
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाका उम्मेदवार राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी अनुभव र विकाससँग जोडिएको बताएका छन्।
बुधबार सिद्धलेक गाउँपालिकामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २०६४ सालको निर्वाचनबाहेक आफू हरेक निर्वाचनमा विजयी हुँदै आएको स्मरण गराउँदै यसपटक पनि फराकिलो मतान्तरसहित जित्ने लक्ष्यसहित चुनावी मैदानमा रहेको बताए।
पाण्डेले विपक्षीहरूले आफ्नो विरुद्ध भ्रम फैलाइरहेको आरोप लगाउँदै भने,
“जनतालाई पटक–पटक राजेन्द्र पाण्डेलाई किन भोट हाल्ने भनेर भ्रम छर्ने काम भइरहेको छ। तर आज धादिङमा देखिएको विकास—सडक सञ्जालको विस्तार, कालोपत्रे योजना, धुनिबेसीमा निर्माण भएको रंगशाला लगायतका उपलब्धि कसले सम्भव बनायो ?”
उनले धुनिबेसीमा रंगशाला निर्माण भइसकेको र अब क्रिकेट रंगशालाको काम अघि बढ्ने बताए। साथै अझै धेरै बहुउद्देश्यीय विकास परियोजना बाँकी रहेको उल्लेख गर्दै आफू कानुन निर्माण र संविधान संशोधनका लागि स्पष्ट दृष्टिकोण बोकेको नेता भएको दाबी गरे।
“यी कुरा जनतासमक्ष पुर्याउने जिम्मेवारी तपाईं कार्यकर्ताहरूको हो,” उनले भने।
कार्यक्रमका विशेष अतिथि तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङका दुवै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित गर्न कार्यकर्तालाई ढुक्क नबस्न आग्रह गरे। उनले जनताको घर–घर पुगेर नेकपाको चुनाव चिह्न तारा मा भोट माग्न सबैलाई आह्वान गरे।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री जम्कट्टेलले पार्टीभित्र विचारको बहस हुनु स्वाभाविक भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रम र अफवाहलाई नपत्याउन आग्रह गरे।
“समिक्षा चुनावपछि निर्मम रूपमा गरौँला, तर अहिले सबै नेता र कार्यकर्ता नेकपालाई जिताउने अभियानमा एकताबद्ध हुनुपर्छ,” उनले भने।
