भरोसाको नामः रमेश धमला

Avatar photo
Dhadingpost
माघ ८, २०८२

गोरो वर्ण, खिरिलो ज्यान, सरदर नेपाली उचाइ र सधैँ हँसिलो अनुहार। यिनै बाह्य विशेषताले पहिलो दृष्टिमै चिनाउँछन् उनलाई। तथापि देखिने सतहभन्दा निकै गहिरो छ उनको वास्तविक पहिचान। उनको उपस्थितिले मात्र होइन, शब्दको धार र विचारको गहिराइले पनि भीडमा उनी अलग रूपमा चम्किन्छन्। स्पष्ट र प्रभावशाली अभिव्यक्तिले भरिएको प्रखर वक्तृत्व कला उनका व्यक्तित्वको सबैभन्दा पृथक चिनारी हो, जसले सुन्नेलाई मन्त्रमुग्ध बनाउँछ। ‘कर्मले नै मान्छे चिनिन्छ’ भनेझैँ शब्दलाई विचारमा, विचारलाई विश्वासमा रूपान्तरण गर्ने क्षमता उनको जन्मजात कला हो।

एक पर्यटन व्यवसायी र राजनीतिकर्मीका रूपमा परिचित उनी अनुशासन, लगनशीलता र निर्भीकताका प्रतीक हुन्। कामप्रतिको निष्ठा, विचारप्रति स्पष्टता र निर्णयमा दृढता उनका आधार स्तम्भ हुन्। उनी व्यवसाय र राजनीतिलाई सन्तुलित रूपमा अघि बढाउँछन्; किन्तु कार्य मात्र होइन, उनी उद्देश्यसहित जीवन बाँच्न, कर्मलाई परिचय बनाउन र जिम्मेवारीलाई सम्मान गर्न विश्वास गर्छन्। यही संयम, प्रतिबद्धता र जोशले चरित्रपूर्ण, बहुआयामिक, सशक्त र जनमुखी व्यक्तित्वको नाम हो— रमेश धमला।

उनी वि.सं. २०२३ असोज १५ गते धादिङ जिल्लामा जन्मी हाल निलकण्ठ नगरपालिका–१३, बीपी गाउँमा बसोबास गर्दै आफ्नो जीवनलाई राजनीति र व्यवसाय दुवै क्षेत्रमा सक्रिय रूपमा अघि बढाइरहेका छन्।

विद्यार्थी जीवनमै राष्ट्र र समाजप्रतिको गहिरो दायित्वबोधले संगठित राजनीतितर्फ आकर्षित गर्‍यो रमेश धमलालाई। २०३७ सालमा नेपाल विद्यार्थी संगठनमा आबद्ध भई उनले राजनीतिक यात्राको औपचारिक सुरुवात गरे। त्यसको एक वर्षपछि २०३८ सालमा स्ववियु सचिव पदमा निर्वाचित हुनु उनको नेतृत्व क्षमता, संगठनप्रतिको निष्ठा र विद्यार्थीहरूमाझको विश्वासको प्रतिफल थियो। यसरी प्रारम्भ भएको राजनीतिक यात्रा आजपर्यन्त जनताको सेवा र उत्तरदायित्वको प्रतिबद्धतामा निरन्तर सशक्त रूपमा अघि बढिरहेको छ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका धमला व्यावसायिक क्षेत्रका पनि सफल अगुवा हुन्। सैद्धान्तिक ज्ञान र व्यावहारिक राजनीतिलाई सन्तुलित रूपमा प्रयोग गर्ने क्षमता उनको राजनीतिक पहिचानको महत्वपूर्ण पक्ष हो। उनी संवाद, सहमति र संगठनात्मक अनुशासनमा विश्वास गर्ने नेतृत्वका रूपमा स्थापित छन्। सन् १९९६ मा ट्रेकिङ व्यवसायमा प्रवेश गरी उनले नेपालको पर्यटन उद्योगलाई नजिकबाट बुझ्ने अवसर पाए। भनिन्छ— जसले जमिन चिन्छ, त्यसले अवसर पनि चिन्छ। प्राकृतिक सम्पदा र पर्यटन सम्भावनाको सदुपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सकिन्छ भन्ने सोचले उनी यस क्षेत्रमा सक्रिय भए। समयक्रममा उनले ट्रेकिङ व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेले। रमेश धमला— जसको नाम सुनिँदा मात्र पनि नेपालको पर्वतीय पर्यटनको चित्र आँखामा उभिन्छ।

