आक्रमणलाई २६ वर्षकै सबैभन्दा विध्वंसकारी भनिएको छ । कम्तीमा १० किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ रहेको यो झुण्डले राजस्थानको ३३ जिल्लामा विध्वंस मच्चाएको थियो । नेपालमा पनि १९६२ सालमा सलहले काठमाडौं, नुवाकोट तथा धादिङ जिल्लामा क्षति पुर्याएको थियो । गत साल इटहरीमा देखिएको तर त्यसले कुनै क्षति नगरेको कृषिविज्ञहरूले बताएका छन्।
व्यवस्थापनका उपाय र सजगता : एकैदिनमा दुई सय किलोमिटरभन्दा धेरै दूरी तय गर्ने सलह उत्तर प्रदेशको झाँसी आइपुग्दा नेपालमा चर्चा भएको थियो । हाल सलह प्रवेश गरेको रुपन्देहीको सीमावर्ती सुनौलीबाट झाँसी करिब ५५० किलोमिटरको हवाई दूरीमा छ । तापक्रम अनुकूल भएकाले सलह नेपाल प्रवेश गर्ने सम्भावना थियो, तर नेपाल नआउने भन्दै ढुक्क पार्ने काम भयो । नियन्त्रण र क्षति न्यूनीकरणको काम गरिएन । हामीसँग विपत् जोखिम आकलनको अभाव देखियो । अब तत्काल गर्नुपर्ने क्षति न्यूनीकरणको द्रुत प्रतिकार्य नै हो ।
सलहको तत्कालीन प्रभाव प्रभावित क्षेत्रको विशेषता, प्रकोपको समय र प्रकोप प्रतिकारको क्षमतासँग सम्बन्धित छ । सलह हावाको चाप र आहारको आधारमा दिशा लिने हुँदा वैज्ञानिक विधिबाट विश्लेषण गरी निष्कर्ष निकाल्नुपर्ने हुन्छ । पहाड डाँडाकाँडा अनि उत्तरतर्फ कम तापक्रमले सलहको क्षति तराई र तल्लो पहाडी क्षेत्रमा अधिक हुन सक्छ । सलह प्रवेश गरेको क्षेत्र अन्न भण्डार मात्र नभई ठूला सहरमा तरकारीको आपूर्ति गर्ने पाकेट क्षेत्र पनि हो । हाल आक्रमण भएको क्षेत्रमा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज पनि छन् । सलहले यो क्षेत्रमा क्षति गर्दा वन्यजन्तु पनि प्रभावित हुन सक्छन् । आनीबानी हेर्दा मानव बस्ती तथा खेतीपातीतिर बढी आकर्षित भएको सन्दर्भमा प्रदेश ५ सरकारको किरा किन्ने नीति प्रभावकारी हुन सक्छ । तथापि वन्यजन्तु संरक्षण तथा वनसम्बन्धी निकायले प्रभाव अध्ययन र क्षति न्यूनीकरणमा तत्काल काम थाल्नुपर्छ ।
अहिले नेपालमा मनसुनसँगै गर्मी हुने समय हो । प्रशस्त हरियाली र तापक्रम सलहअनुकूल छ । तराईमा मकै भित्र्याएर धान रोपाइँ गर्ने समय छ । आँप र लिची पाकेको छ । धानको ब्याड वा अन्य बालीको बेर्ना सखाप पारे खाद्यसंकट हुन सक्छ । पशु चौपायाको आहार पनि अभाव हुने देखिन्छ । मुलुकमा प्रवेश गर्ने अनुमानसम्म गर्न नसक्नु हाम्रो प्रतिकार क्षमता कमजोर भएको सूचक हो । फेरि तराईका जिल्लामा कोरोनाको प्रभाव र जनघनत्वको चापले यसको न्यूनीकरण जनस्वास्थ्यका हिसाबले समेत संवेदनशील छ । कोरोना नियन्त्रणले हाम्रो संस्थागत क्षमता र स्थानीय तहलाई चाप परेको वेला सलहको प्रवेशले थप चुनौती दिनेछ ।
