
म धेरै पछि उहिले भूमिगत हुँदा बसेको एउटा सेल्टरमा गएँ । वन दाई आगनमा जौं को उमरा सुकाउँदै रहेछन । म आगनको डीलमै पुगेर सोधेँ- ‘के छ हो वन दाइ ? नमस्कार !’
वन दाईले टाउको उठाएर म तिर हेर्नुभयो- ‘ए ! शनि भाई ! तपाई पो ! नमस्ते नमस्ते ! के छ सन्चै हुनु हुन्छ ? कसरी आउनु भो त हामी अभागीहरुको गाउँमा ? आज त पश्चिमवाट सुर्य उदाएझैं भैन र ?’
एकै सासमा उहाँले भोकाएको हलिले भोजन बुकाएझैं गरि धेरै कुरा सोध्न खोज्नुभयो ।
‘कसरी आउनुनि दाइ । हजुरहरुको माँया लागेर आको नि ।’ मैले छोटो प्रति लगाएँ ।
मेरो कुरा उहाँलाई सायद विस्वास लागेन क्या रे । उहाँले मलाई एकटकले निर्मिनेश हेरिरहनु भयो । मैले नै फेरि कुरा अघि बढाएँ- ‘हैन पत्याउनु भएन कि के हो दाई ? के नपत्याए जसरी पो हेर्नु भयो त ?’
‘खै कसरी पत्याउनु ? उहिले बहुदल आएपछिबाट मेरै घरमा आएर सँधै बसेका नेताले त विर्सिए जस्तो छ ।’- उहाँको आशंका मेटीएको थिएन ।
‘उहिले उहिले सेल्टर लिएको घरमा आज एकरात मजाले सुतेर मनको झिट्को मेटौं भनेर आको दाई । सँधै सपनामा यो घरमा बसेर मेश चलाको, प्रशिक्षण चलाको, साँस्कृतिक कार्यक्रम चलाको, घाइते भएर उपचार गराको मात्र देखिन्छ । त्यै भएर हाम्रो प्यारो वन दाईको घरलाई सम्झिँदै आएँ दाई ।’ -मैले गाँठी कुरा खोलें ।
त्यसपछि उहाँपनि अलि उत्साहित भएर मसँग कुरा गर्न तम्सिनु भयो । म पनि उहाँलाई जौं को उमरा सुकाउन सघाउन थालें ।
वरपर नियाल्दा बारीमा लटरम्म फलेर हामीलाई मिठो फल दिने मौषमको रुख मास्सिई सकेको रहेछ । अलिपर बारीमाको ढिकको ठुलो पैयुँको रुख पनि ढोद्रि सकेको रहेछ । तै पनि त्यसमा एउटा कोकलसारो चरो आएर बस्यो र ‘कोक्ले ट्वाङ’ गर्दै करायो । तलतिरको निन्नु (चिलाउने) को रुख मध्यको सवैभन्दा ठुलो रुख काटेर कसैको घरमा निराल (नाल) बनाइसकिएको रहेछ । बारीको टुप्पाको ठुलो साल पनि कसैको घरको थाम भैसकेछ । रानीवन तिरको साना-साना साल र चिलाउनेको रुखमा रङ्गी विरङ्गी रानी चरि र लामपुच्छ«े चरा आएर बस्दै कराउन थाले ‘सिरिरि चुइँयाँक चुइँयाँक’ ।
वन दाईको घरको दलानमा झोला राखेर म गाउँ नियाल्न निस्किएँ । गह्रा-गह्रा परेका भिरालो पहाडी पाखाका वारिहरुमा पहेँलै जौं पाकेका थिए । वारिभरि छपक्कै भएर गाउँका महिला पुरुषहरु जौं काट्नमा व्यस्त थिए । गाउँपारिको स्कूलमा चार वजेको जनाउ दिँदै ‘ट्वाङ .. ट्वाङ.. ट्वाङ’ घण्टी वज्यो ।
बिद्यार्थिहरुको हुल कोलाहल गर्दै निस्किएर दौडदै घरतिर बत्तिन थाले । म पनि स्मृतिको लहरमा ती विद्यार्थिहरुसँगै विद्यार्थी राजनीतिको झोला बोकेर दौडिन थालें । झोलाभरि माक्र्सवादी किताव अनि माओवादीको पर्चा र पम्पलेट वोकेर कुद्दै थिएँ । उ त्यो डाँडाको उकालोमा पसिनै पसिना भएर त्यो डाँडापारिको स्कूलमा विद्यार्थी संगठन वनाउन अनि त्यहिँवाट ओरालो लागेर उ तलको खोला तरेर पाल्लो वनको स्कूलमा संगठन वनाउन ।
मलाई वन दाईले चिच्याउँदै वोलाउनु भयो -‘ए ! शनि भाई ! आउनुस चिया खाँउ ।’
मनले नमानेपनि फर्किएर वन दाईको घरमा आएर भित्र पसें । वन दाईले चकटी म तिर सारि दिँदै चिया र भुटेको मकै भट्ट मेरो अघि राखिदिँदै भन्नुभयो –
‘ए.. भाई ! सवै कुरा एकै सर्को रहेछ । यो चोला जस्तै । हिजो त्यो गोरो वर्णको, बडो शान्त स्वभावको, थोरै मात्र वोल्ने मगर नेता थिए नि तिनको वडो मायाँ लाग्दछ भाई । उनले त विर्सिसके होलान । तर, आज तपाई आएको देख्दा भने विर्सेका छैनन कि जस्तो लागी रहेछ ।’
मैलेपनि उनलाई संझिएँ । मलाइ पनि उनि म वसेकै ठाउँमा गजडम्म परेर वसीरहेजस्तो लाग्यो ।
परन्तु उनी भने अचेल देशका शक्तिशाली ओहोदामा बसेर हामीलाई एकरत्ति नगन्ने सत्ता उन्मादले कृतघ्न भैसकेका छन । तर यता जनताको मनको मायाँभने उस्तै निर्मल र कञ्चन छ । उनीहरुको आशा र भरोसापनि अझै उस्तै निश्चल छ । मैले ती नेताको बारेमा वन दाईलाई के सुनाउने, कस्तो सुनाउने अलमल परिरहेको थिएँ । साँचो कुरा भनेर उनको त्यो आशा र भरोसामा पानी छर्किनु पनि उचित लागीरहेको थिएन । मैले कुरा अर्कैतिर मोड्ने वहानाकालागी वरपर नजर दौडाउन थालेँ ।
मैले त्यो घरको भित्ता चर्किएको देखेँ र भने- ‘अरे ! यो घर त उ त्यँहा चर्किएको रहेछ त वन दाई ?’
‘बहत्तर सालको भुकम्प आउँदा चर्किएको हो भाई । अव अर्को वनाउने हुतिपनि छैन । यस्तैमा गुजारा चलाई रहेछु भाई ।’
बहत्तर सालको भूकम्पको कुरा सुन्दा बित्तिकै मेरो मानसमा त्यो अभूतपूर्व विनाशलिलाको चित्र दिमाकमा आएर आङनै सिरिङ्ग भयो । फेरि एकपटक भूकम्प आयो भने पहाडका यी कच्चि घरहरुमा हुन सक्ने अकल्पनिय विनाशको दुर्दशा सम्झिएर मन अत्यासियो ।
वन दाईले मलाई हेर्दै भन्नुभयो- ‘ए ! शनि भाइको कपालपनि फूल्न थालेछ त ?’ ‘फूल्न लागेको होइन दाई । कालो पोतेर नदेखिएको मात्र हो । फूलेर खतम छ ।’ मैले वन दाईलाई बल्ल नियाँलेर हेरेँ । वन दाईको कुमपनि अलि धेरैनै कुप्री सकेको रहेछ । मुहारपनि पहिलेको जस्तो समुज्वल थिएन । कालो चाँयाले छोप्दै लगेको देखिन्थ्यो । गालापनि चाउरिएर मुज्जा पर्न थाली सकेको थियो ।
कपाल त बेंसी नै फुलेको थियो । अनि मैले हाम्रो भेट नभएको बर्ष फारेँ (हिसाव गरेँ) । पन्ध्र वर्ष भै सकेको रहेछ ।