यसैक्रममा सन् २०१३ मा उनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा निर्वाचित भएर पर्यटन व्यवसायीका समस्या, नीतिगत सुधार र श्रमिक अधिकारका विषयमा सशक्त आवाज उठाए। राजनीति र व्यवसायलाई विरोधाभासीका रूपमा नभई परस्पर पूरक क्षेत्रका रूपमा बुझ्ने दृष्टिकोणले उनी जिम्मेवार राजनीतिक चिन्तन भएका सफल व्यवसायीका रूपमा स्थापित भए। यस अनुभवले उनलाई जनताको आवश्यकता बुझ्ने, रणनीतिमा स्पष्ट र कार्यमा प्रभावकारी नेता बनाएको छ— त्यस्ता नेता, जसले समाज र राष्ट्रको सेवा सर्वोपरि ठान्छन्।

‘टान’ को अध्यक्ष रहेका बेला धादिङको ३,८५० मिटर उचाइमा अवस्थित पाङसाङ पासमा एउटा टी–हाउस र त्यसैमा डाँडामा चौतारो निर्माण गर्न सफल भए। यस कार्यले धादिङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍यायो। यद्यपि दुई वर्षको छोटो कार्यकालमा उनले चाहेका सबै योजनाहरू पूरा गर्न असम्भवप्रायः थियो।

उनका दृष्टिमा धादिङका प्रख्यात कालो दह, निलो दह जस्ता पवित्र ताल–तलैयाहरूलाई रुबी भ्याली विकास परियोजनामा समेट्नु अत्यावश्यक छ। त्यहाँसम्म पुग्न केबलकारको व्यवस्था भए नपोलका पर्यटकहरूको पहुँच सहज हुने र पर्यटन प्रवर्द्धनमा थप गति मिल्ने उनको धारणा छ। साथै, गणेशहिमाल ४ अर्थात् पालल्दोर पिकको हाइक्याम्पलाई अन्तर्राष्ट्रिय माउन्टेन हबको रूपमा विकास गर्न सकिने सम्भावना उनले औँल्याउँछन्।

धादिङ तामाङ समुदायको बाहुल्य क्षेत्र हो र सेर्तुङलाई तामाङहरूको उत्पत्ति स्थल मानिन्छ। यति धेरै सांस्कृतिक धरोहर भएको ठाउँमा तामाङ संस्कृति झल्किने एक म्युजियम नहुनुलाई उनी विडम्बना मान्छन्। रमेश धमला यी सम्भावनाहरूलाई पहिचान गर्दै, धादिङको पर्यटन र सांस्कृतिक सम्पदालाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सपना राख्छन्।

एउटा व्यक्तिले राजनीतिमा आफूलाई पूर्ण रूपमा समर्पण गर्नका लागि दुई मुख्य पक्ष आवश्यक पर्छन्— समयको स्वतन्त्रता (टाइम्ली) र आर्थिक आत्मनिर्भरता (फाइनान्सियली)। रमेश धमला यी दुवै पक्षलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सक्ने नेता हुन्। योजनाबद्ध ढङ्गले समयको सदुपयोग गर्ने क्षमताले उनलाई राजनीति र व्यवसाय दुवै क्षेत्रमा सक्रिय रहन सक्षम बनाएको छ।

काठमाडौँस्थित आफ्नै व्यावसायिक कार्यालयमा व्यस्त रहने धमला धेरैजसो समय धादिङका कुना–कन्दरामा पुगेर जनतासँग प्रत्यक्ष संवादमा जुटिरहेका हुन्छन्। सहर र गाउँ, सुविधा र अभाव— यी दुवै यथार्थलाई नजिकबाट बुझेका धमला जनताको घरदैलोमै पुगेर दुःख–सुख साटासाट गर्ने जनमुखी नेताका रूपमा परिचित छन्। यसले पुष्टि गर्छ— उनी भाषणमा सीमित राजनीतिकर्मी होइनन्, व्यवहारमा सधैँ जनतासँग जोडिएका जनताका सच्चा सहयात्री हुन्।

