
काठमाडौ असार १० । काठमाडौं र धादिङको सीमा सिस्नेखोलामा गाडीको जाम छ, मोटरसाइकलमा आएका यात्रु निथु्रक्क भिजेका छन् । गन्तव्य काठमाडौं त नजिक आइपुग्यो, प्रहरीको व्यवहार कस्तो हुने भन्नेमा यात्रुहरूको मनमा आशंका छ ।
विनोद चौहान, शम्भु बैठा पर्साको पोखरियाबाट आएका हुन् । रोकिएको मोटरसाइकलनजिक आएर प्रहरीले सोधे, ‘पास छ ?’ ‘पास छ सर, कोरोना टेस्ट गरेको रिपोर्ट पनि छ,’ विनोदले जवाफ फर्काए ।
पोखरिया नगरपालिकाले जारी गरेको सवारी पास हेरेपछि प्रहरीले तत्कालै आदेश सुनाए, ‘जताबाट आएको हो उतै जानू ।’ अलमल्ल परेका उनीहरूलाई तर्साउँदै प्रहरीले भने, ‘भनेको सुनिएन, जताबाट आएको हो उतै जाने । काठमाडौं जान पाइँदैन ।’
ललितपुरको हात्तीवनमा निर्माण मजदुरको काम गर्ने विनोद र शम्भु घरमा खर्च सकिएपछि रोजगारी जारी राख्न राजधानी आउने प्रयासमा थिए । तर, सार्वजनिक यातायात नचलेकाले उनीहरू छिमेकीको मोटरसाइकल मागेर आउँदै थिए ।
काठमाडौं नाकामा कोरोनाको रिपोर्ट देखाउनुपर्छ भनेर उनीहरूले वीरगन्ज हेल्थ केयर हस्पिटलमा आरडिटी परीक्षण पनि गराए । यसमा १५ सयका दरले पैसा खर्च भयो । रिपोर्ट नेगेटिभ आएकाले काठमाडौं छिर्न पाइन्छ भन्ने उनीहरूको आशा थियो । तर, अस्पतालको स्वास्थ्य रिपोर्ट र नगरपालिकाको पास प्रहरीले तत्कालै खारेज गरिदिए ।
‘जब आरडिटी परीक्षण अर्थहीन छ भने सरकारले त्यस्तो परीक्षण गर्ने अनुमति स्वास्थ्य संस्थालाई किन दिइरहेको छ ? देशको ढुकुटी खरिद गरेर सरकारले आरडिटी किन खरिद गरिरहेको छ ?’ विनोद सोध्ने कोसिस गर्छन्, तर प्रहरीसँग जवाफ छैन, उनको मुखमा आदेश मात्र झुन्डिएको छ, ‘रिपोर्ट त पिसिआर नै चाहिन्छ ।’
विनोद र शम्भु दुवैजनाको खुट्टामा चप्पल मात्र छ । ‘जुत्ता किन्ने पैसाले कोरोना जाँच गराएका,’ शम्भुले भने, ‘घरमा छाक टार्न पनि पैसा छैन । पाँचजनाको परिवार छ । परिवारमा कमाउने म एक्लै हो । काठमाडौंमा काम सुरु भएको खबर पाएकोले आएको हुँ, अरू जान हुने, हामी जान नहुने किन ?’
