धादिङमा ७ वर्षदेखि अलपत्र पुल: त्रिशूली नदीमाथिको १७ करोडको योजना अझै अधुरो

Avatar photo
Dhadingpost
चैत्र ६, २०८२

धादिङ । त्रिशूली नदीमाथि निर्माण हुने भनिएको पक्की पुल सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी आक्रोशित बनेका छन् । बेनिघाटरोराङ गाउँपालिका–३ मलेखु रातमाटे र सिद्धलेक गाउँपालिका–४ आरुबासटार जोड्ने उक्त पुल हालसम्म प्रारम्भिक चरणमै अलपत्र परेको छ ।

पुल सेक्टर काठमाडौंले २०७७ जेठ २६ भित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७५ जेठ २७ मा महावीर–नीलकण्ठगिरी–नेशनल जेभीसँग ठेक्का सम्झौता गरेको थियो । करिब १७ करोड ११ लाख रुपैयाँ लागतमा तीन स्पानसहित १४० मिटर लामो पुल निर्माण गर्ने योजना थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म उल्लेखनीय प्रगति हुन सकेको छैन।

  • आरुबासटारतर्फ जग पुरिएको अवस्था
  • नदीको बीचका दुई पिलर निर्माण सुरु नै नभएको
  • मलेखुतर्फ आंशिक संरचना मात्र तयार

सिद्धलेक–४ का पूर्व वडा अध्यक्ष रामहरी बराकोटीका अनुसार “सात वर्षमा पनि पुलको काम अघि बढ्न सकेको छैन।”

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गरिएको थियो। पछिल्लो पटक २०८१ असार ३० सम्म समय दिइएको भए पनि काममा कुनै सुधार देखिएको छैन।

पुल सेक्टर काठमाडौंका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार म्याद सकिइसकेको छ र निर्माण कम्पनीले अपेक्षित रूपमा काम गर्न सकेको छैन।

स्रोत: सिताराम अधिकारी / नेपाल समाचार