
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–५, पैंयुखर्कस्थित फुलखर्क खेल मैदानमा आजदेखि वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
वडाध्यक्ष कुमार अधिकारीका अनुसार वडा कार्यालयको आयोजनामा सुरु गरिएको यस प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले रु. १६ हजार, उपविजेताले रु. १२ हजार, र तृतीय स्थान हासिल गर्ने टोलीले रु. ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिताको उद्घाटन गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले एक विशेष समारोहका बीच गरे। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल कार्तिक ११ गते दिउँसो सम्पन्न हुने छ। गाउँको खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताबाट स्थानीय युवा उत्साहित बनेका छन्।