विनोद र शम्भुजस्तै अरू सर्वसाधारण पनि रोकिएका छन्, उनीहरू सबै अलमल परेर सिस्नेखोलाको छेउमा उभिएका छन् । लगातार परेको पानीले माटो पग्लिएको छ, तर निमुखाको अवस्थाले प्रहरीको मन पग्लिएको छैन ।
पर्साको वीरगन्जबाट आएका हुन् विलाल अन्सारी । मोटरसाइकलमा आएका उनीसँग रेनकोट पनि छैन् । झरीले होइन, उनको मनोबल प्रहरीको आदेशले कमजोर बनाइदिएको छ ।
विलालको यो पहिलो प्रयास होइन । काभ्रेको भकुन्डेबेंसीमा मोटरसाइकल ग्यारेजमा काम गर्ने उनी अघिल्लोपटक बिपी राजमार्गबाट आएका थिए । ‘तर, त्यहाँ (नमोबुद्ध नगरपालिका)को मेयरले कोरोना जाँच गरेको रिपोर्ट नल्याएसम्म बस्न दिन्न भन्नुभयो, त्यसैले फर्किएँ,’ विलालले भने ।
वीरगन्ज गएर उनले पनि १५ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण गराए । परीक्षणको रिपोर्ट र नगरपालिकाले जारी गरेको पास बोकेर आएका थिए । तर, सिस्नेखोलामा उनलाई पनि प्रहरीले रोके ।
आम्दानी शून्य भएपछि परिवार भोकै मर्ने अवस्था आएको सुनाउँछन् विलाल । ‘१८ जनाको परिवार छ । कतारमा भएको दाइलाई कोरोना लागेको छ, कम्पनीले तलब रोकिदिएको छ, अहिले कमाउने म मात्रै हो । मैले पनि कमाइनँ भने परिवार के खान्छ ?’ विलालले प्रहरीलाई प्रश्न गरे ।
‘तिमी भोकको कुरा गर्छौ, यहाँ रोग लागेर अस्पताल जान्छु भनेर आएकालाई त रोकिएको छ, हामीले त माथिको आदेश मान्ने हो, तिमीलाई हाम्रो भनाइ विश्वास लागेन भने माथि कुरा गर,’ प्रहरीले विलाललाई सुझाब दिए । मोटरग्यारेजमा काम गर्ने विलाल बिलखबन्दमा परे, ‘माथि’ कसलाई चिन्ने, कसलाई सोध्ने ?
गोर्खा छेबेटारका प्रकाश वाइबाकी बिरामी आमा ट्याक्सीमा छटपटाइरहेकी छिन् । मुटुरोगी प्रकाशकी आमा सानुमायालाई एम्बुलेन्स, ट्रक र गाडीको चर्को आवाजले झन् गाह्रो बनाएको छ । प्रकाश ट्राफिक प्रहरीसँग बिन्ती गर्दै छन्, ‘खाली साइडबाट त जान दिनुहोस् । आमाको ज्यान जाला भन्ने डर भइसक्यो ।’
बिरामी आमालाई ट्याक्सीमा राखेर प्रकाशले पालो पर्खेका छन् । तर, सडकको एक किनारा खाली भए पनि बिरामी बोकेका सवारीसाधन जान दिइएको छैन ।
पाठेघरको समस्या भएकी महिला बोकेर धादिङको मलेखुबाट आएको एम्बुलेन्स साइरन बजाउँदै अगाडि जान खोज्छ । ट्राफिक प्रहरीले सिटी फुक्दै एम्बुलेन्सलाई सडक किनारमा रोक्छन् र भन्छन्, ‘लाइनमा बस्ने ।’
एम्बुलेन्सभित्र पीडाले छटपटाइरहेकी लक्ष्मी अर्यालका छिमेकी गणेश अर्याल ट्राफिकसँग हात जोडेरै बिन्ती गर्छन् । तर, एम्बुलेन्सलाई पनि लाइनमा क्रमशः जान दिने मुडमा छन् प्रहरी ।
उनी नियम कडा छ भन्ने मुडमा छन्, तर त्यहीवेला फोनमा आएको सन्देशको भरमा उनले केही निजी गाडीलाई भने अगाडि बढ्न दिइरहेका छन् । तर, मोटरसाइकल र कतिपय गाडीलाई भने प्रहरीले त्यहाँ पर्खन पनि नदिई फर्काइरहेको छ । नियमका नाममा भइरहेको यो तमासा हेर्न सर्वसाधारण विवश छन् ।
काठमाडौं प्रवेश गर्न नपाउनेको भिडमा छन् नुवाकोट बट्टारका प्रवेश खनाल र अमिता खनाल । लकडाउनअगाडि नुवाकोट घर गएका उनीहरू घरबेटीले सामान फालिदिने धम्की दिएपछि कोठाको सामान सार्न काठमाडौं जान आएका हुन् ।