राजनीतिमा उनका मूल्य हुन्— सत्ता साधन, सेवा लक्ष्य र जनविश्वास सबैभन्दा ठूलो शक्ति।

राजनीतिक रूपमा उनी निरन्तर जिम्मेवारी लिएर खारिएका छन्। नेपाली काँग्रेस पार्टीको नवौँ महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय छन्। साथै, वि.सं. २०६२ सालदेखि पार्टीको विदेश विभागका सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका उनले अन्तर्राष्ट्रिय सम्बन्ध र प्रवासी नेपालीसँग पार्टीको सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका छन्। यति मात्र होइन, उनी नेपाली काँग्रेस धादिङका सभापतिको भूमिका पनि निर्वाह गरिसकेका छन्। हालै सम्पन्न दसौँ विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गर्नु उनको अनुभव, निष्ठा र संगठनप्रतिको भरोसाको प्रतिफल नै हो।

यसरी राजनीति र व्यवसायलाई समानान्तर रूपमा अघि बढाउँदै, समय व्यवस्थापन, आर्थिक आत्मनिर्भरता र जनसम्पर्कलाई प्राथमिकता दिने रमेश धमला आधुनिक सोच भएका व्यवहारिक र जिम्मेवार राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

गाउँ होस् वा शहर, आजको समय सुविधा र प्रविधिले भरिएको छ; तर त्यसैसँगै मानिसभित्रको आत्मीयता र आत्मसंवाद क्रमशः कमजोर हुँदै गएको यथार्थ पनि छ। बाहिरबाट सम्पन्न देखिने जीवनभित्र थकान, असन्तुलन र अर्थको खोज लुकेको हुन्छ। यस्तो परिवेशमा जीवन केवल दैनिक क्रियाकलापको निरन्तरता होइन, परिवर्तनको तीव्र धारभित्र पनि मानवीय मूल्य र उद्देश्य पहिचान गर्ने सचेत यात्रा हो।

यही यथार्थबीच रमेश धमलाको जीवन–दृष्टि राजनीतिक चेतनाबाट निर्देशित देखिन्छ। उनका लागि जीवन व्यक्तिगत उपलब्धि वा सुख–सुविधाको सीमामा बाँधिने विषय होइन; यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको सम्भावनाको यात्रा हो। उनी जीवनलाई सङ्घर्षसँग जोडेर व्याख्या गर्छन्— त्यस्तो सङ्घर्ष, जहाँ सपनाहरू कल्पनामा सीमित हुँदैनन्; सपना नीति बन्छ, नीतिहरूले कार्यको रूप लिन्छन् र ती ठोस कार्यमार्फत जनताको भविष्य निर्माण हुन्छ। यस अर्थमा जीवन उनका लागि सक्रिय सहभागिता र परिवर्तनप्रतिको दृढ प्रतिबद्धता हो।

सर्वमान्य अर्थमा राजनीति भनेको राज्यसत्ता, नीति–निर्माण र सार्वजनिक हितसँग सम्बन्धित सामूहिक निर्णयको प्रक्रिया हो, जसको उद्देश्य समाजलाई न्यायपूर्ण, व्यवस्थित र समुन्नत दिशातर्फ लैजानु हो। तथापि नेपालको सन्दर्भमा राजनीति प्रायः यस्तो कला बनेको छ, जहाँ आश्वासन बीउझैँ छरिन्छन्, तर फसल सधैँ सत्ताको आँगनमा पाक्छ। यही विसङ्गत यथार्थबीच रमेश धमलाको राजनीतिक चेतना पृथक देखिन्छ। उनका लागि राजनीति सत्ता प्राप्तिको खेल होइन, जनताको जीवन परिवर्तन गर्ने साधना हो।

राजनीतिलाई सेवा ठान्छन्— रमेश धमला। उनको बुझाइमा राजनीति कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थको माध्यम होइन; समाजको रूपान्तरणलाई जनता र देशको केन्द्रमा राखेर निरन्तर गरिरहने जिम्मेवार अभियान हो। सामाजिक न्याय, समावेशिता र दीगो विकासजस्ता मूल्य व्यवहारमा उतार्न निरन्तर प्रयत्न गर्नु नै उनको राजनीतिक दर्शनको मूल आधार हो; जहाँ सत्ता साधन हो, सेवा लक्ष्य।

