
नेपाली शिक्षक, विद्यार्थी र अभिभावकले कहिल्यै नपढेको र नसुनेको सरुवा रोग कोरोना भाइरस (कोविड -१९) को विश्व व्यापी महामारीले सम्पूर्ण विद्यालय शिक्षा ठप्प प्राय छ ।
मानव जीवन जोगाउने पहिलो प्राथमिकता लकडाउन (बन्दा बन्दी ) भएको कारण लाखौं विद्यार्थीहरुका पठन पाठन बन्द हुँदा समेत सबै शैक्षिक सरोकारवालाहरु विद्यालय बन्द रहनुलाई स्वभाविक र जायज मानिरहेका छन् ।
सबै तहका सरकार विद्यालय सञ्चालनका बारेमा अनिर्णयको बन्दि बनि रहेको अनुभूति भइरहेको छ । माध्यमिक तह सम्मकोे शिक्षाको सबै अधिकार आफ्नो एक लौटी अधिकार भित्र परेको भन्दै आफू अनुकुल स्वेच्छा चारी निर्णय गर्ने स्थानीय तहहरु पनि सम्पन्न भइ सकेका परिक्षाका नतिजा सार्वजनिक गराउन समेत सकिरहेका छैनन् । कुनै पनि स्थानीय तहहरु शिक्षाको बारेमा रत्ति चिन्तित देखिदैंनन् ।
शिक्षकहरु पनि स्वेच्छिक रुपमा जोखिम मोल्ने मन स्थितिमा देखिंदैनन् । अभिभावकहरु आफ्ना वालवालिकाको भविष्य प्रति चिन्तित भएपनि उनीहरु सँग विकल्प छैन । विद्यार्थीहरु विद्यालय पढाइबाट मुक्त भएका छन् । उनीहरु अनियन्त्रित खेलकूद, घरायसी काम, मोबाइल, टिभी हेर्ने, अनलाइनको आफु खुसी प्रयोग गर्ने र कतिपय कुलतमा फस्दै जाने सम्मका गतिविधिमा संलग्न छन् । आखिर यस्तो अकर्मण्यताको स्थिति कहिले सम्म ?
कुनैपनि विपद् आइ परेपछि निसन्देह पहिलो दायित्व जीवन रक्षा नै हुन्छ । यसमा विवाद छैन । तर त्यसको एउटा चरण पार गरिसके पछि राज्यका सबै निकायहरु आफ्नो नियमित कार्यमा विस्तारै सामान्यी करण हुँदै जानुपर्छ । अन्यथा राज्य थप जटिलता तिर धकेलिन्छ ।
कोविड-१९ को सङ्क्रमण फैलिएको पनि करिब ४ महिना पुग्न लागि सक्यो । तर यस बीचमा शिक्षा सम्बद्ध निकायहरुले विद्यालय शिक्षाका बारेमा खासै योजना बनाउन र कार्यान्वयनमा जान सकिरहेका छैनन् । केहि शिक्षाविदहरु र शैक्षिक दिग्गजहरुले सूचना प्रविधिको प्रयोग मार्फत कक्षा सञ्चालन गर्ने विकल्पहरु पस्कि रहेका छन् ।
हाम्रा विद्यार्थीहरुमा सूचना प्रविधिको निरपेक्ष प्रयोगको संभाव्यता कति होला, बहसकै विषय बन्ला । यसै सन्दर्भमा विद्यालय शिक्षालाई नियमित गराउनका लागि निम्न उपायहरु अवलम्न गर्दा उपयुक्त हुन्छ, की भनी यो सानो सामग्री प्रस्तुत गरिएको छ ।
१. देशभरका स्थानीयतहहरुलाई कोविड १९ सङ्क्रमणका हिसाबले उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिमका तहहरुमा वर्गीकरण गर्ने ।
२. उच्च जोखिम युक्त स्थानीय तहहरुका सवै विद्यालयहरु हाल सञ्चालन नगर्ने ।
३. मध्यम जोखिम युक्त स्थानीय तहहरुका आधारभुत तह सम्मका कक्षाहरु स्वास्थ्य सावधानी सहित संचालन गर्ने , माध्यमिक तहका कक्षाहरु हाललाई सञ्चालन नगर्ने ।
४. न्युन जोखिम युक्त स्थानीय तहहरुका विद्यालयहरु स्वास्थ्य सावधानी सहित संचालन गर्ने ।
५. संचालन गरिने विद्यालयहरुमा प्रधानाध्यापकको संयोजकत्वमा विद्यालय स्वास्थ्य इकाई गठन गर्ने । प्रत्येक विद्यालयमा आवश्यकताका आधारमा थर्मल गन उपलब्ध गराउने । शिक्षक विद्यार्थीका नियमित स्वास्थ्य परिक्षण र कोविड १९ का रोकथाम तथा स्वास्थ्य सतर्कता सम्बन्धि जानकारी गराउन आवश्यक प्रचार सामग्री वितरण गर्ने लगायतका काम सोहि इकाइ मार्फत गर्ने गराउने
६. विद्यालयले आफ्ना सबै विद्यार्थीहरुका विस्तृत वैयक्तिक र पारिवारिक विवरण संकलन गरी नियमित संपर्कमा रहने ७. सबै स्थानीय तहहरुले सञ्चालनमा रहेका आफ्ना विद्यालयहरुका नियमित अनुगमन र नियन्त्रणमा ध्यान दिने ।
८. जोखिम युक्त स्थानीय तहहरुले शहरी क्षेत्रमा संभाव्यताका आधारमा सूचन प्रविधिमा आधारित कक्षाहरु सञ्चालन गर्ने ।
९. स्थानीय तहहरुले आफ्नो क्षमता र अनुकुलता अनुसार मौलिक शिक्षण विधि, प्रविधिको प्रयोग गर्ने ।
१०.कक्षा वाल विकास देखि कक्षा १२ सम्मका लागि विषयगत स्कुल एप (School App.) निर्माण गरी निशुल्क वितरण गर्ने । यो निर्माणका लागि केहि समय लाग्ने भएता पनि सरकारको इच्छा शक्ति भएमा १ महिना भित्र तयार पार्न सकिन्छ । स्कुल एप (School App.) सम्बन्धि विस्तृत आलेख अर्को अङ्कमा प्रकाश पार्ने कोशिस गर्नेछु । )
विश्व स्वास्थ्य संगठनले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिम क्षेत्रमा सूचिकृत गरेको र नेपाल भित्रै समुदाय देखि समुदाय बीचको सङ्क्रमण दर न्युन भएकाले दक्षिणी सीमावर्ती जिल्ला (विशेषत २ नं. प्रदेश) बाहेक अन्य जिल्लाहरुमा आन्तरिक व्यवस्थापन गर्न सकिने संभावना छ ।
पहाडी जिल्लाका ग्रामिण क्षेत्रहरुमा अहिले पनि वाह्य संपर्क नहुने र स्थानीय स्तरमा आवत जावत भइ नै रहेकाले सीमित सेवा क्षेत्र भएका विद्यालयहरु निश्चित मापदण्ड बनाएर संचालन गर्नु सान्दर्भिक हन सक्छ । (लेखक अधिकारी एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेशका वरिष्ठ उपाध्य हुन् ।)

