
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज इटलीसँग बिहीबार, दिउँसो ३:१५ बजे प्रतिस्पर्धा गर्दैछ। १३ वर्षपछि नेपाल र इटलीबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा भेट हुन लागेको हो।
नेपाल र इटलीबीच अहिलेसम्म आधिकारिक टी–२० अन्तर्राष्ट्रिय (T20I) खेल भएको छैन। सन् २०१३ मा आईसीसी डिभिजन–३ प्रतियोगिताअन्तर्गत फरक फर्म्याटमा नेपाल र इटली भिडेका थिए।
जारी विश्वकपमा दुबै टोली पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्। नेपाल आफ्नो पहिलो खेलमा ४ रनको साँघुरो हार बेहोरेको थियो भने इटली पनि पहिलो खेलमा पराजित भएको छ। आजको खेल जित्ने टोलीले सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्नेछ।
नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जित हासिल गरेपछि टी–२० विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन। त्यसैले आजको खेल नेपालका लागि त्यो लामो हारको सिलसिला तोड्ने सुनौलो अवसर हुनेछ।
आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा इटली हाल २७औं स्थानमा रहेको टोली हो। कागजी रूपमा नेपाल बलियो देखिए पनि विश्वकपमा हरेक खेल चुनौतीपूर्ण हुने भएकाले आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
नेपाली क्रिकेट समर्थकहरू आजको खेलमा ऐतिहासिक जितको आशामा छन्।
