धादिङका शिक्षक नेता लक्ष्मण शर्मा एमालेको समानुपातिक बन्द सूचीमा

Avatar photo
Dhadingpost
माघ ३, २०८२

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) को समानुपातिक बन्द सूचीमा धादिङका शिक्षक नेता लक्ष्मण शर्मा समावेश भएका छन्।

शिक्षा क्षेत्र र ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सक्रिय लक्ष्मण शर्मा सिद्धलेक गाउँपालिका अन्तर्गत सत्यवती नमुना माध्यमिक विद्यालय, आदमटारका संस्थापक प्रधानाध्यापक तथा प्रभावशाली शिक्षक नेताका रूपमा चिनिन्छन्। उनी धादिङ जिल्लामा परिचित र सम्मानित व्यक्तित्व हुन्।

वि.सं. २०२६ सालमा जन्मिएका, ५५ वर्षीय शर्मा विज्ञान विषयका माध्यमिक तह प्रथम श्रेणीका शिक्षक हुन्। उनले २०७९ सालमा शिक्षण पेशाबाट राजीनामा दिई पूर्णकालीन ट्रेड युनियनकर्मीको रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्।

शर्मासँग नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय समितिमा महासचिव तथा अध्यक्ष भएर नीतिगत तहमा काम गरेको अनुभव छ। हाल उनी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिवको जिम्मेवारीमा रहेका छन्।

यसका साथै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग (२०७६) मा सदस्य भएर शिक्षा नीति निर्माणमा योगदान पुर्‍याएका छन्।
गल्छी गाउँपालिका स्थित धादिङ बहुमुखी क्याम्पसकाठमाडौं विश्वविद्यालयमा अध्यापन गरेको प्राज्ञिक अनुभव पनि उनीसँग छ।

आफ्नो विषयमा गहिरो दखल राख्ने शर्मा स्नातकोत्तर तहका स्वर्णपदक विजेता हुन् भने काठमाडौं विश्वविद्यालयबाट एमफिल उपाधि प्राप्त गरेका छन्।
अंग्रेजी भाषा र सूचना–प्रविधिमा दखल राख्ने उनी अध्ययन, सम्मेलन तथा तालिमका सिलसिलामा अमेरिका, स्विजरल्यान्ड, कोरिया, चीन र जापान लगायतका देशहरूको भ्रमण गरिसकेका छन्।

शिक्षा, श्रम र नीति निर्माणको क्षेत्रमा लामो अनुभव सँगालेका लक्ष्मण शर्माको एमालेको समानुपातिक बन्द सूचीमा समावेशीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।