
धादिङ क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभा निर्वाचनले नयाँ–पुराना राजनीतिक अनुहारबीच प्रतिस्पर्धा मात्र होइन, संघर्ष, त्याग र इमानदारीको परीक्षा पनि गरिरहेको छ। यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी केवल एउटा राजनीतिक नाम मात्र होइनन्, उनी धादिङको जनयुद्धकालीन इतिहास, पीडा र प्रतिरोधका प्रत्यक्ष साक्षी हुन्।
भण्डारी जनयुद्धका क्रममा दुई छोरा बेपत्ता भएका पिता हुन्। आफैँ पनि उनले राज्य पक्षको गोली खाएका छन्। २०५५ साल जेठ १९ गते ‘किलो शेरा–२ अपरेशन’ को क्रममा आफ्नै घरबाट पक्राउ परेर छाती, हात र निधारमा गोली हानी मृत ठानी फालिएका भण्डारी स्थानीय जनताको सहयोगमा चमत्कारिक रूपमा बाँचे। यही कारण उनी ‘ज्यूँदा सहिद’ का रूपमा चिनिन्छन्।
त्यो रात केवल एक व्यक्तिमाथि भएको दमन थिएन, त्यो जनयुद्धलाई मेटाउने राज्यसत्ताको क्रूर प्रयास थियो। आँधीबेहरी, अन्धकार र बन्दुकबीच उनलाई मकैबारीमा मृत ठानी छाडियो। तर जनताको सहयोग, छोरा शुवासचन्द्र भण्डारी र भतिजी भगवती भण्डारीको साहस, तथा धादिङ र काठमाडौंका पर्यटन व्यवसायीहरूको सहयोगले भण्डारी अस्पतालसम्म पुगे र जीवन फर्कियो। पछि उनलाई अस्पतालबाटै पक्राउ गरी तीन वर्षभन्दा बढी जेल हालियो।
तर, यति ठूलो पीडा भोगेका भण्डारी बदला वा घृणाको राजनीतिमा गएका छैनन्। सशस्त्र द्वन्द्वमा जिल्ला जनसरकार प्रमुख बनेका भण्डारी खुला राजनीतिमा आएपछि जिल्ला अध्यक्ष, शहीद तथा बेपत्ता परिवार समाजको केन्द्रीय सदस्य, स्थानीय शान्ति समितिको संयोजक हुँदै हाल नेकपाको केन्द्रिय सदस्य छन्।

उनको राजनीतिक पहिचान के हो ?
भण्डारी पार्टीभन्दा जनता माथि राख्ने नेता हुन्। ‘यो मेरो पार्टी, त्यो तेरो पार्टी’ भन्ने विभाजनमा होइन, पीडामा परेका मानिसको पक्षमा उभिनु उनको स्वभाव हो। भ्रष्टाचार र अनियमिततासँग नाम नजोडिएको, सादा जीवन र स्पष्ट बोली उनका मुख्य विशेषता हुन्— हुन्छलाई हुन्छ र हुन्नलाई हुन्न भन्न सक्ने नेता।
विडम्बना के छ भने, पार्टीका लागि दुई छोरा गुमाएको र आफैँ गोली बोकेर बाँचेको व्यक्ति बारम्बार चुनावमा भने पछाडि पारिँदै आएको देखिन्छ। तर यसपटक धादिङ–२ का मतदातासँग एउटा अवसर छ— त्याग र इमानदारीलाई मतमार्फत सम्मान गर्ने।
धादिङ–२ को चुनाव केवल विकासको कुरा मात्र होइन, कुन मूल्यको राजनीति रोज्ने भन्ने प्रश्न पनि हो। पीडामाथि राजनीति गर्ने कि पीडाबाट राजनीति गर्ने ?
रामबहादुर भण्डारी दोस्रो धारका प्रतिनिधि हुन्— जसले आफ्नो दुःखलाई जनताको दुःखसँग जोडेर राजनीति गर्छन्।
त्यसैले, यो चुनावमा भण्डारीलाई जिताउनु भनेको एउटा व्यक्तिलाई मात्र होइन, संघर्ष, इमानदारी र न्यायको राजनीतिलाई जिताउनु हो।
