
धादिङ । धादिङ अस्पतालको रूपान्तरण र सेवाको स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी बागमती प्रदेश सरकारबाट प्राप्त तीन वर्षे अध्ययन बिदामा Nepalese Army Institute of Health Sciences बाट PHD सरहको MCh Urology अध्ययनका लागि धादिङ अस्पतालबाट बिदाइ भएका छन् ।
उनी अध्ययनमा जानुअघि धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवाला करिब सयजनाको उपस्थितिमा एक भव्य समारोहको बीच उनलाई बधाई तथा शुभकामना सहित बिदाइ गरिएको छ ।
२० महिनाको कार्यकाल—धादिङ अस्पतालको ‘गुणस्तर वृद्धि’ को यात्रा
धादिङ अस्पतालमा डा. अधिकारीको २० महिनाको नेतृत्व कतिपय दृष्टिले रूपान्तरणकारी रह्यो। उनको कार्यकाल अवधिमा भौतिक संरचना, सेवा विस्तार, विशेषज्ञ सेवाको वृद्धि र व्यवस्थापन सुधार जस्ता क्षेत्रमा ठोस परिवर्तन देखिए।
🔹 २० महिनामा अस्पतालमा भएका प्रमुख उपलब्धिहरू
- नयाँ काउन्टर–फार्मेसी भवन निर्माण, सेवाग्राहीलाई सहज सम्भार–सुविधा।
- स्वास्थ्य बीमा र नगद विभाग छुट्टाछुट्टै काउन्टर—भीड व्यवस्थापनमा सुधार।
- महिला स्वास्थ्यका लागि महत्वपूण ‘मेमोग्राम सेवा’ सुरुआत—स्तन क्यान्सर स्क्रिनिङ अब धादिङमै।
- एन्डोस्कोपी सेवा विस्तार, बिरामीलाई काठमाडौं धाउन नपर्ने।
- डायलाइसिस सेवा ३ शिफ्टमा विस्तार, धादिङका सबै मिर्गाौला रोगी लाभान्वित।
- विशेषज्ञ चिकित्सक संख्या ५ बाट १२ पुग्यो, विधागत सेवा मजबुत।
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग ५ वर्षका लागि रेजिडेन्ट विशेषज्ञ सेवा सम्झौता, धादिङमै गुणस्तरीय विशेषज्ञ सेवा।
- पहिलो पटक कन्सल्टेन्ट रेडियोलोजिस्टबाट USG, एनामोली स्क्यान सेवा, गर्भवतिहरूका लागि ठूलो राहत।
- सेवाग्राही र कर्मचारीका लागि व्यवस्थित पार्किङ व्यवस्था।
- अस्पताल विकास समितिको कर्मचारी तलब ७५% सम्म वृद्धि, मनोबल र सेवा गुणस्तर दुवै बढ्यो।
यी उपलब्धिहरूले धादिङ अस्पताललाई जिल्ला स्तरकै उत्कृष्ट सेवा केन्द्रतिर उन्मुख गराएको छ।
सरकारी सेवामा डा. अधिकारीको यात्रा
डा. अधिकारीको करियर विभिन्न जिल्लामा जिम्मेवारी, संकट व्यवस्थापन र सेवा विस्तारको उदाहरण मानिन्छ।
- २०७३/०९/०७ मा प्युठान अस्पतालबाट मेडिकल अधिकृतको रूपमा सेवा प्रवेश (१५ महिना)
- पाल्पा अस्पताल—१ वर्ष
- हेटौडा अस्पताल—२ महिना, त्यसपछि ३ वर्ष MD अध्ययन
- रामेछाप अस्पताल—१५ महिना मे.सु.
- चौतारा अस्पताल—६ महिना मे.सु.
- धादिङ अस्पताल—२० महिना निमित्त अस्पताल निर्देशक
कुनै पनि पदमा उनले व्यवस्थापन सुधार र सेवा विस्तारलाई प्राथमिकता दिएको सहकर्मीहरू बताउँछन्।
कसरी महत्वपूर्ण छ MCh Urology?
MCh (Master of Chirurgiae) in Urology PHD सरहको अत्यन्त उन्नत सुपर–स्पेशाल्टी चिकित्सा शिक्षा हो।
यसले चिकित्सकलाई निम्न जटिल उपचारमा दक्ष बनाउँछ—
- किड्नी ट्रान्सप्लान्ट
- किड्नी तथा युरिनरी ट्रयाक्टका पथ्थरी
- प्रोस्टेटका जटिल समस्या
- पिसाब नलीसम्बन्धी रोग
- युरोलोजिकल क्यान्सर उपचार
नेफ्रोलोजी र युरोलोजीका जटिल सेवा नेपालमै विस्तार गर्न यो अध्ययन अत्यन्त उपयोगी मानिन्छ।

बिदाइ कार्यक्रम : भावनात्मक, सम्मानपूर्ण र प्रेरणादायी
धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,
- जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुन पाउडेल
- आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र प्रमुख डा. अमुल्य दाहाल
- अस्पतालका आगामी निर्देशक डा. त्रिभुवन चन्द्र झा
- कन्सल्टेन्ट Dr. दिनेश रेग्मी
- कन्सल्टेन्ट Physician Dr. विवेक भण्डारी
- मे.रे.नि. विक्रम विश्वकर्मा
लगायतले डा. अधिकारीको धादिङ अस्पतालमा क्लिनिकल सेवा विस्तारदेखि व्यवस्थापन सुधारसम्मका योगदानको प्रशंसा गर्दै अध्ययन सफलताको शुभकामना प्रदान गरे। अस्पतालका कर्मचारीहरूले “धादिङ अस्पतालको स्तर उकास्न उहाँको भूमिका अविस्मरणीय रहने” प्रतिक्रिया दिए।
डा. गगन अधिकारीको २० महिनाको नेतृत्वले धादिङ अस्पतालमा देखाएको परिवर्तन स्थानीय तहमै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ। अब उनी अध्ययन पूरा गरेर अझ उन्नत युरोलोजी सेवा सहित फर्किने अपेक्षा धादिङवासी तथा सहकर्मीहरूले गरेका छन्।