समाजको रूपान्तरण र कुनै पनि दृष्टिकोणलाई व्यवहारमा उतार्न राज्यसत्ताको आवश्यकता पर्छ भन्ने यथार्थलाई बुझेर रमेश धमला राजनीतिमा होमिएका हुन्। तर सत्ता उनको लागि अन्तिम लक्ष्य होइन; यो परिवर्तन सम्भव बनाउने माध्यम मात्र हो। यही चेतनाले निर्देशित उनको राजनीतिक यात्रामा सेवा, सङ्घर्ष र जिम्मेवारी एकअर्कासँग अविच्छिन्न रूपमा गाँसिएका देखिन्छन्।

धादिङको वर्तमान राजनीतिक भूगोलअनुसार रमेश धमलाको जन्मभूमि २ नं. निर्वाचन क्षेत्रमा पर्दछ। समथर पठारदेखि उच्च पर्वतीय भेगसम्म फैलिएको यो क्षेत्र पाँच किसिमका मौसम, विविध भौगोलिक र बहुसांस्कृतिक पहिचानले बनेको छ। यही भूगोलभित्र थप धेरै जातजाति र भाषाभाषी समुदाय बसोबास गर्छन्, जसका संस्कृति, जीवनशैली र आर्थिक अवस्था एकअर्काभन्दा फरक छन्। यस्तो बहुरूपी सामाजिक संरचनाले यहाँको राजनीति अझ संवेदनशील, समावेशी र जिम्मेवार हुनुपर्ने आवश्यकता झनै प्रस्ट पार्छ— यही यथार्थलाई आत्मसात गर्दै रमेश धमला आफ्नो राजनीतिक यात्रामा अघि बढिरहेका छन्।

राजनीतिक रूपमा धादिङ उर्वर जिल्ला हो। हालसम्म राजनीतिमा सक्रीय रहेका पञ्चायतकालीन जनप्रतिनिधिदेखि रमेश धमलाजस्ता नेपाली राजनीतिक आकाशमा उदाउँदै आएका चम्किला तारासम्म यही भूमिले जन्माएको छ। उनी राम्ररी बुझ्छन्— जनप्रतिनिधि भन्नेबित्तिकै जनतामा स्वाभाविक रूपमा विशेष अपेक्षा जन्मिन्छ। र, त्यो अपेक्षा अझ गहिरो हुन्छ, जब कुनै प्रतिनिधि आफ्नै मतबाट निर्वाचित भएको हुन्छ। यद्यपि धेरैजसो अवस्थामा जनप्रतिनिधिहरू चाहेर वा नचाहेरै जनताका अपेक्षाअनुसार उभिन सक्दैनन्। त्यसपछि जनतामा वितृष्णा बढ्नु अस्वाभाविक होइन।

यही राजनीतिक यथार्थलाई स्वीकार्दै रमेश धमलाले फरक र व्यवहारिक दृष्टिकोण अघि सारेका छन्। जनताका जायज मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र समृद्धिको आधार तयार गर्ने सवालमा उनका सोच प्रस्ट छन्। आश्वासनभन्दा समाधान, भाषणभन्दा परिणाम र आशाभन्दा भरोसा निर्माण गर्ने राजनीतिमा विश्वास गर्ने रमेश धमलाको यही दृष्टिकोणले उनलाई धादिङका मतदाताबीच विश्वासिलो विकल्पका रूपमा उभ्याएको छ।

पर्यटन व्यवसायी भएकाले उनका विचारमा व्यावसायिक स्पष्टता झल्किन्छ। उनका अनुसार धादिङमा हिमाल, ताल–तलैया, प्राकृतिक दृश्य र सांस्कृतिक सम्पदाजस्ता प्रशस्त सम्भावना हुँदाहुँदै पनि ती स्रोतको उपयोग धादिङबासीले गर्न सकेका छैनन्। एकातर्फ ग्रेट हिमालयन ट्रेललाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न सकिएको छैन भने अर्कातर्फ धादिङमा पर्ने गणेश हिमाल २ र ३ जस्ता महत्वपूर्ण हिमालहरूको समेत पर्याप्त प्रचार हुन सकेको छैन।

