रोजगारीका लागि आवेदन दिन बेनिघाट रोराङको आह्वान

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०८२

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले न्यूनतम रोजगारी कार्यक्रममा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको रोजगारीको हक कार्यान्वयन गर्न लागू भएको रोजगारीको हक सम्बन्धी ऐन २०७५, सो सम्बन्धी नियमावली तथा राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ बमोजिम आगामी आर्थिक वर्षका लागि न्यूनतम रोजगारीमा सहभागी हुन आवेदन दिन आग्रह गरेको हो ।

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका इच्छुक बेरोजगार व्यक्तिहरूले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गई आवेदन दिन सक्नेछन् ।

सूचनाअनुसार इच्छुक व्यक्तिहरूले २०८२ साल चैत मसान्तसम्म वडा कार्यालयमा गई स्वीकृत बेरोजगार निवेदन फाराम भरी आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ ।

आवेदन दिनका लागि निम्न कागजात आवश्यक पर्ने गाउँपालिकाले जनाएको छः

  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको फोटो
  • परिवारका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  • स्थायी बसोबास नभएको अवस्थामा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • सीपसम्बन्धी कुनै प्रमाणपत्र भए त्यसको प्रतिलिपि

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलद्वारा जारी सूचनामा बेरोजगार व्यक्तिहरूलाई रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले आवेदन आह्वान गरिएको उल्लेख गरिएको छ ।