‘न्यूनतम रोजगारी’ कार्यक्रम के हो ? धादिङका स्थानीय तहले आवेदन मागे, कस्तो काम गर्नुपर्छ ?

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०८२

धादिङ । धादिङसहित देशभरका स्थानीय तहहरूले यो साता ‘न्यूनतम रोजगारी’ कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकबाट आवेदन मागेका छन् । स्थानीय तहले बेरोजगार नागरिकको विवरण संकलन गर्न आवेदन आह्वान गरेका हुन् ।

न्यूनतम रोजगारी कार्यक्रम नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजना हो । यसको मुख्य उद्देश्य बेरोजगार नागरिकलाई कम्तीमा वर्षमा १०० दिनसम्म रोजगारीको अवसर उपलब्ध गराउनु हो ।

कसले पाउँछन् न्यूनतम रोजगारी ?
यो कार्यक्रममा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिक सहभागी हुन सक्छन् । आवेदन दिएका व्यक्तिहरूलाई स्थानीय तहले बेरोजगार सूचीमा सूचीकृत गर्छ र आवश्यकता अनुसार ती व्यक्तिलाई सार्वजनिक काममा लगाउने व्यवस्था हुन्छ ।

कस्ता काम गर्नुपर्छ ?
न्यूनतम रोजगारी कार्यक्रम अन्तर्गत प्रायः स्थानीय स्तरका सार्वजनिक काम गराइन्छ, जस्तैः

  • ग्रामीण सडक मर्मत तथा सरसफाइ
  • नाला तथा पानी निकास व्यवस्थापन
  • वृक्षारोपण तथा वातावरण संरक्षण
  • सार्वजनिक स्थान तथा सामुदायिक संरचना संरक्षण
  • सिँचाइ तथा साना पूर्वाधार निर्माण

यी कामका लागि कामदारलाई सरकारले तोकेको दैनिक ज्याला अनुसार पारिश्रमिक प्रदान गरिन्छ ।

१०० दिन काम नपाए के हुन्छ ?
कार्यक्रमको लक्ष्य वर्षमा १०० दिनसम्म रोजगारी उपलब्ध गराउनु भए पनि सबै स्थानमा पर्याप्त काम नहुन सक्छ । यस्तो अवस्थामा, सरकारले तोकेको मापदण्ड अनुसार काम नपाएको दिनको क्षतिपूर्ति स्वरूप भत्ता दिने व्यवस्था पनि रहेको छ ।

सरकारले यो कार्यक्रममार्फत स्थानीय स्तरमा बेरोजगार समस्या कम गर्ने, नागरिकलाई न्यूनतम आम्दानीको अवसर दिने र साना पूर्वाधार निर्माणमार्फत स्थानीय विकासलाई टेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

धादिङका स्थानीय तहहरूले अहिले बेरोजगार नागरिकको विवरण संकलन गर्दै आवेदन मागिरहेका छन् । इच्छुक नागरिकले आफ्नो स्थानीय तहमा आवेदन दिन सक्नेछन् ।