
धादिङ । गङ्गाजमुना गाउँपालिकाले यस वर्षको हरिबोधनी एकादशी तथा ऐतिहासिक–पर्यटकीय गङ्गाजमुना मेला–२०८२ को अवसरमा कार्तिक १४ गते (बिहीबार) गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको नामकरणसमेत गरिएको गङ्गाजमुना माई परिसरमा प्रत्येक वर्ष मेला लाग्ने परम्परा रहिआएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि मेला आयोजना गरिएको भए पनि लगातारको वर्षाका कारण आज दिनभरमात्रै मेला सञ्चालन हुने जनाइएको छ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर तामाङले हस्ताक्षरित सूचनामार्फत बिदाको जानकारी सार्वजनिक गरेका हुन्।
धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले महत्वपूर्ण गङ्गाजमुना मेला
गङ्गाजमुना मेला केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक र पर्यटन प्रवर्द्धनको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।
गङ्गाजमुना गणेश पर्वत श्रृङ्खला, करिब १,८०० मिटर उचाइमा अवस्थित भू–स्वर्गीय स्थल हो। यहाँबाट धादिङका विभिन्न क्षेत्र, गोरखा, रसुवा, नुवाकोट, गणेश हिमालदेखि काठमाडौंसम्मको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
गङ्गाजमुना झरनाको विशेषता
गङ्गाजमुना क्षेत्र रहस्यमयी जुम्ल्याहा झरना, दैवी शक्तिले भरिएको पत्थर कुण्ड र कुकुर धाराका कारण प्रसिद्ध छ।
सन् २०७७ सालमै नेपाल सरकारले यसलाई आधिकारिक पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरेको थियो।
स्थानीय विश्वासअनुसार —
- कुकुर धाराको पानीमा कीट–नाशक गुण हुन्छ, जसले जनावरले टोकेको विष हटाउँछ।
- झरनाको पानी र जडिबुटीको रसले रेविजजस्ता रोग निको पार्ने शक्ति हुन्छ भन्ने मान्यता छ।
- झरनाको चट्टानमा गणेशको मुखझैं आकृति देखिने र त्यहाँ दूध तथा जल चढाउने परम्परा रहिआएको छ।
- हनुमानले संजीवनी जडिबुटी यहीँबाट ल्याएको भन्ने धार्मिक कथा पनि प्रसिद्ध छ।
यात्रा र पहुँच
गङ्गाजमुना झरना पुग्न काठमाडौंबाट करिब एक दिनको यात्रा लाग्छ।
माछापोखरीस्थित धादिङ बसपार्कबाट सिधै गङ्गाजमुना (फूलखर्क) सम्म बस चल्ने व्यवस्था छ।
धादिङबेसी–सल्यानटार–टारीबेसी हुँदै करिब ४५ किलोमिटर लामो बाटो पार गर्नुपर्छ, जसको अन्तिम १५ किलोमिटर कच्ची सडक हो।
यात्राका क्रममा पर्यटकहरूले स्थानीय अर्गानिक परिकार, तामाङ–गुरुङ समुदायको संस्कृति र आतिथ्य नजिकबाट अनुभव गर्न सक्छन्।
पर्यटन आकर्षण
गङ्गाजमुना झरनाबाट २,८०० मिटरको उचाइबाट खस्ने पानी मोतीका दानाजस्तै चम्किन्छ, जसले पर्यटकहरूलाई मोहित पार्छ।
गङ्गा र जमुनालाई हिमालय पुराणमा दिदी–बहिनीका रूपमा उल्लेख गरिएको पाइन्छ, र यहाँका धाराहरू तल भारततर्फ गएर गङ्गा नदीमा मिसिने जनविश्वास पनि रहँदै आएको छ।
