
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका निवासी डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक्लै करिब दुई तिहाइ बहुमत रहेको कारण विपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेपछि अर्याल निर्विरोध रूपमा सभामुख चयन भएका हुन् ।
अर्याल यसअघि वि.सं. २०७९ माघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा करिब २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । उनी वि.सं. २०७९ को निर्वाचनमा खस आर्य समूहबाट समानुपातिक प्रतिनिधिका रूपमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
यसैबीच, सभामुखमा चयन भएसँगै अर्यालले रास्वपाको उपसभापति तथा साधारण सदस्य पदबाट राजीनामा दिएका छन् ।
अर्याल दुई पटक श्रममन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । जेनजी आन्दोलनपछि संसद् विघटनपश्चात् घोषित फागुन २१ को निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नं. ९ बाट विजयी हुँदै प्रतिनिधि सभामा प्रवेश गरेका थिए ।
नवनिर्वाचित सभामुख अर्यालको कार्यकालबाट संसदीय अभ्यास थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
