
सामाजिक सञ्जालको विकासले अभिव्यक्तिको स्वतन्त्रतालाई विस्तार गर्यो, तर त्यही विस्तारले असभ्यताको पनि नयाँ भूगोल निर्माण गरिदियो । आज गालीगलौज, चरित्रहत्या, झूटो प्रचार, फेक न्युज, कट्टरता र राजनीतिक आक्रोश डिजिटल समाजका प्रमुख प्रवृत्तिका रूपमा देखिन थालेका छन् । नेपाली समाजमा यस प्रवृत्तिको वृद्धि किन भयो ? किन घर–परिवार, सामाजिक संरचना, शिक्षालय, आचरण, संस्कारका सीमारेखालाई मानिसले एक क्लिकमै तोडिदिन थाले ? किन विदेशिएका नेपालीहरू विशेषगरी डिजिटल आक्रामकता, राष्ट्रप्रेमको कट्टर रूप र गैर–तथ्यात्मक विश्लेषणतर्फ आकर्षित भइरहे ? यी सबै प्रश्नहरूको उत्तर मनोविज्ञान, समाजशास्त्र, डिजिटल संरचना र नेपालका विशिष्ट राजनीतिक सङ्कटको त्रिकोणमा लुकेको छ ।
सामाजिक संरचना भत्किँदा भाषिक अनुशासन किन भत्किन्छ?
नेपाली समाज मूलतः सामूहिक अनुशासनमा बाँधिएको थियो घरमा बुबा–आमाको अनुशासन, छर–छिमेकको निगरानी, समुदायको मान–अपमान, विद्यालयको कडा व्यवहार । यही संरचनाले “कति बोल्ने, कसरी बोल्ने” भन्ने अदृश्य सीमा बनाएको थियो । तर सामाजिक सञ्जालले त्यो सीमा भत्काइदियो । अब न आफन्तको नजर, न छिमेकीको दबाब, न समाजको संकोच । मानिसले यस्तो वातावरण पहिले भोगेको थिएन । सामाजिक दबाब हट्ने बित्तिकै “भित्रै लुकेका असभ्य प्रवृत्ति” सतहमा आउन थाले । मनोविज्ञानका अनुसार यसलाई “De-individuation” भनिन्छ भीडमा वा डिजिटल अन्धकारमा नाम, पहिचान, जिम्मेवारी हराउँछ र मानिस वास्तविकभन्दा धेरै आक्रामक, विखण्डित र असभ्य हुन्छ । अध्ययनहरूले देखाएका छन् कि दण्ड–केन्द्रित परिवार, कठोर अभिभावक, भावनात्मक संवादको अभाव, गालीलाई सामान्य ठान्ने परिवेश यस्ता वातावरणमा हुर्किने बच्चाले भावनात्मक व्यवस्थापन सिक्दैनन् । उनले शान्त, तथ्यपूर्ण संवाद गर्नुभन्दा “आवाज उठाएर जित्ने” रणनीति सिक्छ । यस्ता बाल्य अनुभव डिजिटल युगमा आएर “Keyboard aggression” को रूपमा विस्फोट हुन्छ ।
नशाको आक्रोश
नशाले रोकथाम क्षमता घटाउँछ। Prefrontal cortex (नियन्त्रण केन्द्र) कमजोर हुँदा क्रोध, असन्तुष्टि र विगतका दमनहरू एकैचोटि मुख मार्फत प्रहार हुन्छन् । नेपालमा मदिरा, चुरोट, गाँजा, निकोटिन भेपिङ, विभिन्न मनो प्रभावी पदार्थले डिजिटल आक्रोशलाई घनत्व दिन थालेको छ । नशाले ‘भावनात्मक ब्रेक’ तोडिदिन्छ । सोही कारण धेरैले सायद सामान्य अवस्थामा नबोल्ने गाली, तिनै क्षणमा सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।
प्रवास: आक्रोश, वियोग र डिजिटल विस्फोट
नेपाली समाजमा डिजिटल आक्रोशको ठूलो भाग विदेशिएका नेपालीहरूबाट आएको देखिन्छ । शारीरिक श्रम र मानसिक थकान, दुःख, अत्यधिक काम, नियम, दवाब, पैसाको तनाव यी सबैले मानिसलाई थकित बनाउँछ । मानसिक थकानले मनोवैज्ञानिक सुरक्षा घटाउँछ । त्यसपछि डिजिटल अभिव्यक्तिमा सजिलो निकास खोजिन्छ । भने परिवारबाट टाढा, समाजबाट टाढा । मनमा सन्नाटा। त्यसको स्थान सामाजिक सञ्जालले लिन्छ र आक्रोशित संवाद स्वाभाविक देखिन थाल्छ । विदेशमा पुगेपछि देशले “दिएको/नदिएको” को तुलना तीव्र हुन्छ । देशप्रतिको चोटले देशप्रेमलाई कट्टर रूप दिन सक्छ । कट्टर राष्ट्रप्रेम , कट्टर असहमति, डिजिटल आक्रोश, आफु रहेको देश र नेपालको विकास तुलना यसैमा धेरैले राष्ट्रप्रेमलाई गाली मार्फत, देशप्रेमलाई आक्रोश मार्फत, राजनीतिक आलोचनालाई चरित्रहत्या मार्फत प्रस्तुत गर्दै आफूलाई सामाजिक सञ्जालमा पोख्न थाल्छन् ।
किन धेरैजना विदेश गएपछि ‘सर्वज्ञता’को मुखौटा लगाउँछन्?
