कुवापानीको ३३औँ वार्षिकोत्सवमा नृत्य प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर २२, २०८२

धादिङ । गङ्गाजमुना गाउँपालिका–५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडा स्तरीय नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सक बहादुर गुरुङको अध्यक्षता तथा गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष कुमार बहादुर अधिकारी, शिक्षा अधिकृत मान बहादुर बोहरालगायत छिमेकी विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वडा शिक्षा समिति गङ्गाजमुना–५ को आयोजनामा सम्पन्न नृत्य प्रतियोगितामा कक्षा १–३४–५ तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा ११ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

कक्षा ४–५ तर्फका विजेता:

  • प्रथम: सरस्वती गुरुङ र एरिना गुरुङ – ढाँडखर्क आधारभूत विद्यालय
  • द्वितीय: निरुसा अधिकारी र एन्जिला वि.क – मण्डली माध्यमिक विद्यालय
  • तृतीय: संगम थापा मगर र रोशनी वि.क – अन्नपूर्ण आधारभूत विद्यालय
  • सान्त्वना: समिता थापा र सन्ध्या भण्डारी

कक्षा १–३ तर्फका विजेता:

  • प्रथम: अस्मिता गुरुङ – हिलेपोखरी आधारभूत विद्यालय
  • द्वितीय: रियाशा थापा – कालिकादेवी आधारभूत विद्यालय
  • तृतीय: इशा वि.क – अन्नपूर्ण आधारभूत विद्यालय
  • सान्त्वना: शिवानी घले – सरस्वती आधारभूत विद्यालय

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य, गीत तथा विविध प्रस्तुतिहरू पस्किएर उपस्थित अतिथिहरूलाई मन्त्रमुग्ध पारेका थिए। प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

आयोजकका अनुसार यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको सांस्कृतिक प्रतिभा उजागर गर्नुका साथै आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।