
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दसौँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी २० राष्ट्रलाई कुल ११.२५ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६५ करोड रुपैयाँ) पुरस्कार रकम वितरण गरेको छ। प्रतियोगितामा सहभागिता र टोलीको प्रदर्शनका आधारमा पुरस्कार रकम वितरण गरिएको आईसीसीले जनाएको छ।
यस संस्करणमा तेस्रो पटक विश्वकप जितेको भारतले सबैभन्दा धेरै २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ। त्यस्तै उपविजेता बनेको न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर पाएको छ।
यसैगरी दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ अमेरिकी डलर तथा इंग्ल्यान्डले ९ लाख ७४ हजार ४२३ अमेरिकी डलर पुरस्कार रकम हात पारेका छन्। अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार रकम वृद्धि गरिएको आईसीसीले जनाएको छ।
खेलाडीलाई रकम कसरी वितरण हुन्छ ?
आईसीसीले प्रतियोगितामा सहभागी २० राष्ट्रका सम्बन्धित क्रिकेट बोर्डलाई पुरस्कार रकम पठाउनेछ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले बोर्ड बैठकबाट खेलाडीलाई कति रकम दिने भन्ने निर्णय गर्नेछ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आईसीसीबाट रकम प्राप्त भएपछि बोर्ड बैठक बसेर खेलाडीलाई दिने रकमबारे निर्णय गरिनेछ।
आईसीसीको नियम अनुसार विश्वकपमा सहभागी प्रत्येक टोलीलाई न्यूनतम २ लाख २५ हजार अमेरिकी डलर प्रदान गरिन्छ। त्यसपछि टोलीले हासिल गरेको स्थान, जितेको खेल र पुगेको चरणका आधारमा थप बोनस रकम प्रदान गरिन्छ।
