
धादिङ — धादिङको मार्पाकस्थित मार्पाक सामुदायिक क्लब (CCM) ले खेलाडी तथा पूर्व–खेलाडीहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले “खेलाडी उपचार सहायता कोष” स्थापना गरेको छ। क्लबले मंसिर ११ गतेदेखि यो कोष औपचारिक रूपमा सञ्चालनमा ल्याएको क्लब अध्यक्ष शिव कार्कीले जानकारी दिए।
साबिक मार्पाकका पूर्व फुटबल खेलाडी सुमन अधिकारी उपचार खर्च अभावका कारण गम्भीर अवस्थामा पुगेपछि क्लब सक्रिय भएको हो। अध्यक्ष शिव कार्की र सचिव अदिप अधिकारीले उनलाई काठमाडौं ल्याई अस्पताल भर्ना गराएका थिए।
उक्त प्रक्रियामा निबर्तमान अध्यक्ष सुदीप अधिकारीले अस्पताल भर्नामा सहयोग गरे भने महासचिव काजिराम अधिकारीले क्लब सदस्य, खेलाडी तथा पूर्व–खेलाडीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरेका थिए।
उपचार अवधिभर करिब रु. १ लाख १२ हजार संकलन भएको क्लबले जनाएको छ। बिरामी अधिकारी अहिले स्वस्थ अवस्थामा रहेका छन् भने आवश्यक पर्ने फोलो–अप खर्च समेत क्लबले उपलब्ध गराएको छ। संकलित रकममध्ये बाँकी रु. २५ हजार “खेलाडी उपचार सहायता कोष” मा राख्ने निर्णय भएको महासचिव अधिकारीले बताए।
क्लबका अनुसार आर्थिक अभावका कारण कुनै खेलाडी वा पूर्व–खेलाडी अस्पताल भर्ना हुन नसक्ने अवस्था आएमा सो कोषबाट तुरुन्त सहयोग उपलब्ध गराइनेछ।
“सुमन जस्तै अरू कुनै खेलाडी आपत्कालीन अवस्थाबाट गुज्रिन नपरोस् भन्ने लक्ष्यका साथ यो कोष सञ्चालन गरिएको हो,” महासचिव अधिकारीले बताए।
वि.सं. २०६७ मा ई. रवि अधिकारीको अध्यक्षतामा स्थापना भएको मार्पाक सामुदायिक क्लबले हाल मार्पाक क्षेत्रमा एम्बुलेन्स सेवा समेत सञ्चालन गरिरहेको छ। क्लबले सञ्चालन गरेको एम्बुलेन्स सेवा स्थानीयवासीका लागि निरन्तर सेवामुखी रूपमा सक्रिय रहेको छ।
