
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की ‘घण्टी’ चुनाव चिह्न वहाक उम्मेदवार आशिका तामाङले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छिन्।
यसैक्रममा उम्मेदवार तामाङले धुनिबेसी नगरपालिका–२ स्थित महेश फाँटमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छिन्। धुनिबेसीलाई रास्वपाको एक महत्वपूर्ण केन्द्र (इपी सेन्टर)का रूपमा विकास गर्ने उद्देश्यसहित वडा नम्बर १ मा कार्यालय सञ्चालनमा ल्याइएको रास्वपा नेताहरूले बताएका छन्।
सामाजिक अभियन्ताका रूपमा परिचित तामाङले स्थानीय मुद्दा, सुशासन, पारदर्शिता र युवाको सहभागितालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै घरदैलो तथा टोलस्तरीय अभियानलाई व्यापक बनाएकी छिन्।
धादिङ–१ मा उनले नेकपाका राजेन्द्र पाण्डे र नेकपा एमालेका भूमी त्रिपाठी जस्ता अनुभवी तथा हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छिन्। यद्यपि, नयाँ सोच र परिवर्तनको चाहना बोकेर मैदानमा उत्रिएकी तामाङले मतदातामाझ उत्साहजनक समर्थन पाउँदै गएको रास्वपा कार्यकर्ताहरूको दाबी छ।
सम्पर्क कार्यालय उद्घाटनसँगै धुनिबेसी क्षेत्रमा रास्वपाको संगठन विस्तार र चुनावी गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।
