ज्वालामुखीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु, १२ विद्यालय सहभागी

Avatar photo
Dhadingpost
पुस ४, २०८२

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गजुरी–हुलाक भञ्ज्याङस्थित चित्रेकालिका खेलमैदानमा सुरु भएको छ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन आज एक विशेष समारोहका बीच सम्पन्न भएको हो। प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्घाटन समारोह निवर्तमान गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष यमाथ दनैले गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह, विभिन्न वडाध्यक्षहरू, शिक्षक, खेलकुदकर्मी तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।

गत वर्ष सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा सुनखानी माध्यमिक विद्यालयले ८ स्वर्ण, १० रजत र ७ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको थियो।

बालबालिकाको खेल प्रतिभा पहिचान, अनुशासन र स्वस्थ प्रतिस्पर्धा विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।