
नातिबाबु भट्ट, कोलोराडो (अमेरिका) ।
अमेरिकाको कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी समुदायले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव तथा असत्य माथि सत्यको विजयको सन्देश दिने होली पर्व हर्षोल्लासका साथ मनाएका छन्।
नेपालीहरूको साझा संस्था Nepali Ghar को आयोजनामा तथा यहाँ क्रियाशील विभिन्न संघ–संस्थाको सहभागितामा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Nepali Cultural Center Colorado मा आयोजित कार्यक्रममा सहभागीहरूले एक–आपसमा रङ दलेर तथा शुभकामना आदान–प्रदान गर्दै होली मनाएका हुन्।
कार्यक्रमको प्रारम्भमा पण्डित जीवन बराल गुरुले विधिवत पूजा सम्पन्न गरी होली पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए। त्यसपछि प्रसाद वितरण गरिएसँगै एक–आपसमा रङ लगाउने कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा कोलोराडोमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, व्यवसायी, पत्रकार तथा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। साथै The Voice of Nepal का प्रस्तोता सुशील नेपाल पनि कार्यक्रममा सहभागी भएका थिए।
नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा भेला भएका सहभागीहरू हातमा विभिन्न रङ लिएर डिजे संगीतमा नाच्दै–गाउँदै एक–आपसमा रङ लगाउन व्यस्त देखिन्थे। होली गीतको तालमा रमाइरहेका सहभागीहरूलाई देख्दा विदेशमा रहे पनि नेपालीहरूले आफ्नो भाषा, संस्कृति र चाडपर्वको संरक्षणमा विशेष चासो देखाएको स्पष्ट देखिन्थ्यो।
कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले उपस्थित सबैलाई स्वागत गर्दै नेपाली भाषा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई यसको पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। आफ्नै भवनमा कार्यक्रम गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूलाई प्रसाद स्वरूप जेरी, पुरी र तरकारी वितरण गरिएको थियो। साथै इच्छुक सहभागीहरूका लागि नेपाली घरको लोगो अंकित सेतो टिसर्ट नेपाली सांस्कृतिक केन्द्रलाई सहयोगस्वरूप १० डलरमा उपलब्ध गराइएको थियो।
नेपालमा फागुन शुक्ल अष्टमीका दिन Hanuman Dhoka Durbar Square क्षेत्रमा चिर गाडेपछि विधिवत रूपमा होली सुरु भएको मानिन्छ। पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ।
होली नेपालसहित भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायत विभिन्न देशहरूमा बसोबास गर्ने नेपालीहरूले मनाउँदै आएका छन्। हिन्दु धार्मिक मान्यताअनुसार दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले होलिकासँग आगोमा बस्न लगाउँदा होलिका भष्म भई प्रह्लाद सुरक्षित रहेको घटनाको सम्झनामा होली मनाउने परम्परा रहेको छ।
यसैगरी हिन्दु परम्पराअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने चलन रहिआएको छ।

