धादिङ महोत्सवमा झार्लाङको आलु र फर्सीको आकर्षण

Avatar photo
Dhadingpost
माघ १७, २०८२

धादिङ । दशौं धादिङ महोत्सव धादिङबेसीमा माघ १५ गतेदेखि जारी छ। महोत्सवले स्थानीय कृषि तथा घरेलु उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ।

महोत्सवको तेस्रो दिन (आज)देखि उत्तरी धादिङको झार्लाङबाट ल्याइएका आलु, फर्सी, सेतो मकै, कोदो, जौलगायतका खाद्य सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। यसअघि सल्यानटारको मास (भटमास) प्रदर्शनी तथा बिक्रीले दर्शकको ध्यान तानेको थियो भने अहिले झार्लाङका उत्पादनहरू पनि उत्तिकै आकर्षणको केन्द्र बनेका छन्।

उत्तरी धादिङको लेकाली भेगमा उत्पादन भएका आलु तथा अन्य कृषि सामग्रीहरू आड्रा नेपाल र प्रयास नेपालद्वारा सञ्चालित ‘RELIEF परियोजना’ अन्तर्गत महोत्सवमा ल्याइएको हो। यी उत्पादनहरू स्टल नम्बर १९ बाट प्रदर्शनीसँगै बिक्रीसमेत भइरहेको छ।

झार्लाङ उत्पादित आलु प्रतिकिलो ७० रुपैयाँ, सेतो मकै र कोदो प्रतिकिलो ६५ रुपैयाँ, फर्सी ३० रुपैयाँ तथा काउली प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको आयोजकले जनाएका छन्।

महोत्सवमा झार्लाङका कृषि उत्पादनसँगै सल्यानटारको मास, मण्डली मौरी फार्मको शुद्ध मह, ज्वालामुखीको दुना–टपरी, स्थानीय रूपमा बनाइएका फलामका औजार, काठका ठेकी, मादल, गल्छीको खुवा, खरीको खरि, पिँडालु तथा विभिन्न जडीबुटीहरू पनि बिक्री तथा प्रदर्शनीमा राखिएका छन्।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउने माध्यमका रूपमा धादिङ महोत्सव प्रभावकारी बन्दै गएको छ।

महोत्सव माघ २५ गते सम्म चल्ने छ ।