गंगा-जमुना मेला कार्तिक १४ गते: पुग्नै पर्ने पवित्र र पर्यटकीय स्थल

Avatar photo
Dhadingpost
कार्तिक ९, २०८२

धादिङ । धादिङको गणेश पर्वतमा अवस्थित गंगा–जमुना झरना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल हो । हरेक वर्ष कार्तिक शुक्ल दशमी तिथिमा यहाँ भव्य मेला लाग्ने परम्परा रहँदै आएको छ । यस वर्षको मेला कार्तिक १४ गते आयोजना हुने भएको छ । यो मेला केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक र पर्यटन प्रवर्द्धनको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

गंगा–जमुना झरनाको विशेषता

भू–स्वर्गका रूपमा परिचित गंगाजमुना गणेश पर्वत रहस्यमयी जुम्ल्याहा झरना, दैवी शक्तिले भरिएको पत्थर कुण्ड र कुकुर धाराका कारण प्रसिद्ध छ । सरकारका तर्फबाट यो स्थललाई २०७७ सालमै पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरिएको हो ।

गंगाजमुना पर्वत श्रृङ्खला करिब १,८०० मिटर उचाइमा अवस्थित छ, जहाँबाट धादिङका विभिन्न क्षेत्र, गोरखाको उत्तरी भाग, रसुवा, नुवाकोट, गणेश हिमाल र काठमाडौँसम्मको दृश्य अवलोकन गर्न सकिन्छ ।

धार्मिक र ऐतिहासिक महत्व

गंगाजमुना गणेश पर्वत श्रृङ्खलालाई गणेश, शिव र पार्वतीसँग सम्बन्धित पवित्र स्थल मानिन्छ । यहाँ रहेको झरना र कुकुर धारासँग सम्बन्धित पुराना धार्मिक कथनहरू अझै जीवित छन् ।

स्थानीय विश्वास अनुसार—

  • कुकुर धाराको पानीमा कीट–नाशक गुण हुन्छ, जसले जनावरले टोकेको विष हटाउँछ ।
  • झरनाको पानी र जडिबुटीको रसले रेविजजस्ता रोग निको पार्ने शक्ति रहेको विश्वास छ ।
  • झरनाको चट्टानमा गणेशको मुखझैँ आकृति देखिने र त्यहाँ दूध र जल चढाउने पुरानो परम्परा रहँदै आएको छ ।

त्यस्तै, हनुमानले संजीवनी खोज्दा यहीँको जडिबुटीले बनेको पर्वत उठाएको भन्ने धार्मिक कथा पनि प्रचलित छ ।

गंगाजमुना झरना पुग्न काठमाडौंबाट करिब एक दिनको यात्रा लाग्छ ।

  • माछापोखरीस्थित धादिङ बसपार्कबाट सिधै गंगाजमुना (फूलखर्क) सम्म बस चल्ने व्यवस्था छ ।
  • धादिङबेसी–सल्यानटार–टारीबेसी हुँदै करिब ४५ किलोमिटर लामो बाटो पार गर्नुपर्छ, जसमा अन्तिम १५ किलोमिटर कच्ची सडक छ ।
  • बाटोमा स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ र तामाङ–गुरुङ समुदायका संस्कृति र परम्पराको नजिकबाट अवलोकन गर्न पाइन्छ ।

पर्यटकका लागि विशेष आकर्षण

गंगा–जमुना झरना करिब २,८०० मिटरको उचाइबाट खस्ने पानीका कारण निकै आकर्षक देखिन्छ । झर्ने पानीको थोपाहरू हावामा मोतीका दानाझैँ टल्किने दृश्यले जो–कोहीलाई मोहित पार्छ ।

गंगा र जमुनालाई हिमालय पुराणमा दिदी–बहिनीका रूपमा वर्णन गरिएको पाइन्छ । यहाँ मिसिएका पानीका धारहरू तल भारततर्फ गएर प्रसिद्ध गंगा नदीमा मिसिने जनविश्वास पनि रहँदै आएको छ ।