रूढिवाद र उपभोक्तावाद विरुद्ध तीज

Avatar photo
Dhadingpost
भदौ १२, २०७६

कल्पना पौडेल ‘जिज्ञासु’
तीज पर्व ठ्याक्कै यति बेलादेखि सुरु भएको हो भन्ने मिति निर्धारण गर्न सकिँदैन तैपनि यो उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । विशेषगरी तीज भारतभन्दा पनि नेपालमै बढी मनाइने पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउने गर्छन् । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ ।

युगौँदेखि रूढिवाद र अन्धविश्वासले महिलाहरूलाई जकडिरहेको छ । त्यसमाथि पनि नयाँ–नयाँ फेसनहरूका कारण धार्मिक विश्वास बोकेको हिन्दु सांस्कृतिक पर्व तीज झनै महँगो बन्दै गएको छ । यसले भविष्यमा यो पर्वकै कारण नारीहरूले अझै नकारात्मक पीडाहरू भोग्नुपर्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

हिन्दु धर्म, संस्कृति अनि हिन्दु नारीहरूको ताजका रूपमा रहेको हरितालिका तीजमा बिस्तारै पश्चिमा शैली हाबी हुँदै गएको छ । कसैले हेरोस्– नहेरोस्, नाच राम्रो होस्–नहोस सुर न तालका छाडा गीत बजारमा भित्रिएका छन् । हाउभाउ, अभिव्यक्ति शैली मिलो्–नमिलोस्, उफ्रिरहेकै देखिन्छन् । नाच्ने शैलीमा पनि फरकपन आउँदैछ । दर खाने भनेर तीज आउनुभन्दा दुई महिनाअघिदेखि देखासिकी गर्दै ठूलाठूला पार्टी प्यालेसमा तीजको दर खाने परिपाटीले ठाउँ लिइरहेको छ भने सकीनसकी आकाश छुँदो भाउका गरगहनाको तडकभडक देखिनसक्नुको छ ।

धर्म र परम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । तीमध्ये तीज पर्वलाई नेपाली हिन्दु महिलाहरूले एक महान् पर्वका रूपमा मनाउँदै आएका छन् । तीजको अवसर पारी एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, सांस्कृतिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतका रूपमा पोख्ने प्रचलन छ । संस्कार, रीतिरिवाज र संस्कृतिका नाउँमा कतिपय चाडबाडहरूमा वर्चस्व जमाएका प्रचलनहरू रूढिवाद र अन्धविश्वासलाई महिलाहरूमाथि जबर्जस्ती थोपर्ने पुरुषवादी समाजको प्रोपगान्डा मान्न सकिन्छ ।

यसको फलस्वरूप कृष्णअष्टमी, तीज र पञ्चमीको व्रत बस्ने र व्रत बसेमा विवाहित महिलाहरूका श्रीमान्को आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान् पाउनेजस्ता कुसंस्कारबाट नेपाली महिलालाई ग्रसित बनाएएको छ । अर्कोतर्फ तीजलाई माइत जाने, मीठो खाने, राम्रा लुगा र गहना लगाउने चाडका रूपमा पनि हेरिन्छ ।

जसरी पनि मीठो खाने राम्रो लुगा र गहना लगाउनैपर्ने प्रचलनको गलत अर्थ लगाउँदै गरिने तडकभडकका कारण आज समाजमा तीज पर्व विकृतिका रूपमा स्थापित हुनुको प्रमुख कारक बनेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, बर्सौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रतामाथि नै ग्रहण लाग्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

प्रवासमा रहेका नेपाली चेलीहरूले पनि आआफ्नै तरिकाबाट तीज मनाउने गर्छन् । सबै दिदीबहिनी एक ठाउँमा जम्मा हुने र मीठामीठा नेपाली परिकार दरका रुपमा खाने गर्छन् । मातृमूमि र प्रियजनहरुबाट बिछोडिनुको दुःख, पिर र वेदनालाई महिलाहरु गीतका माध्यमबाट पोख्ने गर्छन् । महिलाहरू तीजको दिन रातो सारी र छड्के तिलहरीमा झपक्क गहना लगाएर निकै उत्साहित हुँदै नाच्ने र गाउने गरेको देख्न पाइन्छ । दिदीबहिनीहरू त्यसरी एक ठाउँमा भेला भएर एकआपसमा शुभकामना साटासाट गर्दै खुसी र आत्मीयता बाँडेको देख्दा त्यो कुनै प्रवासको भूमि नभएर हाम्रै मातृभूमि नेपाल नै हो किजस्तो भान हुन्छ ।

त्यस्तै कैयौँ चेलीहरूले प्रवासमा पनि नेपालमा गरिएजस्तै दिनभर पानीको थोपासम्म नपिएर आफ्ना श्रीमान्को लामो आयु तथा कुमारी चेलीले राम्रो जीवनसाथी पाऊँ भनेर व्रत बस्ने चलन छ । अनि दिनभरको व्रत, श्रीमान् सँगै हुनेले बेलुका श्रीमान्को खुट्टा धोएको पानीलाई जल खाएको भन्दै व्रत तोड् नेसम्मको अन्धविश्वास कायमै छ ।