‘घरबेटीले सामान नै फाल्दिन्छु भनेपछि आएका हौँ । तर, प्रहरीले पास देखाउँदा पनि जान दिँदैनन्,’ प्रवेशले गुनासो गरे ।
हेटौँडाकी मुना बिसंखेका डेढ वर्षको बच्चा बिरामी छन् । त्यसैले झरीमा भिज्दै मोटरसाइकल चलाएका श्रीमान्को पछाडि उनी बच्चा समातेर बसेकी छिन् । तर, स्थानीय तहले दिएको पास काम लाग्दैन भनेर प्रहरीले फर्काउन खोजेपछि मुनाले डेढ वर्षको छोरालाई काखको ओतबाट झिकिन् ।
र, प्रहरीको अगाडि तेस्र्याउँदै भनिन्, ‘यसको उपचार गर्दिनुहुन्छ तपाईं ? पानीमा भिजाउँदै हामी घुम्न काठमाडौं जान लागेको हो ? मान्छेको ज्यान गए जाओस्, तमासा हेर्नु भनेर सरकारले आदेश दिएको छ ?’ तर, एउटी आमाको यो रोदनले पनि प्रहरीलाई गलाउन सकेन । ‘यहाँबाट छोड्यो भने माथि नागढुंगाबाट फोन आउँछ, हामीलाई कारबाही हुन्छ,’ उनी भन्छन् ।
बालबालिका मात्र होइन, अशक्त र अपांगलाई समेत प्रहरीले झरीमा भिजाउँदै रोकेर राखेको छ । लमजुङ सुन्दर बजारका सरोज सेढाईंको मेरुदण्डमा स्टिल राखिएको छ । हरेक तीन महिनामा उनले जाँचका लागि काठमाडौं आउनुपर्छ । यसपालि ढिलो आउँदा पनि प्रहरीले रोक्यो ।
अपांगता भएको नागरिकको परिचयपत्र, नगरपालिकाको पास देखाउँदा पनि प्रहरीले उनलाई काठमाडौं छिर्न दिएन । भाइसँग मोटरसाइकलमा आएका सरोजलाई प्रहरीले ‘बरु हिँडेर जानुहोस्, तर मोटरसाइकल भने जान दिन्नौँ’ भन्यो । प्रहरीले मान्छेबाट होइन, मोटरसाइकलसँग समस्या छ भन्ने सन्देश दियो ।
‘ढाँटेको छैन, लुकाएको छैन, ढाडको घाउ हेर्दा पनि हुन्छ,’ सरोजले प्रहरीसँग हारगुहार गरे । तर, प्रहरीले उनको कुरै सुनेन । त्यसपछि उनी ओत लाग्न किनारको रूखतर्फ लागे ।
सवारी पास जाँचका नाममा प्रहरी प्रशासन कतिसम्म त्रूmर बनेको छ भने वीर अस्पतालमा एक्लै छटपटाइरहेका बिरामी बुबाको स्याहार गर्न आएका यात्रुको पीडाले पनि प्रस्ट पार्छ । वीर अस्पतालमा भर्ती भएका बुबाको हेरचाह गर्न भन्दै धादिङ खाल्डेबेँसीबाट विष्णु रम्तेल काठमाडौं जान हिँडे । दुई घन्टा हिँडेपछि धादिङको गल्छी पुगेका उनलाई काठमाडौं पुर्याउन कोही तयार भएनन् ।
हिँड्दै काठमाडौं आउन लागेका विष्णुलाई बाटोमा एउटा ट्याक्सीचालकले लिफ्ट दिए । तर, उनीहरूलाई प्रहरीले सिस्नेखोलाबाटै फर्कायो । काठमाडौं आउनेको यो भिडमा अधिकांश उपचार गराउन आउने छन् । अरू कतिपय टुटेको रोजगारी जोड्न आउने छन् । कपितय भने आफुले गरिरहेको व्यवसाय फेरि सञ्चालन गर्न उद्देश्यले फर्किएका छन् ।
फरक–फरक उद्देश्यले आएका सबैको नियति एउटै छ काठमाडौं नाकामा । तर, माथिको आदेश भन्दै सबैलाई प्रहरीले रोकेर दुःख दिएपछि हामीले थानकोटको इन्चार्जका रूपमा खटिएका डिएसपी घनश्याम श्रेष्ठलाई केही जिज्ञासा राख्ने प्रयास ग¥यौँ ।
‘अहिले जिल्लाभित्रको आन्तरिक सवारी मात्र खुलेको हो । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र सवारीसाधन छिर्न दिने सरकारको नीति छ,’ उनले भने, ‘स्थानीय तहको पास बोकेका मान्छेलाई हामीले फर्काइरहेका छौँ । त्यस्तै, अस्पतालको पिसिआर रिपोर्ट मात्र पनि पुग्दैन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिवार्य छ ।’ नयाँपत्रिका दैनिकमा खवर प्रकाशित छ ।

