धादिङका किसानलाई पुरुषोत्तमको आग्रहः “तपाईं फलफूल उत्पादन गर्नोस्, बजारमा पुर्‍याउने जिम्मा हाम्रो

Avatar photo
Dhadingpost
कार्तिक २२, २०८२

धादिङ । धादिङ नीलकण्ठका स्थायी बासिन्दा पुरुषोत्तम घिमिरेले धादिङका किसानलाई फलफूल उत्पादनमा ध्यान दिन आग्रह गरेका छन्। उनले भनेका छन्, “फलफूल उत्पादन गर्नुस्, बजारमा पुर्‍याउने जिम्मा हामी लिन्छौँ।”

काठमाडौंको कुलेश्वर र धादिङबेसीमा मण्डली फ्रुट एण्ड भेजिटेवल सप्लायर्स सञ्चालन गरी देशभर थोक फलफूल आपूर्ति गर्दै आएका घिमिरेले किसानले फलफूल बजारमा पुर्‍याउनका लागि भौतारिनु नपर्ने बताए। “सिधै मलाई सम्पर्क गर्नुहोस्, हामी बजारमा पुर्‍याउँछौं,” उनले भने।

फलफूलको थोक बिक्रीसँगै घिमिरेले कलंकी र धादिङबेसी बीचबजार माइक्रो टिकट काउन्टर नजिकै फ्रेस जुस हब पनि सञ्चालन गर्दै आएका छन्। साथै उनले आम्दानीको निश्चित प्रतिशत छुट्याएर सामाजिक कार्यमा सहयोग गर्दै आएको जानकारी दिएका छन्।

धादिङपोष्टसँग कुरा गर्दै घिमिरेले भने, “स्थानीय उत्पादनको बजारिकरण र किसानलाई प्रोत्साहन गर्दै उनीहरूका सहयात्री बन्ने मेरो लक्ष्य हो।” अहिले धादिङका धेरै किसानहरू आफूसँग जोडिएका छन् र उत्पादित फलफूल सिधै मण्डली फ्रुट सप्लायर्समा ल्याउने गर्छन्।

हाल उनीसँग उत्तरी धादिङको सेमजोङमा उत्पादन भएको अर्गानिक किवी, खरि मैदीको सुन्तला, जिल्लाका विभिन्न ठाउँका लोकल केरा, एवोकाडो र ड्रागन फ्रुट उपलब्ध छन्।

घिमिरेका अनुसार, “चीन र भारतबाट ल्याइने विदेशी फलफूलको बजारिकरणभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानसँग प्रत्यक्ष सम्बन्ध मजबुत हुन्छ, उनीहरूमा हौसला बढ्छ र ताजा फलफूल बजारमा पठाउन सजिलो हुन्छ।”