आजबाट एसईई २०८२ सुरु, धादिङबाट ५,०४६ विद्यार्थी सहभागी

Avatar photo
Dhadingpost
चैत्र १९, २०८२

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ आजबाट सुरु भएको छ। धादिङ जिल्लाबाट कुल ५ हजार ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षा सम्बन्धी तथ्यांकअनुसार नियमिततर्फ साधारण धारका ४ हजार ९५ जना र प्राविधिक धारका १ सय ५१ जना गरी जम्मा ४ हजार २ सय ४६ जना विद्यार्थी परीक्षा दिँदैछन् । यस्तै, ग्रेड वृद्धितर्फ ८ सय जना परीक्षार्थी सहभागी भएका छन् ।

यसरी नियमित र ग्रेड वृद्धितर्फका गरी कुल ५ हजार ४६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका हुन् ।

गत वर्ष धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र निजी २ वटा विद्यालयबाट विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए । त्यसबेला नियमिततर्फ ४ हजार ३ सय ४७ जना, प्राविधिकतर्फ १ सय ६४ जना, ग्रेड वृद्धितर्फ ९ सय ३२ जना र खुल्लातर्फ ३२ जना गरी जम्मा ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी भएका थिए ।

गत वर्षको एसईई परीक्षामा धादिङबाट ९ जना विद्यार्थीले ४.०० जीपीए ल्याउन सफल भएका थिए ।