
तीन दिन अघि छोरीले एल्बमबाट मेरो चार वटा फोटो निकाली र सोधी, ‘बाबा यो मध्ये कुन फोटो राम्रो ?’ मैले भनेँ ‘मलाई त चारैवटा राम्रो लाग्छ । आफ्नो फोटो पनि राम्रो र नराम्रो हुन्छ ?’ सानी विचमा आई ‘त्यसो भन्न पाइन्न क्या । यो मध्ये एउटा भन्न पर्छ ।’
‘यो छ राम्रो ।’ आँगनमा उभिएको फोटो देखाएँ । उनीहरु मैले राम्रो भनेको फोटो, कैंची र केही कागजको टुक्रा लिएर अर्को कोठामा गए । ‘छोरीहरुलाई के ग-या भनेर नसोध्नु है । उनीहरुले सरप्राइज दिने रे ।’ श्रीमतीले भनेपछि मैले पनि थाहा नपाए झैं गरेँ ।
आज बिहान म उठ्नु अघि नै छोरीहरु उठिसकेका थिए । उनीहरुबिच हिजो बेलुका नै कसले पहिला ‘ह्याप्पी फादर्स डे’ भन्ने भनेर प्रतिस्पर्धात्मक कुराकानी भएको थियो । ठुली छोरी उठेर वाथरुम गएको मौकामा सानी जुरुक्क उठेर आई र भनी ‘ह्याप्पी फदर्स डे’ । उ दिदीलाई उछिनेको प्रमाण पेश गर्न चाहन्थी । ठुली वाथरुमबाट नआउन्जेल मसंगै बसिरही ।
ठुलीलाई हल्का रिस उठ्यो । उसले आपत्ती जनाउदै भनी ‘मुखै नधोई भनेर पनि हुन्छ ।’ उसले मेरो गालामा चिसो हात लाइदिँदै भनी ‘ह्याप्पी फादर्स डे बाबा ।’
दिदी बहिनीको एकछिन ठाकठुक प-यो र फेरि कुरा मिल्यो । कार्ड चाँही संगै दिने सहमति भयो । बनाउनेक्रममा पनि उनीहरुले तीन दिनदेखी सहकार्य गरेका थिए ।
एकछिनपछि फलफुल मिठाई, टिका, ग्रिटिङ कार्ड र अक्षतामा थाली लिएर जम्मा भए । उनीहरुको उद्देश्य दुईटा थियो । एउटा मलाई कार्ड दिने अर्को यो सबै दृष्यको भिडियो खिचेर टिकटक बनाउने । म कता फर्केर बस्ने, लाइट कता मिल्छ ? ठुली छोरीको निर्देशन अनुसार म बसेँ । श्रीमतीले फोटो भिडियो खिचिन् ‘हाम्रो घरको फादर्स डे’ कार्यक्रम सम्पन्न भयो ।
मैले छोरीहरुबाट ‘फादर्स डे’को अवसरमा ग्रिटिङ कार्ड लिन थालेको पाँच वर्ष जति भयो । तर, मैले आजसम्म यस्ता दिवसमा न त बालाई कुनै उपहार दिएको छु न आमालाई । यस हिसाबमा मलाई ‘स्वाँठ’ छोरा भने पनि हुन्छ ।
मैले ग्रिटिङ कार्ड लिएर मुस्कुराईरहेको पोज दिइरहेको वेला मेरो बा चौताराडाँडामा कुश ओखल्दै हुनुहुन्थ्यो शायद । मेरो बालाई ‘फादर्स डे’ थाह छैन । तर, कुशे औशी थाह छ । वर्षभरिमा १३ ओटा श्राद्ध गर्नु हुन्छ । मलाई अहिलेसम्म कसैको पनि तिथि थाहा छैन । मेरो बालाई सबैको तिथि कण्ठै छ । कुनै डायरीमा नोट गर्नु भएको छैन । वर्षभरि गर्नुपर्ने श्राद्ध, विभिन्न चाडमा गर्नुपर्ने अन्य विभिन्न पूजा पाठका लागि कुश नभई हुन्न ।
मेरो बाले लगाउनु भएको बाँसको झ्याङमा अहिले पनि गाउँभरिका चरा बास बस्छन् । शहरमा बसेकी मेरी छोरीलाई त्यो बाँसको झ्याङमा साँझमा बास बस्नु अघि चरा कराएको आवाज अचम्म लाग्छ ।
यसकारण मेरो बाले चौताराडाँडोमा दुई कान्ला कुश लगाउनु भएको छ । हरेक वर्ष कुशे औंशीको दिन बिहानै नुहाई धुवाई गरेपछि कुश ओखल्नु मेरो बाको नित्य कर्म बनेको छ । कुशे औशीको दिन ओखलेको कुश मात्रै आजापुजाका लागि योग्य हुन्छ । मेरो गाउँमा मेरो बा जस्तै अरु बाहरुले पनि आजकै दिन विधि पु-याएर कुश ओखल्नु हुन्छ ।
हामी गाउँमै जन्मियौ, गाउँमै हुर्कियौ । हामी सानो छँदा फादर्स डे, मदर्स डे केही पनि थाहा थिएन । यति चाँही पक्का हो । कुशे औँशीको दिन घरमा चामलको मात्रै भात पाक्थ्यो (अन्य दिनमा चामलको थोरै, मकैको च्याख्ला धेरै) पकाउने चलन हुन्थ्यो ।’
तर, शहरमा ‘फादर्स र मदर्स डे’ भब्य हुन्छ । हरेक मिठाई पसल र फलफुल पसलमा देखिने भिडले पर्वको भब्यता प्रष्ट पार्छ । अर्को रमाईलो कुरा अलेच शहरमा गुलिया मिठाई कम बिक्री हुने गरेको रहेछ । स्वास्थप्रति सचेतता र शहरमा हुने संक्रमणले सुगरका रोगी बढाउदै लगेको छ । सुगरको प्रभाव मिठाई पसलमा पर्ने गरेको रहेछ । महंगो शुल्क लिएर अंग्रेजीमा पढाउने बोडिङ स्कुललले बुढेशकालका बाआमालाई राम्ररी पाल भनेर सन्देश नदिए पनि ‘फादर्स डे र मदर्श डे’लाई भब्य रुपमा मनाउन सिकाएको छ ।
केही हजुर बाहरुले सोध्छन् पनि ‘यतिका वर्ष काठमाडौँ बसिस्, अझै जायजेथा जोडेको छैनस् ?’ कतिले पैसा कमाउन नसकेकोमा चिन्ता पनि गर्छन् । मलाई मेरो बा यस कारण महान क्रान्तीकारी लाग्छ । आजसम्म मलाई सोध्नु भएको छैन ‘पैसा किन नकमाएको ?’