पर्यटन उद्योग खोल्न र लगानीमैत्री वातावरण निर्माण गर्न नसक्नु, छरिएर रहेका सम्भावित लगानीकर्ताहरूलाई एकीकृत गर्न नसक्नु पनि यही कमजोरीका परिणाम हुन्। धादिङले पर्यटनका सम्भावना बुझेकै जनप्रतिनिधि नपाएकै कारण यहाँ अन्तर्राष्ट्रिय स्तरको माउन्टेनियरिङ स्कूल वा युनिभर्सिटी स्थापना गर्ने अवधारणा व्यवहारमा आउन सकेको छैन। धादिङलाई आइस क्लाइम्बिङ वा माउन्टेन हबका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि त्यसलाई साकार पार्न आवश्यक स्पष्ट पर्यटन नीति अभावमै सीमित भएको छ।

घरेलु हिंसा र आत्महत्याका घटना बढ्दै गएको अवस्थाप्रति रमेश धमलालाई गहिरो चिन्ता छ। उनका अनुसार यी समस्या केवल व्यक्तिगत होइनन्; सामाजिक संरचना र राज्यको नीतिसँग गाँसिएका गम्भीर विषय हुन्। त्यसैले सतही विश्लेषण होइन, तथ्यमा आधारित गहिरो फ्याक्ट–फाइन्डिङ आवश्यक छ भन्ने उनको धारणा छ, ताकि समस्याको जड पहिचान गरेर दीगो समाधान खोज्न सकियोस्।

जेष्ठ नागरिकहरूको दिनानुदिन कमजोर बन्दै गएको अवस्थाप्रति पनि उनी चिन्तित छन्। छोराछोरी तथा नातिनाती विदेसिने, संयुक्त परिवार प्रणाली टुट्दै जाने र वृद्धहरू एक्लोपनको सिकार बन्ने वर्तमान यथार्थलाई ध्यानमा राख्दै उनले कम्युनिटी–आधारित ‘एल्ड एज केयर सेन्टर’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँछन्। जेष्ठ नागरिकप्रति राज्यको स्पष्ट दायित्व र संरक्षण नीति हुनैपर्छ भन्ने ठम्याइ छ उनको।

विदेश नीति सम्बन्धी विषयमा पनि रमेश धमलाको दृष्टिकोण स्पष्ट छ। उनका अनुसार नेपालका विदेश नीति समयसापेक्ष अद्यावधिक हुन सकेको छैन र कतिपय अवस्थामा निष्क्रिय देखिएको छ। भारत र चीनजस्ता छिमेकी मुलुकसँग भएका सन्धि–सम्झौताहरू पुनरावलोकन र परिमार्जनको आवश्यकता छ भने नेपाललाई माया गर्ने दातृ राष्ट्रहरूसँग सम्बन्ध अझ सुदृढ र सम्मानजनक ढंगले अघि बढाउनुपर्ने उनको बुझाइ छ।

समाजमा सामाजिक चेतना क्रमशः कमजोर हुँदै गएको छ। नेपालको समृद्ध सांस्कृतिक विविधतालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिएन भने हाम्रो पहिचान जोखिममा पर्छ। त्यसैले पुस्तान्तरणको प्रक्रियामार्फत परम्परा, संस्कृति र सहअस्तित्वका मूल्यहरू नयाँ पुस्तामा जगेर्ना गर्नु आजको अनिवार्य आवश्यकता ठान्छन्।

धादिङ बुढीगण्डकी परियोजनासँग प्रत्यक्ष जोडिएको जिल्ला हो। तर राष्ट्रिय गौरवको यो आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय जनतामा अन्योल, निराशा र असन्तुष्टि बढेको छ। रमेश धमलाको धारणा स्पष्ट छ— बुढीगण्डकी परियोजनाको यथाशीघ्र निष्कर्ष निकालिनुपर्छ, किनभने यसले बहुसंख्यक जनतालाई प्रत्यक्ष लाभ पुर्याउँछ।

