
रोल्पा जिल्लाको ढाङ्डुङ कुरेली उपबाङमा माओवादी जनयुद्धमा विकसित सबैभन्दा उच्च र ठुलो जनसेनाको प्राविधिक विभाग अन्तर्गतको मुख्य कारखाना थियोे ।
जुन जनमुक्ति सेनाको मध्य डिभिजन प्रविधिक विभागद्वारा संचालित थिए । प्राविधिक विभाग अन्तर्गतको सदस्य भएकाले खारा लडाइँको वरिपरि म त्यहीँ कार्यरत थिए । डिभिजन कमाण्डर पासाङ र सहायक कमाण्डर बरुण प्राविधिक क्षेत्रमा निक्कै गहिरो अध्यन गर्नु हुन्थ्यो ।
बेला बेलामा विभागमा आईरहनु हुन्थ्यो । कारखानाको ३० मिनेटको दुरिमा सरावाङ भन्ने ठाउँमा पार्टीको कमाण्ड कार्यालय थियोे । कमाण्ड इन्चार्ज स्थायी समिती सदस्य (हेडक्वर्टर सदस्य) नुवाकोटका पोष्टबहादुर बोगटी (दिवकार) थिए । कमाण्डर पासाङले दिवकर सङ्ग प्राविधिक विभागमा नुवाकोटको एकजना भाई छ, भनेर कुरा गर्नु भएको रहेछ । जिल्लाबासी भएको र प्राविधिक विभागमा भनेपछि दिवकरलाई अझ उत्सुक भएछ, भेटौन भन्ने कुरा भएछ ।
युद्धकालमा नेताहरू सङग भेट्ने छलफल गर्ने त के नेताको छाँया देख्न पाउनु पनि ठुलो कुरा मानिन्थ्यो । हाम्रो लेबलको कार्यकर्ताहरुको त्यसरी उच्च नेताहरु सङ्ग भेट्ने प्राय काम नै हुँदैन थियो र अवश्यता पनि हुन्थेन । केहि दिन पछि कमाण्डर पासाङ कारखाना आउनु भएका थिए । उहाँको स्यटलाईट फोनबाट ३-४ मिनेट दिवकार सङ्ग कुरा गर्ने अवसर मिल्यो ।
नुवाकोट घर कुन ठाउँ भनेर सोध्नुभयो त्यसपछि मेरो गाउँको केही पुराना कम्युनिस्ट कार्यकर्ताहरुको बारेमा सोध्नुभयो त्यसपछि मेरो जिम्मेवारीको बारेमा सोध्नुभयो । समय मिल्यो भने भेटाउल भन्दै फोन टुङ्गियो । केही दिन पछाडी प्राविधिक विभागको प्रमुख ब्यबस्थापक शेषमगर दाईले मलाई उहाँ सङ्गै जाने भन्नुभयो । उहाँ पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो ।
कमाण्डरको आदेशमा चल्ने हामीलाई कहाँ, के भन्ने भन्दा आदेश पालना गर्नु मुख्य कुरा हुन्थ्यो । शेष दाइको पछि लागेर सरावाङ्ग पुगियो, बल्ल शेषदाईले तपाईलाई यहाँ कमाण्ड कार्यलयमा बोलाउनु भएको छ भन्नू भयो, अनि मनमा सोचे अब गण्डक तिर पठाउने होला सायद भन्ने मनमा खेल्न थाल्यो । त्यहाँ धेरै नेताहरू थिए । अ–आफ्नै ब्यस्तता देखिन्थ्यो । मगर भाषामा शेष दाइले त्यहाँ कार्यरत साथीहरू संग कुराकानी गरे मैले केही पनि बुझिन ।
त्यसपछि मलाई एउटा घर भित्र लगे त्यहाँ कमरेड दिवकार हुनुहुँदो रहेछ, शेष दाइले दिवकारलाई लाल सलाम कमरेड । भन्दै हात मिलाउँदै नुवाकोटबाट बिभाग आएको जितेन्द्र कमरेड । भनेर परिचय गराएर उहाँ बाहिर निस्कनु भयो । पहिलो चोटी यति ठुलो नेता सङ्ग भेट्दा म दंग परे, यो एउटा आकस्मिक थियोे र संजोक पनि त्यसकारण के बोल्ने भन्ने बिषय नै म संग तुरुन्त तयार हुन गह्रो भयो । केही हर्ष मिश्रति त्रार र खुशीले मन उमंग बनायो । कमरेड दिवकर छिमेकी गाउँबासी थिए । मेरो परिचय बाट कुरा सुरु भयो ।