अर्को रोचक प्रश्न किन प्रवासी नेपालीहरू ‘सबै कुरा बुझ्ने विश्लेषक’ बन्ने प्रवृत्तिमा पर्छन्? Illusion of competence: थोरै जानकारी पाउँदा मानिसले आफू धेरै जान्छु भन्ने महसुस गर्छ । यसलाई मनोविज्ञानमा Dunning–Kruger Effect भनिन्छ । सामाजिक सञ्जालले थोरै तथ्य र धेरै भावनालाई ‘विश्लेषण’ ठान्ने वातावरण बनाइदिएको छ । Validation को नशा लाईक, कमेन्ट, शेयर अहिले समाजको “डिजिटल प्रशंसा–पत्र” हो । धेरै मानिसलाई प्लेटफर्मले “तिमी धेरै महत्वपूर्ण छौ” भनेर झूटो संकेत दिन्छ । त्यसैले उनीहरू राजनीति, अर्थनीति, राष्ट्रिय सुरक्षा, भू राजनीति, कुटनीति सबैका विशेषज्ञ बन्न खोज्छन् । उसै माथी फेक न्युज यति शक्तिशाली हुन्छ । नेपालमा डिजिटल अर्थतन्त्र विकसित भइसकेको छैन । तर फेक न्युजको अर्थतन्त्र तीव्र छ । एल्गोरिदमको मनोवैज्ञानिक खेल जहाँ एल्गोरिदमले यस्तो सामग्री फैलाउँछ जुन विवादास्पद, भावनात्मक, क्रोधपूर्ण, डर उत्पन्न गर्ने, राजनीतिक ध्रुवीकरण गर्ने । किनभने यस्तो सामग्रीले मानिसमा उत्तेजना बढाउछ र क्लिक, भ्यू, बढछ र पैसा समेत कमाउन सकिन्छ ।
‘डिजिटल अराजकता’ को राजनीतिक उपयोग
राजनीतिले पनि डिजिटल आक्रोशलाई हतियार बनायो । प्रतिस्पर्धीलाई सजिलै दुर्वचन लगाउन, चरित्रहत्या गर्न, झुट्टा आरोप लगाउन, कट्टरता देखाएर विपक्षीको समर्थन बटुल्न यस प्रकारको सस्तो राजनीति र सस्तो डिजिटल सामग्रीले मिलेर समाजमा “सस्तो संस्कृति” जन्मायो । जसको परिणाम आज नपालले रवि, बालेन पात्र पायो र खरानी परिणाम भोगिरहेको छ । देश जल्दा पनि युवाले अझै बुझेको छैन, युवालाई अझै पुगेको छैन । नेपालको राजनीतिक संरचना र डिजिटल व्यवहार बीचको प्रत्यक्ष सम्बन्ध देखिन्छ । नेपाली राजनीति दशकौँदेखि अस्थिर छ, सरकार बदलिन्छ, विश्वास घट्छ, सिस्टमप्रति निराशा बढ्छ । निराश समाज, क्रोधित जनता, डिजिटल आक्रोश, राजनैतिक ध्रुवीकरण आज एक अर्काको परिपूरक जस्तै बनिसकेका छन । सामाजिक सञ्जाल आज “आक्रोसको संसद” बनेको छ । यहाँ तथ्यभन्दा भावना ठूलो, तर्कभन्दा कटुता भारी, नीति भन्दा नारा ठूलो, सत्यभन्दा सनसनीपूर्ण भ्रम बलियो बन्ने यस वातावरणले बौद्धिक विमर्शलाई होइन,भावनात्मक आगो फैलाउनेलाई पुरस्कृत गरिरहेकोछ ।
किन आज ‘भद्र समाज’ हारिरहेको छ?
