४९ वर्ष पुग्यो धादिङ अस्पताल: इतिहास, सेवा र उपलब्धि

Avatar photo
Dhadingpost
पुस ४, २०८२

धादिङ । धादिङ अस्पतालले आज एक विशेष समारोहका बीच आफ्नो ४९औँ वार्षिकोत्सव मनाउँदै छ। जिल्लाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको यस अस्पतालको इतिहास, सेवा विस्तार र उपलब्धि उल्लेखनीय रहेका छन्।

वि.सं. २०३३ साल मंसिर २६ गते ‘धादिङ हेल्थ सेन्टर’ का रूपमा स्थापना भई सेवा सुरु गरेको धादिङ अस्पतालले समयक्रमसँगै आफ्नो सेवा र संरचना विस्तार गर्दै आएको छ। प्रारम्भिक चरणमा सीमित सेवा प्रदान गर्दै आएको अस्पताल हाल Secondary A स्तरको प्रादेशिक अस्पतालका रूपमा स्थापित भएको छ।

हाल अस्पताललाई १०० शय्यामा स्तरउन्नति गरिसकिएको छ। यहाँ ओपीडी सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, स्त्री तथा प्रसूति सेवा, आईसीयू सेवा, हेमोडायलाइसिस सेवा, डेन्टल सेवा, शल्यक्रिया सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा नियमित रूपमा सञ्चालनमा छन्। साथै एक्स–रे, ईसीजी र यूएसजी जस्ता आधुनिक परीक्षण सेवासमेत उपलब्ध छन्।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट त्रिभुवनचन्द्र झाले जिल्लाका साथै छिमेकी जिल्लाका नागरिकले समेत धादिङ अस्पतालबाट सेवा लिइरहेको बताए। उनले जनशक्ति, उपकरण र पूर्वाधार थप गर्दै आगामी दिनमा अझ गुणस्तरीय र विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।

४९ वर्षको यात्रामा धादिङ अस्पतालले जिल्लामा मातृशिशु स्वास्थ्य, आकस्मिक उपचार र सामान्यदेखि जटिल उपचारसम्म सेवा दिँदै आएको छ। स्थानीय नागरिकको विश्वास जित्दै आएको यस अस्पतालले भविष्यमा पनि गुणस्तरीय स्वास्थ्य सेवामा निरन्तरता दिने अपेक्षा गरिएको छ।