गजुरी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
पुस १, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज एक विशेष समारोहका बीच पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ।

पुस १ देखि ३ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सत्रमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि तथा शालिकराज जम्कट्टेल विशेष अतिथिका रूपमा सहभागी थिए।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, उप प्रमुख शर्मिला बिसुराल, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदी लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा गजुरी गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका ३२६ जना विद्यार्थी खेलाडीहरू सहभागी भई विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

गत वर्षको प्रतियोगितामा डोलभन्ज्याङ माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड स्थायी रूपमा आफ्नो नाममा गरेको थियो। त्यसपछि यस वर्षको प्रतियोगिताका लागि पालिकाले नयाँ रनिङ शिल्डको व्यवस्था गरेको छ। तस्वीरः सविन अधिकारी