किनकि असभ्य सामग्री सरल, तात्कालिक, उत्तेजक, मनोरञ्जनात्मक हुन्छ भने भद्र सामग्री अलि जटिल, समय लाग्ने, आत्मअनुशासन माग्ने प्रकृतिको हुन्छ । डिजिटल संसारमा जित्छ त्यो नै जो
सबैभन्दा छिटो ध्यान खिच्छ । आज नेता वा प्रिय बन्न शक्तिशाली व्यक्तित्वलाई गाली गरेर सामाजिक सञ्जालबाट सबैको ध्यान खिच्न सकिन्छ भन्ने संस्कार बालेन, रवी ले स्थापित गरे आज समाज त्यही संस्कारको पछाडी दौडिरहेको छ । झूट कुरा तर रोमाञ्च होस सनसनीपूर्ण तर त्यसबाट व्यापार पनि होस भन्ने मनसायमा दौडिदै सलाई बोकेर सर्वोच्च अदालत, सिंहदरबार जलाउन पुगेका कलाकारहरुको कारण समाजको सम्भ्रान्तता डिजिटल बजारमा हार्दैछ ।
समाजलाई अनुशासनमा कसरी फर्काउने?
- डिजिटल साक्षरता राष्ट्रिय नीति बनिनुपर्छ फेक न्युज पहिचान र उत्पादन गर्नेलाई कारवाही, सूचना–सत्यापन र भावनात्मक नियमन आजको आवश्यकता हो । भने डिजिटल आचरण अब विद्यालयदेखि पढाउनुपर्छ ।
- सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल–विशेष नियमन आवश्यक रहेको देखिन्छ जसले असभ्य सामग्रीलाई रोक्ने स्वतन्त्र कोड आफैंले विकास गर्न सकिन्छ । यो गर्नै पर्छ ।
- दूतावासमा मनोवैज्ञानिक परामर्श मार्फत प्रवासी नेपालीको मानसिक संरचना निर्माण गरिन पर्छ ।
- अभिव्यक्ति स्वतन्त्रता भनेको चरित्रहत्या होइन भन्ने कुरा मनन गर्दै राजनीतिक नेता, कार्यकर्ता अभियान्ताहरुले यही अभ्यासभन्दा अघि बढ्नुपर्छ । राजनीति नै गाली उद्योग बन्नु देशका लागि दीर्घकालीन क्षति हो ।
- फेक न्युज रोक्ने सबैभन्दा बलियो हतियार विश्वसनीय पत्रकारिता हो त्यसैले तथ्यमा आधारित पत्रकारिता पुनर्जागरण गरिन पर्छ ।
निष्कर्ष
आजको डिजिटल असभ्यता कुनै “व्यक्तिगत असभ्यता” मात्र होइन यो समाज, राजनीति, प्रवास डिजिटल प्रविधि ले मिलेर बनाएको सामूहिक मनोवैज्ञानिक संकट हो । मानिस गाली गर्छ, किनकि उसलाई कोही रोक्दैन । फेक न्युज फैलिन्छ, किनकि एल्गोरिदमलाई पैसा धेरै चाहिन्छ । विदेशिएका नेपाली आक्रोश हुन्छन्, किनकि वियोग, दबाब र पीडा गहिरो हुन्छ । राजनीतिमा कटुता बढ्छ, किनकि स्थिरता कमजोर छ । डिजिटल असभ्यता नेपाली समाजको सांस्कृती होइन, सांस्कृतिक संक्रमण हो । तर यो संक्रमणलाई सही दिशा नदिइए भविष्यमा डिजिटल वार मार्फत नै नेपाली लोकतन्त्रकै आधारभूत मूल्यलाई खतरामा पार्न सक्छ । राज्य नै खतरामा पर्न सक्छ । समय मै सबै जिम्मेवार बन्न जरुरीछ ।
