
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीक्षा बैठक गजुरी मा सम्पन्न भएको छ।
बैठकमा उठेका विभिन्न विषयहरूमाथि प्रतिक्रिया दिँदै नेकपाका वरिष्ठ नेता राजेन्द्र पाण्डे र शालिकराम जम्कट्टेल ले कार्यकर्ताहरूलाई निर्वाचन परिणामबाट निराश नहुन आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई नयाँ ढंगले पुनर्गठन तथा सुदृढीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा सहभागी दीपक लामिछाने (सुबोध) का अनुसार नेताद्वयले जनताको मन जित्ने गरी संगठन निर्माणलाई प्राथमिकतामा राखिने बताएका थिए ।
बैठकले पालिकादेखि वडा तहसम्म समीक्षा गर्ने, कार्यकर्ताहरूको सुझाव संकलन गर्ने र त्यसका आधारमा आगामी योजना तय गर्ने निर्णय समेत गरेको बताइएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ निकटतम प्रतिस्पर्धीभन्दा २४,०९७ मतान्तर सहित विजयी थिईन् । तामाङले ३९,१२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका भूमी त्रिपाठी ले १५,०३१ मत प्राप्त गरेका थिए, भने नेकपाका राजेन्द्र प्रसाद पाण्डेले १४,७०९ मत ल्याएका थिए ।