नुवाकोट–धादिङ र बासु स्मृति ब्रीगेड हुँदै यहाँ सम्म आएको भने, अनि वीरबहादुर सर उहाँको परिवारको बारेमा सोध्नु भयो । वीरबहादुर, हरि काका (हरी नेपाल), नबराज, बोधबाहदुर, बिजय लगायत ११ जना साथीहरूको ठुलो गाउँमा सेनाले सामुहिक हत्या गरेको थियो । यो घटनाको बारेमा थाहा भए सम्मको बताए ।
त्यसैगरि स्थानीय पार्टी र कार्यकर्ताहरुको बारेमा कुरा भयो । नुवाकोट तुप्चे जहाँ पोष्टबाहदुरको गाँउ त्यहीँबाट थुप्रै योद्धाहरु सहिद भैसकेका थिए । तुप्चेबाट जनयुद्धको एक कुशल कमण्डर क. दिलिप थिए । कम्पनी कम्पनी कमण्डर शिव नेपाल (दिलिप) जस्ले जनयुद्धमा आफ्नो बुबा गुमाएर पनि निरन्तर लडिरहेका थिए । केही महिना अगाडि मात्रै रोल्पाको कोटगाँउमा तात्कालिन शाही सेना संगको भिडन्तमा सहिद हुनुभएका थिए । उहाँको जनयुद्धमा भुमिका, सैन्य जिम्मेवारी र सहदत हुनेबेलाको लडाइँको अवस्था बारेमा कुरा भयो, त्यसपछि उहाँको छोरा रबि बोगटी (अनन्त) को बारे सोध्नुभयो, क. अनन्त र म एकै क्षेत्रमा कार्यरत थियौं ।
धादिङको सत्यादेवि हत्याकाण्डमा कमरेड अनन्त सङ्गै बर्सुङचेतको बिमल घले र धादिङ खाल्टेको डम्बर श्रेष्ठको तत्कालीन शाही सेनाले कब्जामा लिएर निर्मम् यातना दिएर हत्या गरेको थियो । प्रकाशनको काममा व्यस्त अवस्थाम गिरफ्तार गरेका थिए । हामी एउटै सेल्टरबाट बिहान काम विशेषले छुटेका थियौं । १ घण्टा अगाडि छुटेका साथीहरू गिरफ्तार परेको खबर प्राप्त भयो र दिउँसो सेना फर्केपछि हामी पुग्दा साथीहरू लास क्षेतबिच्छेद अवस्थामा खनियाबासको बच्छ्ला मा.वि. को पछाडी अलि अलि छोपछाप गरिराखेको अवस्थाम भेटाइयो । लास हेर्दा निकै यातना दिएर गोली हानिएको थियो । अन्तिम संस्कर स्वरुप पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली गरेर हामी फर्कियौं ।
मैले यी घटनाहरुको बारेमा सरसर्ती बताउँदै गर्दा उहाँ निकै भाबुक गम्भीर हुनुभयो । यो क्रान्तिको नियम हो, कुनै नौलो कुरा होइन, हजारौं सहिदहरुमा रबि पनि समाहित भएको छ, मेरो लागि तपाईहरु नै मेरो छोरा रबि हुन भन्नुभयो । एक छोरा सहिद भए हजारौं छोराहरु जन्मिरहेको छ भन्नुभयो । कमरेड बोगटी उच्च नेता भएर पनि उहाँको अभिव्यक्त अत्यन्तै सरल लाग्यो ।