वाहिर गाईको ठुलो घाँडो वजेकोे ‘गोल्र्याइँ गोल्र्याइँ’ आवाज आयो । गाईको वथानको पाश्र्व भागवाट बेलसरी भाउज्यूको आवाज सुनियो । वन दाई गएर गाईहरुलाई गोठभित्र हुल्दै वाँध्न थाल्नुभयो । बेलसरी भाउजुले आगनमा हेरेर लोग्नेलाई ब्याङ्ग्य गर्दै भन्नुभयो — ‘उस् त्यती जावो जौंको उमरापनि फिजाएर सकिएन छ एई । ‘अल्छि तिग्रा मिठा जिब्रा’ भनेको यै हो । कस्ले गर्देको खाने होच र हो ।’
वन दाईले गोठ भित्रैवाट जवाफ फर्काउनु भयो — ‘फिँजाउदै थिएँ, शहरवाट शनि भाई हामीलाई भेटन आउनु भएको रैछ । उनीसँग अलमलिएर भ्याइन ।’
भाउजुले ‘को रे ?’ भनेर नभ्याउँदै, मैले भनेँ- ‘नमस्ते भाउजु !’
भाउजुले मतिर हेर्दै भन्नु भयो -‘ए ! तपाई पो ! नमस्ते वावु, नमस्ते ।’
गोधुली साँझको रमरम अँध्यारोसँगै दाजु र भाउजु घर भित्र पसे । म अझै गाउँ हेरेर धित मरेको थिएन । त्यसैले म घर पर वारिको ढिकमा गएर पुरै गाउँ अवलोकन गर्न थालेँ । गाउँ पारिको पाखोमा भेंडी ग्वालाको घाेंकि (जारे) कुकुरहरु तिन गाउँ थर्काउने गरि गर्जिदैँ भुक्न थाले । वारिपारि पहाडका पाखाभरि गोठहरुमा आगो वालेर झिलिमिलि देखियो ।
म फर्केर घर भित्र पस्दा वन दाईकि बुहारी पनि आएर बच्चालाई दुध चुसाउँदै रैछिन । मलाई देखेर उनले- ‘नमस्ते दाई’ भन्दै अविभादन गरिन ।
मैले पनि नमस्ते फर्काएँ तर ठ्याक्कै ठम्ब्याउन सकिन । सकियोस पनि कसरी, मैले गाउँ छोडेर जाँदा उनीहरु भर्खर दाँत फेर्दै थिए । अहिले जवान भएरपनि काखमा बच्चा छ । मैले सोधेँ- ‘पोक्चेकी श्रीमती ?’
उनले टाउको हल्लाएर हो भन्ने उत्तर दिइन ।
अगेनामा बेलसरी भाउजुले भात डोस्ने सुर गर्दै थिइन । मैले भने- ‘हैन आज त ढिँडो खाने पो भाउजु ।’
‘हैन काँ होला तै, बल्ल बल्ल आको पाहुनालाई कसरी ढिँडो खुवाउनु ?’ भाउजुले मेरो प्रतिवाद गरिन । तर मैले मानिन । अन्ततः ढिँडो पकाउने कुरा पास भयो ।
उता वन दाईले दाम्ला वाटदै थिए । भाउजुले भनिन- ‘ए पोक्चेका बा ! बाहिर ढुम (कुखुराको खोर) वाट एउटा चल्ला ल्याएर काट त । पाहुनालाई पनि झोल खान होला । नातिनी पनि ज्वरोवाट भर्खर सन्चो भएर मासु खोजेर हनहन गरेकि छे, उस्ले पनि एक चोक्टा खाली । हामीपनि झोल खाम्ला ।’
सानी नातिनी कुखुराको मासु देखेर वाजेसँग रमाउन थाली । बुहारी खाना खाइसकेपछि सुत्ने ओच्छ्यानहरु बनाउन लागीन । ढिँडो घोटी सकेपछि लोग्नेलाई तरकारी वनाउन लगाएर भाउजु मसँग कुरागर्न लाग्नु भयो –
‘उहिले त सबै खुव आउँथे । रमाइलो गर्थे । अहिले त कोहिपनि आन्नन् । आज तपाई कसरी आउनु भएछ । केहि काम विशेषले आउनु भो कि ?’
