
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका मा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबारदेखि सुरु भएको छ।
सिद्धलेक–७, पिपलटारस्थित महाकाली माध्यमिक विद्यालय मा आयोजना भएको प्रतियोगिता पालिका अध्यक्ष परशुराम खतिवडा द्वारा भव्य समारोहबीच उद्घाटन गरिएको थियो। प्रतियोगिता मंसिर २९ गते सम्म चल्ने छ ।
विद्यालयका प्रधानाध्यापक ललबहादुर विश्वकर्मा का अनुसार, खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान, अनुशासन र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सुरु गरिएको हो। यस संस्करणमा सिद्धलेकका १४ वटै माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्।
गत वर्षको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ स्वर्ण सहित पिपलटारको महाकाली माध्यमिक विद्यालयले जितेको थियो। यस वर्ष प्रतियोगिता व्यवस्थापनको जिम्मा पनि महाकाली माविले पाएकोले पुनः विजेता बन्ने दबाबमा रहेको विद्यालयले जनाएको छ।
गत संस्करण खिर्रे–नलाङ पात्ले माध्यमिक विद्यालयको संयोजनमा भएको थियो, जहाँ महाकाली माविले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको थियो भने नलाङ पात्ले माविले ४ स्वर्ण, १ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको थियो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीको प्रतिभा प्रदर्शन, खेलकुद कौशल र अनुशासनलाई प्रोत्साहित गर्न विशेष कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