मानिसले मानिसको खुट्टाको पानी खाने यस्तो खराब परम्परा नेपालमा युगौँदेखि चली आएको छ । यसले नार ी–पुरुष समान हौँ भन्ने समानतावादी नारालाई नै ओझेलमा पारिरहेको देखिन्छ भने महिलाहरूको यही अन्धविश्वासले महिलामाथि पुरुष हावी हुने वातावरण निर्माण गरिरहेको छ । तसर्थ यस्ता रूढि र अन्धविश्वासलाई हामी महिलाहरूले नै हटाउनु पर्दछ । आफ्नो हक र अधिकारका लागि आवाज उठाउन अति नै जरुरी छ ।

महिलाहरूले यस चाडलाई पुरानै तरिकाले मनाउनुभन्दा पनि अधिकार प्राप्तिका लागि सहयोगी बनोस् भन्ने उद्देश्य राखेर मानिसमानिसबीचको विभेद, शोषक र शोषितबीचको खाडल, महिला र पुरुबीचको असमानता, महिलामातिको उत्पीडनको अन्त्यका लागि अवसरका रुपमा उपयोग गर्दा उचित हुन्छ । प्रगतिशील महिलाले यस चाडलाई रचनात्मक तरिकाले मनाउनका लागि अधिकतम प्रयत्न गर्नुपर्छ । पञ्चायतकालीन कालरात्रीका समयमा पनि महिलाहरूले यस वर्पलाई पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य गर्न सहयोगी अवसरका रुपमा उपयोग गरेका थिए । माओवादी जनयुद्धको समयमा त रुढि, अन्धविश्वास र जडतामा अधारित धेरै कुसंस्कार महिलाहरुले नै तोडेको गौरवाली इतिहास छ ।

यतिबेला देशमा जताततै बेथिति छ । जनता महँगीको मारले छट्पटाएका छन् । भ्रष्टाचार, लुटतन्त्र, बलात्कार, हत्या र हिंसा मौलाएको छ । चेलीहरु स्वदेश तथा विदेशमा बेचिन बाध्य छन् । नेपाली दाजुभाइ तथा दिदीबहिनी देशमै र विदेशमा पनि कौडीको भाउमा पसिना बेच्न बाध्य छन् । सत्ता, व्यवस्था र सरकारका अत्याचार र विभेदका विरुद्ध आवाज उठाउनेहरुलाई जेल र हिरासतमा कोचिएको छ । सरकारको विरोध गर्नेहरुलाई राजद्रोहीको उपमा दिँदै गोली हानेर मारिएको अवस्था छ । मुलुकको यस्तो भयावह स्थिति रहँदा महिलाहरूका गीत र नृत्यले यी सन्दर्भहरूलाई उठान गर्नु आवश्यक छ । केवल छाडा शैलीका गीत, नाचहरू, व्यक्तिगत लाभ, आकाङ्क्षा र कसैका भजनकीर्तनहरू गाउने अवस्था यो होइन !

पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनपछि महिलाहरूका पक्षमा केही उपलब्धिहरू प्राप्त भए पनि सत्ताको स्वेच्छाचारी र तानाशाह कदमले ती खासिँदै गएको अवस्था छ । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने, थप प्राप्तिका लागि जनक्रान्तिमा लामबद्ध हुनुपर्ने आवश्यकता छ । जेजति अधिकार कागजमा सीमित छन्, नेपाली महिलाहरूले त्यसको समेत उपभोग गर्न पाएका छैनन् । ती अधिकारहरूलाई व्यवहारमा लागू गर्न, थप उपलब्धिहरु हासिल गर्न र परम्परावादी समाजलाई चुनौती दिनका लागि सीमित उपलब्धिहरूको संरक्षण र उपभोग गर्दै थप हकअधिकार सुनिश्चितताका लागि सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्छ । त्यसले नै नेपाली महिलाहरूले मनाउने तीज पर्वलाई मात्र नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ आयाम दिनेछ ।

आफ्नो लोकसंस्कृतिको जगेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलाको रूपमा लिनुपर्छ । चाडपर्वका नाममा अस्वस्थ प्रतिस्पर्धा, अश्लीलता प्रदर्शन, महँगा गरगहना र लत्ताकपडाको होडबाजी गरेर तीजलाई विकृतिका रुपमा मनाउँनु हुँदैन । तीज पर्वले बोकेको रूढिवादी परम्पराका विरुद्धमा सङ्घर्ष गर्दै सामन्ती पुरुषप्रधान सामाजिक संरचना र उपभोक्तावादी पुँजीवादी अश्लीलता र छाडापनका विरुद्ध आन्दोलनका रूपमा यस चाडलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।