पछिल्लो समय ठूला व्यक्ति र राजनीतिक पहुँच भएका समूहले सत्ताको दुरुपयोग गर्दै खोलानाला र जलस्रोतलाई हाइड्रोपावरका नाममा आफ्नै अनुकूल प्रयोग गरेको प्रति उनी गम्भीर छन्। यस्तो अभ्यास जनताका हितमा नभएको उनको ठम्याइ छ। त्यसैले जलस्रोतमा आधारित परियोजनामा स्थानीय जनताको स्वामित्व सुनिश्चित गर्नुपर्ने, अर्थात् सेयर जनतामै हस्तान्तरण हुनुपर्ने र प्रत्यक्ष प्रभावित क्षेत्रका जनता लाभान्वित हुनुपर्ने उनको स्पष्ट अडान छ।

धादिङका कतिपय स्थानमा रहेका ‘श्री ५ का वायु गुठी’ सम्बन्धी समस्या पनि गम्भीर बनेका छन्। गुठी व्यवस्थापन, स्वामित्व र अधिकारका विषयमा देखिएका जटिलताले स्थानीय जनतालाई प्रभावित पारिरहेको छ। यसलाई आंशिक होइन, समग्र रूपमा समाधान गर्नुपर्ने आवश्यकता देख्दै रमेश धमलाले संसदमार्फत नीतिगत रूपमा समाधान गर्नुपर्ने धारणा राख्छन्।

राजधानी नजिकै भएकाले धादिङलाई व्यवस्थित भेगेटेवल (तरकारी) हबका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ। उनका अनुसार बजारको पहुँच, यातायात सुविधा र उपभोक्ताको मागलाई ध्यानमा राख्दै धादिङका किसानलाई उत्पादनदेखि बिक्रीसम्म जोड्ने नीतिगत व्यवस्था गर्न सके यसले स्थानीय अर्थतन्त्र मजबुत बनाउन सक्छ।

धादिङको उत्तरी क्षेत्रलाई फलफूल उत्पादन, पशुपालन र जडीबुटी सङ्कलन तथा प्रशोधनका लागि विशेष क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। प्राकृतिक भूगोल र मौसमको विविधतालाई सदुपयोग गर्दै यी क्षेत्रलाई रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दीर्घकालीन सोच उनले अघि सारेका छन्।

रमेश धमला केवल नेता होइनन्; उनी जनतासँगै हिँड्ने भरपर्दो सहयात्री हुन्। जहाँ पीडा छ, उनी पुग्छन्; जहाँ सम्भावना छ, अवसर सिर्जना गर्छन्। अनुभव, दृष्टि र इमानदार प्रतिबद्धताले बनेको उनको व्यक्तित्वले धादिङको आवाज संसदसम्म पु¥याउने दृढता देखाउँछ।

साच्चै, धादिङ क्षेत्र नं. २ अब त्यस्तो प्रतिनिधि खोजिरहेको छ, जसले यहाँको भूगोल बुझ्छ, यहाँको पीडा महसुस गर्छ र यहाँको सम्भावनालाई अवसरमा रूपान्तरण गर्न सक्छ। राजनीति विश्वासको सङ्कटमा परेको आजको समयले नयाँ अनुहारभन्दा सही चरित्र खोजिरहेको छ।

रमेश धमलाको राजनीतिक यात्रा यही माटोबाट उठेको, यही जनतासँग जोडिएको र यही भविष्यप्रति समर्पित छ। विचारलाई नीति र नीतिलाई परिणाममा रूपान्तरण गर्ने दृढतासहित उनी धादिङको आवाज संसदसम्म पु¥याउने प्रतिबद्धतामा अडिग छन्।

परिवर्तन आकस्मिक हुँदैन तर जिम्मेवार हातमा भविष्य सुरक्षित हुन्छ। रमेश धमलाको यात्रा यही विश्वासमा आधारित छ कि राजनीति जनताबाट टाढा होइन, जनतासँगै हिँड्ने प्रक्रिया हो। अनुभव, दृष्टि र इमानदार प्रतिबद्धताले तयार गरेको उनको यात्रामा धादिङको उज्जवल भविष्य देखिन्छ।

परिवर्तनको बाटो लामो हुन सक्छ तर सही सहयात्रीसँग यात्रा गर्न सके गन्तव्य टाढा हुँदैन। यही भरोसाको ज्वलन्त साक्ष्य हो— रमेश धमला, अर्थात् धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार।