
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय विशालटारले सूचना जारी गर्दै आगामी पुष ३० गतेदेखि माघ ५ गतेसम्म बृहत खेलकुद प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।
प्रतियोगिताअन्तर्गत सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता तथा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ।
गत वर्ष क–कस्ले जितेका थिए
- छैटौं राष्ट्रपति रनिङ शिल्ड हर्कपुरले जित्यो
- अध्यक्ष कप क्रिकेट चन्द्रोदय मावि विशालटारले जित्यो
- मदन भण्डारी कप फुटबल बागेश्वरीले जित्यो
गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई सम्बोधन गर्दै जारी सूचनामा प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिइएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधनसहित) अनुसार मात्रै खेलाडी सहभागी गराउन विद्यालयलाई आग्रह गरिएको छ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरू १८ वर्ष मुनिका, कक्षा १२ सम्म अध्ययनरत तथा अनलाइन IEMIS मा उल्लेखित हुनुपर्नेछ। साथै, सम्बन्धित कक्षामा कम्तीमा ७५ प्रतिशत उपस्थित रहेको हुनुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयले खेलकुद शिक्षकलाई कार्यक्रमको विशेष जिम्मेवारी प्रदान गर्नुपर्नेछ भने अनुसूची–१ बमोजिमको फारम भरी मिति २०८२ पुष १६ गते दिउँसो १ बजे खेलकुद शिक्षकसहित गाउँपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