तापक्रम अनुकूल भएकाले सलह नेपाल प्रवेश गर्ने सम्भावना थियो, तर नेपाल नआउने भन्दै ढुक्क पार्ने काम भयो र नियन्त्रण तथा क्षति न्यूनीकरणको काम गरिएन । हामीसँग विपत् जोखिम आकलनको अभाव देखियो । अब तत्काल गर्नुपर्ने क्षति न्यूनीकरणको द्रुत प्रतिकार्य नै हो।
तथापि सबै लागे प्रकोप नियन्त्रण गर्न नसकिने होइन । क्षतिको न्यूनीकरणका लागि पहिलो त यसको बसाइ छोटो बनाउने नै हो । खाँदै उड्दै गर्ने यसले अनुकूल वातावरण पाए देशभरि चहार्न धेरैदिन लाग्दैन । यसको प्रभाव एक पुस्तामा सीमित गर्न सक्नुपर्छ, एक पुस्ताले आएर सखाप पार्नेतर्फ भन्दा पनि त्यसको अण्डाबाट अरु पुस्ता स्थानीयकरण भए क्षति लामो रहन्छ । हुन त यो सलहका लागि उपयुक्त वातावरण नेपालमा नरहेको भनिएको छ । तैपनि वैज्ञानिक अध्ययन र विश्लेषण पुगेको छैन । नेपालका कुन–कुन स्थान सलह प्रजननको सम्भावित क्षेत्र हुन् भनेर सामान्य मोडलिङ गरेर हेर्ने र त्यस स्थानमा न्यूनीकरणको उपाय अपनाउने हो ।
सलहको प्रभावबाट बच्न केही काम तत्कालै थाल्नुपर्छ । ब्याड झुलले छोप्नुपर्छ भन्ने सन्देश वा कागजी निर्देशनले मात्र पुग्दैन । ‘केले छोप्ने ?, कस्तो विषादी छर्किने ? विषादी कहाँ पाइन्छ ?’ बताइदिनुपर्छ । आवागमन अवरुद्ध भएका वेला बजारमा आपूर्ति कसरी होला ? साना किसानसँग पैसा नभए कसरी किन्ने ? यावत् विषयमा तयारी हुनुपर्छ । नेताभन्दा कृषि वैज्ञानिकलाई अगाडि लगाई सलहको क्षति तथा बसाइ घटाउनेतर्फको तयारी गर्नुपर्छ । सलहको दिशा हावाको चाप र आहारको आधारमा निर्धारण हुन्छ । मेरो वा तेरो कार्यक्षेत्रभन्दा माथि उठेर विज्ञान र वन वातावरण विज्ञ सम्मिलित कार्यदल र तथ्यमा आधारित पारदर्शी कार्य सञ्चालन प्रभावकारी हुन्छ । सलह नियन्त्रणमा प्रयोग हुँदै आएको ‘अर्गानोफोसफेट’ समूहको विषादी र त्यसलाई प्रयोग गर्ने हवाई वा स्थलगत सवारी साधनमा जडित स्प्रेयरको तयार गर्न र सम्बन्धित स्थानमा पुर्याउन विलम्ब गर्नुहुन्न ।
क्षति कम गर्न पाकेको वा टिप्न मिल्ने बालीनाली घर भित्र्याइहाल्ने हो । तत्काल बजार लानुपर्ने उत्पादनलाई प्राथमिकता दिई बजारको प्रबन्ध गर्नुपर्छ । रोपिनसकेको तर ब्याडमा रहेको भए केही समय रोपाइँ नगरी ब्याडमै संरक्षण गर्नुपर्छ । तर, यसका लागि सलहको सम्भावित आगमन र प्रभावित हुने क्षेत्रको वैज्ञानिक विश्लेषण आवश्यक पर्छ । कृषि उत्पादनको आधारमा प्राथमिकीकरण गरी संरक्षण रणनीति बनाउनुपर्ने हुन्छ । जस्तै– सबै बालीको संरक्षण गर्न सकिने हो कि उच्च मूल्यको बालीलाई प्राथमिकता दिने हो, त्यसको निक्र्योल गर्नुपर्छ । कति बाली त सलहले एकखेप खाएर हानि नपुग्ने पनि हुन्छन् वा कतिपय बिरुवा सलहले नखान पनि सक्छन् ।
