तीज मेरो विशेष हुनेछ

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

म कुरा गर्दै छु, मेरो तीजको, मेरो बैंसको तीजको, संस्कृति सँग नजोडिएला, धर्म सँग नजोडिएला तर हो, म मेरो तीजको कुरा गर्दैछु ।

ओइ, त भोली के लगाउनी हो ? म त सारी लाउनी भन्या । पार्वती दिदीले तीजको अघिल्लो दिन घाँस काटेर आएपछि मलाई भनि । अस्ति कृष्ण जन्माअष्टमीको दिन नयाँ कुर्ता लाको पुरानो भो, तीजमा सारी लगाउनु पर्ला नि, मैले भने ।

कस्को लाउछस त ? तँलाई ब्लाउज कस्को ठिक हुन्छ अब सिलाउन त भ्याइन्न क्यारे, दिदीले भनी । खै आन्टिको हुन्छ कि भन्या सारी पनि आन्टी कै लगाउनु पर्ला, एक्कै दिन लगाउन हो किन सिलाउनु नयाँ ब्लाउज किन किन्नु सारी ? दिदीले खिस्स हास्दै भनी, पिर ब्लाउज को हो, सारी त जस्को पनि छ, छानी छानी लगाउला नि ।

पार्वती दिदी मेरो सब्बै भन्दा मिल्ने दिदी थि, मलाई हर काममा सहयोग गर्ने हर कुरा सेयर गर्ने, सङै राख्ने दिदि । तँ त मख्खै होलास है, भगवान सङ माग्लानी तेस्लाई दिदीले भनी । म मख्खिएर खित्का छुटाए, त्यो के भन्या ? नजाने जस्तो नगर न । दिदी बोलि । मैले हाँस्दै भने अहँ अब भोली नै थाहा हुन्छ कस्लाई माग्नी । दिदीले त्यो मान्छेको कुरा गर्दै थिई जो मान्छेको नामले मलाई स्कुलमा बोलाइन्छ । उ सङ मेरो नाम जोडिएको छ, मलाई उस्को नाम र उस्लाई मेरो नाम ले नै जिस्काउँछन् साथिहरु ।
थाहा छैन उस्को मनमा के छ, तर मलाई भने उस्को नामले बोलाउँदा खुसी लाग्थ्यो तर म साथिहरु सङ चाही रिसाएको नाटक गरि दिन्थ्ये त्यसरी नजिस्काओ भनिदिन्थ्ये तर जिस्काओस् भन्ने चाहि मन भित्र लागि रन्थ्यो । दिदीले फेरि भनी बेल्का हाम्रैमा आइज सुत्न दर खानु पर्छ, कमली पनि आउछ, सबै मिलेर बनाउला, मिल्यो भने बेल्का सम्म मितिनी पनि आउछु भन्नु भाछ, मलाई उतै बोलाउदै हुनुहुन्थ्यो म मानिन । दिदीको मितिनी बाहुनी हुनुहुन्थ्यो, बाहुनहरुको त तीज बिशेष पर्व नै हो । गाउँ भएर होला नेवार समुदायमा तीज उति चाख मान्दैनथ्यो ।

हामी भने बैसले भर्खर छोएर होला, तीज आउदा पनि निक्कै फुर्किन्थ्येउ । दिदी घर फर्की, म आन्टिको ब्लाउज चेक गर्न थाले, ठिक भयो । साँझ खाना खाएर दिदीकोमा गएँ । चने निनिले भन्नुभयो, मेरो सारी लगा चमेली तँ । रातो सारी गोरि मान्छेलाई चटक्क सुहाउँछ । मैले हास्दै भने हुन्छ, जस्को लगाए पनि । खाना खाएर निनिहरु सुत्नु भयो म, पार्वती दिदी, कमला दिदी अरु एक दुई जना बहिनिहरु चाही दर पकाउन लाग्थ्यौ ।

दर कस्तो हुन्छ हामीलाई थाहा थिएन हाम्ले खिर जसरी नै दर पकायौ । सायद खिरलाई नै दर भन्दो हो । राती दर खाएर हामी सब्बै यौटै ओछ्यानमा पल्टियौ । त्यो रात निदले पनि हामिलाई भन्यो भोली तीज हो आज किन सुत्छस र ? हाँसेर बसाहो, बैसको मिठो याद बनाहो, पछि सम्झनलाई । हामीले पनि त्यसै गर्यौ, सुतेनौ हामी के के कुरा गरेर बस्यौ, कतिलाई पहिले छुट्टाएर राखेको केटाको नामले जिस्कायौ कतिलाई त्यहि दिन नयाँ जोडि बनाइदिएर जिस्काइ रह्यौ ।

