
धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुबीभ्याली गाउँपालिकाको निर्वाचन परिचालन समितिको पहिलो पूर्ण विस्तारित बैठक सम्पन्न भएको छ।
नेकपा केन्द्रीय सदस्य जगत सिम्खडाको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सदस्य एवं जिल्ला इन्चार्ज मिम्बा तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य विजय बुर्लाकोटी विशेष अतिथिका रूपमा सहभागी थिए।
बैठकमा जिल्ला सदस्य करिमान तामाङ, रिकमान तामाङ लगायत पत्रकार, पालिकास्तरीय तथा वडास्तरीय जिम्मेवार नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकले तत्कालै रुबीभ्याली गाउँपालिकाका ६ वटा वडामा वडा कमिटी बैठक सञ्चालन गर्ने, उम्मेदवारको घरदैलो कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै निर्वाचन परिचालन समितिअन्तर्गत विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको जनाइएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण र जनसम्पर्कलाई तीव्र बनाउने रणनीति अघि सारेको नेताहरूले बताएका छन्।