सुक्खा तौलको करिब ६२ प्रतिशत प्रोटिनले भरिपूर्ण सलह कुखुरा तथा चराचुरुंगीको आहार हो । चीनले सन् २००० मा सात लाख हाँस छाडेर नियन्त्रणको प्रयास गरेको थियो । यस्तै पाकिस्तानमा ‘सलह समातौँ, पैसा कमाऔँ र बाली बचाऔँ’ कार्यक्रममार्फत सलह संकलन गर्ने र सरकारले किनेर कुखुरालाई चारोको रूपमा प्रयोग गरी रोजगारीसमेत सिर्जना गरियो । परम्परागत रूपमा बाली संरक्षणमा प्रयोग गरिँदै आएका विधि पनि अपनाउन सकिन्छ । जस्तै– तितेपाती वा निमको झोलको प्रयोग, धुवाँ लगाउने, भाँडाकुँडा ठटाउने ।
सलह आधुनिकताको एउटा विकार पनि हो । व्यावसायिक र आधुनिक खेती भन्दै एकै स्थानमा खुल्ला क्षेत्र बनाई हजारौँ बिघा खेती गर्ने परिपाटीले किराका लागि अनुकूल वातावरण सिर्जना गर्छ । साथै, स्थानीय जातका बालीनालीको सट्टा आयातीत हाइब्रिड बिउबिजनको प्रयोग, रासायनिक मल तथा विषादीको प्रयोगले सलहलगायत किराको प्रकोप पहिलेभन्दा भयावह बन्दै छ । प्रांगारिक तवरबाट गरिएको खेतीमा किराको आक्रमण कम हुन्छ । कृषि वन खेती प्रणालीले बहुभक्षी किराका प्राकृतिक शत्रुलाई वासस्थान मात्र दिँदैन, यो पद्धतिले किरालाई नांगो खेतमा झैँ सजिलै आक्रमण गर्नबाट वञ्चित गर्न सक्छ । यस्ता विकल्पले खर्च तथा विषादीको प्रयोगमा न्यूनता त आउँछ नै, यसले सलह व्यवस्थापन सहज गराउँछ ।
यस्तै, एकीकृत शत्रुजीव व्यवस्थापन पनि प्रभावकारी उपाय हुन सक्छ । अफ्रिकामा गरिएको ‘ग्रिन मसल’ नामक जैविक विषादीको नतिजा राम्रो भएको थियो । यस विषादीमा ढुसीका जीवाणु हुन्छन्, जसको आक्रमणले मौसमको प्रभावअनुसार ६ देखि १० दिनमा सलह रोगाएर मर्छ । त्यस्तै सिकारी बारुलोको एक प्रजातिले प्राकृतिक शत्रुको काम गर्ने देखिएकाले यसको संरक्षण वा ठूलो संख्यामा उत्पादन गरेर सलहको प्रजनन क्षेत्रमा छोड्न सकिन्छ । तर, कुनै पनि विकल्पको प्रयोगपूर्व प्रभाव अध्ययन गरिनुपर्छ । अर्को भनेको कृषकलाई बाली संरक्षणमा लाग्दा अरू रोजगारीको अवसर गुम्न गई जीवनयापनमा समस्या हुन सक्छ । यसका लागि उनीहरूले प्रतिकारमा लगाएको समयको निश्चित अंशबराबरको ज्याला दिएमा जीवनयापन र सलह नियन्त्रणमा प्रभावकारिता आउन सक्छ ।
जलवायु परिवर्तनसँगै सलहको प्रकोप र क्षति बढ्ने निश्चित छ, यो समस्याको दीर्घकालीन समाधान भनेको वातावरको संरक्षण गरी जलवायु परिवर्तन न्यूनीकरण गर्नु नै हो । यसका लागि वातावरणमैत्री उपभोग र कार्बन उत्सर्जनमा कमी ल्याउन प्रयास गर्नुपर्छ । जसरी आधुनिक खेती दिल्लीको वायु प्रदूषणको कारण बन्यो, त्यसरी नै कुनै एक कारणले सलह वा अर्को कारणले अन्य प्रकोप बढ्दै जानेछन् । प्रकृति र मानवबीचमा सुमधुर सम्बन्धको कायम गराउनु नै आगामी पुस्तालाई यस्ता दुःख र प्रकोपबाट जोगाउने लगानी हो । नयाँ पत्रिका दैनिकमा खवर प्रकाशित छ ।