बाको प्रसंग बाँकी नै छ । उमेरले ७३ हुनु भो मेरो बा । जहाँ जन्मिनु भयो त्यहि हुर्किनु भो र अहिले पनि त्यहि हुनुहुन्छ । ४० वर्ष अघिसम्म नुन , मट्टितेल किन्न ढिकीमा कुटेको चामल बोकेर वर्षको एक पटक काठमाडौं आउनु हुन्थ्यो । पछि भैँसेमा नुन पाइन थाल्यो । काठमाडौ आउनै परेन, भैंसेपछि मलेखु, धादिङवेसी हुँदै अहिले त गाउँमै पाईन्छ किन आउने काठमाडौ ? सामान्य बिरामी हुँदा पनि गाउँमै डक्टर, औषधी र झाँक्री छन् ।
मेरो बा गाउँमै रमाउदाको सर्वोस्व फाइदा लुट्ने मध्ये म एक हुँ । मलाई गाउँको असाध्यै माया लाग्छ । तर, शहरमा अल्झेको मान्छेले गाउँलाई गरेको माया फोस्रो हुँदो रहेछ । साँच्चै भन्ने हो भने अहिले न शहर मेरो भयो न त गाउँनै बाँकी रह्यो ।
तर, पनि म ढुक्क छु । मेरो बा भएकै कारण गाउँमा मेरो घर छ, बारी छ, खेत छ । वल्लो घर पल्लोघर सबथोक छ । बा भएकै कारण मेरो घरमा पाहुना आउँछन्, बास बस्छन् । जोगी आउँछन् भिक्षा माग्छन्, पण्डित आउँछन्, कर्म गर्छन् । बाकै पौरखले गोठमा गाई छ हरेक विहान बेलुका दुध दिन्छ । खोरमा बाख्रा छ हरेक विहान म्याँ गर्दै बिउँझाउँछ । टाँडमा बस्ने खैरे कुकुर मलाई देख्ने बित्तिकै पुच्छर हल्लाउदै बेतोडले आउछ र मेरो छातीमा दुईखुट्टा टेकेर मलाई चाट्छ । बा भएकै कारण मेरो साँध सिमाना र कुलो सुरक्षित छ ।
मेरो बाले लगाउनु भएको बाँसको झ्याङमा अहिले पनि गाउँभरिका चरा बास बस्छन् । शहरमा बसेकी मेरी छोरीलाई त्यो बाँसको झ्याङमा साँझमा बास बस्नु अघि चरा कराएको आवाज अचम्म लाग्छ । ‘यो बाँस चरालाई बास बस्नका लागि बाले लगाउनु भएको ।’ मेरो कुरो सुनेर छोरी अचम्म मान्छे ।
म संगै र म भन्दा केही पछि मेरै गाउँवाट शहर छिरेकाहरु म जस्तै कोही पनि छैन । कसैले काठमाडौमा घर बनाए त कोही चारपाङ्ग्रे निजी गाडी चढेर गाउँ जान्छन् । केही हजुर बाहरुले सोध्छन् पनि ‘यतिका वर्ष काठमाडौ बसिस्, अझै जायजेथा जोडेको छैनस् ?’ कतिले पैसा कमाउन नसकेकोमा चिन्ता पनि गर्छन् । मलाई मेरो बा यस कारण महान क्रान्तीकारी लाग्छ । आजसम्म मलाई सोध्नु भएको छैन ‘पैसा किन नकमाएको ?’
म त मेरै घरमा पर्यटक जस्तै भैसकेँ । मलाई घर जानका लागि ठुलै चाड पर्व आउनु पर्छ । तैपनि म दुई महिनामा एक पटकजसो घर पुगेकै हुन्छु । शहरमा दैनिक नौ घण्टा जति खुट्टालाई मोजाले छोप्ने हुँदा अनुहार गहुँगोरो भए पनि खुट्टा गोरै हुन्छ । जब म घर पुगेर जुत्ता र मोजा खोल्छु । बाले आफुले लगाउनु भएको चप्पलवाट खुट्टा झिक्दै (बाको र मेरो जुत्ता चप्पलको साइज मिल्छ ) भन्नु हुन्छ । ‘यी चप्पल खुट्टा बिझाउछ ।’ साभार राजधानी दैनिकबाट
(लेखक ध्रुर्व लम्साल धादिङ मुरलीभञ्ज्याङका हुनुहुन्छ ।)