बिहान भो, मिरमिरे मै सब नुहाउन धारा तिर लाग्यौ । छिमेकी अजि पानी लिन आउदा हामी सबले नुहाएर सक्केको थियौ । पुजा गर्न उस्सै पनि अबेला हुन्थ्यो बिहान देखि दिउँसो सम्म हामी आफु एक अर्कालाइ सजाउँदैमा समय बित्थ्यो । सब्बैले चटक्क पारेर सारी लगायौ । नोकियाको पछाडी क्यामरा भएको मोबाइलले केहि फोटाहरु खिच्थ्यौ ।

बैसले धपक्क बलेको अनुहारमा गाजल, टिका लाली, पाउडरले हामी झन बढी बोलेका हुन्थ्यौ । मन भित्रबाटै लाज लागेर आउथ्यो, फुरुङ हुन्थ्यौ हामी सब्बै । हटिया टोलबाट रातो सारी लगाएर श्रृङ्गार सङै सजिएको एक हुल बैसको फुलहरु बगैंचा छाडेर मन्दिर तिर लाग्थ्ये । पुजाको थाली हातमा बोकेर मुसुमुसु मुस्काउदै हिड्दै गर्दा सबै घर बाहिर निस्किएर हामिलाई जिस्काउथ्ये, हामी झन लाजले भुतुक्कै हुन्थ्य्यौ ।

मख्ख परेर मन्दिर पुगेर पुजा गरेर फर्के पछि बल्ल याद हुन्थ्यो मनको कुरा माग्न बिर्सेछ । बैसको होडबाजी, उसै माथि फुर्केको मन सम्झन पर्ने केहि सम्झना भएनछ । म आफै हासे मन मनै । फर्कदै गर्दा बाटोमा तेहि मान्छे भेटे जुन मान्छेको नामले मलाई जिस्काउथ्ये, म एक्कासी रातो रातो भए, अब पक्का यी केटिहरुले मलाई जिस्काउ छन् भन्ने पनि लाग्यो । अनि जिस्काए पनि तिनिहरुले मलाई ।

म मन मनै हासे, अनि सब्बै घर फर्कियौ । त्यो रात झनै निद्रा लागेन । म संसारकै राम्री भएको उस्ले बुझ्यो होला, मलाई मैले जस्तै मायाँ गर्छ होला अनि हामी यस्तै-यस्तै सोच्दा सोच्दै रात बित्यो भोली पल्ट स्कुल गएपछि थाहा भए उस्ले पनि भन्यो रे, हिजो सजनालाई सारीलाको कति सुहाको ।

हामीलाई यसै त सङ्का गर्दथ्ये झन उसले राम्री भनेपछि सङ्का नगर्ने कुरै भएन । स्कुलबाट फर्के पछि बेलुका सबै फोटोहरु उस्लाई फेसबुकमा हाल्दिए उसले पनि क्या ब्यूटी भन्ने जवाफ पठायो र भन्यो मन्दिरमा के माग्यौ । म इमान्दार थिए इमान्दार नै कुरा गरें मैलेत भगवान सँग केहि मागिन । उसले मेसेज रिप्ले गरेन ।

अफशोच भोलि पल्ट देखि मैले स्कुल छोड्नु पर्ने भयो मेरो परिवार काठमाडौ नै बस्ने र मलाई पनि उतै पढाउने तयारी भयो । म परिवार सँगै काठमाडौ रहेँ उ गाउँमै छ बेला-बेला फोन सम्पर्क हुन्छ तर त्यस्तो गफ केहि हुन्न ।

भोलिको तीज मेरो यो कारण विशेष हुन्छ की, म मन्दिर गएर उस्को जीवन साथी बन्नपाउँ भनेर भाकल गर्नु छ । मन्दिरबाट फर्कँदा उ मलाई बाटोमा कुरि रहेको हुने । बस नयाँ जीवनको सुरुवात गर्नु छ, आगामी यात्राको विषयमा आगामी तीज सम्मको प्रतिक्षा गर्नु होला ।