‘हैन । भाउजु कुनै कामले आको हैन । अचेलपनि सँधै सपनामा यो घर, यो गाउँ अनि तपाईहरुलाई मात्र देखिरहें । त्यै भएर भेटन आको । फेरि फेरि त आउन सकिएला नसकिएला तर अचेल अझै हातखुट्टा चल्दैछ । एकपटक भएपनि भेटौं भनेर आको ।’
‘हो वावु सपनामा जम्मै उहि कार्यक्रम गरेको, हेलिकप्टरले लखेटेको, जनसेना लडेको अनि घाइते वोकेको मात्र देखिन्छ त ।’
‘हो नि भाउजु । तर के गर्ने ती दिन गैगए ।’
‘अनि तपाईकी श्रीमती नी वावु, सन्चै छिन कि ? केटा केटी उहि एउटा वाबु मात्र हो कि अरु पनि भए ?’
‘बुढि अझै पार्टीमै खटछिन । वावु उहि मात्रै हो । ठुलो भै सक्यो । दश कक्षामा पदछ ।’
‘तपाई त क्यान्टोनमेन्ट पनि जानु भैन रे, पैसापनि पाउनु भैन रे । के गरेर घर गृस्ति चलाउनु भाछ त वावु ?’
‘म चार वर्ष मलेसिया वसेर आको नि भाउजु । खर्च टार्न गारै छ । अव के गरेर पालिने हो भनेर सोंच्दैछु ।’
‘जाँ पनि, जहिलपेनि टाठा बाठाकै चल्ने रैछ है वावु । तपाई हामी जस्ता लाटा सोझा त जहिलेपनि ठगिने नै रहेछौँ है ?
‘हो नि भाउजु । यस्तै रैछ राजनीति । अनि पोक्चे काँ छ नि अचेल ?’
‘उपनि कटारमा छ वावु ।’
उता तरकारी पकाई सकेर वन दाइले ‘लौ हात धुएर आउनु सबै, म ढिँडो निकाल्छु’ भन्दै थाल वजाउन लाग्नु भयो । नातिनी मासु देखेर वालसुलभ अधिरता पुर्वक रमाउँदै मासुखाने प्रतिक्षागर्दै थिई ।
भात खाइसकेर म पनि ओच्छ्यानमा गएँ । लामो समयपछि चिरपरिचित ठाउँमा फेरि एकपटक आउन पाएकोमा म खुसि थिएँ । तै पनि मनमा कुरा खेल्न छोडेन । आखिर हामीलाई यसरी नभेटी नहुने हाम्रो के नाता पर्छ त ? न हामी एउटै जिल्ला बासी, न नजिकको नातेदार ? तैपनि भेट भएकोमा यस्तो औधी खुसी लाग्ने किन होला ?
यस्को उत्तर मेरो दिमागमा जतावाट घुमाएपनि एउटै मात्र आयो, त्यो हो- माओवादी आन्दोलनले हुर्काई दिएको ‘वर्गनाता’ । परन्तु, आज त्यो वर्गनाता भने वेवारिसे भै घाममा सुक्दा सुक्दा त्यसको रङ सवै खुइलिई सकेको छ; अलकत्रा भै झरिमा भिज्दा, भिज्दै त्यसमा लेउ उम्रिसकेको छ, अनि सत्ता र शक्तिको छालले मध्य महासागरबाट बगाउँदा बगाउँदै किनारको वालुवामा पुरिई सकेको छ, साथै पद र प्रतिष्ठा अनि स्वार्थको अविराम आँधिले उढाउँदा-उढाउँदै अर्कै गोलार्धमा पुगि सकेको छ । ०७६ चैत्र २३