अन्त्यमा मेरो जिम्मेवारी र बिभागिय भूमिकाको बारेमा उहाँले धेरै महत्त्वपूर्ण छ राम्रोसँग मिहिनेत गर्नु भन्नुभयो । करिब एक घण्टा कुराकानी भयो । उहाँको श्रीमती तथा सहिद अनन्तको आमा राम माया बोगटी राङकोट तिर भएकोले भेट्न सकिएन समय मिलेमा फेरि भेटौला भन्दै बिदा भएको थिँए ।
पुनः दिवकार संग फेरि भेट
समय बदलियो, जनयुद्ध शान्ति प्रक्रियामा प्रवेश भयो । नेता दिवकार पटक पटक मन्त्री भए । म सेना संयोजन प्रक्रियामा स्वेच्छिक अवकशमा घर फर्के । यो अवधिमा नेता दिवकार सङ्ग कहिल्यै पनि भेट भएन, मेरो उहाँ सङ्ग भेटन जाने काम पनि थिएन र अनावश्यक नेताहरूको म गएर गफ दिने स्वभाव पनि थिएन मेरो ।
गाउँका साधारण वाईसीएलको सदस्य लिएको र अन्य धेरै सङ्ग भेटघाट हुने गर्थ्यो । सेना संयोजन पछि कार्यदिशाको हिसावले म बैद्य लाईनमा पुगे पछि झनै दुरी बढ्यो । म उहाँको बिचार र पार्टीको लाइनमा मेरो असहमत भए । अझै पनि माओवादी केन्द्रको नीति तथा कार्यक्रम प्रति मेरो सहमत छैन ।
संविधानसभाको दोस्रो निर्वाचन अगाडी देउरालीबाट जनायुद्धमा सहिद हुने पाँच जना योद्धाहरुको सम्मानमा नुवाकोटको दोस्रो ठुलो फुटबल प्रतियोगिता सहिद स्मरक कप हुँदै थियो । आयोजक समितिको संयोजक अध्यक्ष म थिए, बहुमत साथीहरूले पोष्टबहादुर बोगटीलाई नै प्रमुख आतिथि बनाउने निर्णय अनुसार उहाँ कार्यक्रममा आउँदा भेट भयो । त्यो भन्दा अगाडि कहिल्यै वास्त नगरेको जस्तो लग्थ्यो तर त्यो दिन भने रोल्पा सरावाङ्गको भेट्को पुनःस्मरण मात्र भएन उहाँले मेरो बारेमा धेरै प्रसंसा समेत गर्नु भयो ।
सहिदहरुको सम्मानमा स्मारक निर्माण र खेलको आयोजना प्रति खुसी व्यक्त गर्दै धन्यवाद दिनु भयो । सके पुरानै घर फर्कन र चुनावमा सहयोग गर्न समेत अग्रह गर्नु भयो । चुनाव अगाडि पुरानो कार्यकर्ता अवश्यक्त हुँदो रहेछ उहाँहरूलाई ।
वैचारिक हिसावले माओवादी केन्द्र विचलनको उतकर्षमा छ, आज नव सामन्तहरुको प्रवेष र नीतिगत रुपमा संशोधनवादमा गिरेको पार्टीको बारे मैले टिका टिप्पणी गर्न उचित ठान्दिन तर पनि युद्धकालका सहिद वेपत्ता घाईतेहरुको सम्मानार्थ नेपाली वर्ग संघर्षको उठानमा अतुलनीय योगदान र जनायुद्धको संस्थपक नेता स्व. पोष्टबाहदुर बोगटी पार्टी भित्र स्वच्छ छवि र कार्यकर्तामा स्थपित कुशल सगठक र जनयुद्धमा योगदानको मुल्यांकन र वर्णन जत्ति गरे कमी नै हुन्छ जस्तो लाग्छ ।
नुवाकोट तुप्चेमा जन्मेर जनयुद्धको नेतृत्व गर्नु भयो । जनायुद्धको सिपाहीको हैसियतले रोल्पामा ओज पुर्ण भेट भएको नेता पोष्टबहादुर बोगटी (दिवकर) लाई पशुपति आर्यघाटमा अन्तिम सलामी अर्पण गरे । आदरणीय दिवकर प्रति आज ५ औं स्मृति दिवस हार्दिक श्रद्धाञ्जली ।
जितेन्द्र तामाङ
हाल दक्षिण कोरिया
२०७४ भान्द्र २९

