
धादिङ । धादिङको बेनीघाट रोराङमा सम्पन्न तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगिताको उपाधि सोल्टी नेपालले हात पारेको छ।
फाइनलमा सोल्टी नेपालले कुरिनटार फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। खेलको सुरुवाती क्षणदेखि नै दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष मनोजकुमार श्रेष्ठ (गोर्खाली) प्रमुख अतिथिको रूपमा सहभागिता जनाए। आफ्नै गाउँमा आयोजना गरिएको प्रतियोगितामा उपस्थित भएर उनले स्थानीय खेलाडी र आयोजकहरूको उत्साह अभिवृद्धि गर्दै विदेशमा भए पनि गाउँको खेलकुद र युवाप्रति निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
उनको उपस्थितिले कार्यक्रममा विशेष रौनक थपिएको सहभागीहरूले बताए ।
त्यस्तै, पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ विशेष अतिथि रहेका थिए।
कार्यक्रमको सञ्चालन सुजनकुमार भट्टराईले गरेका थिए भने कार्यक्रमको सभापतित्व अन्जन सिलवाल स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल सिलवालले गरेका थिए।
पुरस्कार राशिः
विजेता सोल्टी नेपालले नगद रू. १,००,००० प्राप्त गर्यो भने उपविजेता कुरिनटार एफसीले रू. ५०,००० पुरस्कार पायो।
सेमिफाइनलमा परेका लालीगुराँस युवा क्लब र बेनीघाट रोराङले रू. १०–१० हजार प्राप्त गरे।

विजेता सोल्टी नेपालका खेलाडीहरू:
बिशाल शाही (१०), रोहित शाही (४), सन्दीप मगर (१३), जनक मगर (३), बिजय लामा (६), बिकेश शाही (७), राजन बल (१४), दिपेन्द्र लामा (१२), नवराज परियार (११), झक्पा लामा (५), सौगात लामा (२), शम्भु श्रेष्ठ (८)
उपविजेता कुरिनटार एफसीका खेलाडीहरू:
हार्दिक भण्डारी (५), समीर श्रेष्ठ (१२), सुदीप गुरुङ (९), अनुज मगर (७७), सन्जय श्रेष्ठ (११), दिनेश गुरुङ (३०), शुभम गुरुङ (१६), वमेश सुनार (२), बिपन गुरुङ (३), सबिन गुरुङ, मनिष गुरुङ
सहभागी टिमहरू
धुनिवेसी फुटबल क्लब, सोल्टी नेपाल टिम, हाईवे स्पोर्ट्स क्लब–ए र बी, फजिमटार युवा क्लब, गजुरी समाज गजुरी, चारौंदी समाज सुधार युवा क्लब, लालीगुराँस युवा क्लब, यङ स्टार फुटबल क्लब, कुरिनटार एफसी, बेनीघाट रोराङ युवा क्लब, मोहीरिया टिम (बेनीघाट रोराङ–४) र विशालटार एफसी।
गत संस्करणहरू:
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। चितवनका विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए र प्रतिगोल नगद पुरस्कारसहित कुल ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए। दोस्रो संस्करणमा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन इच्छाकामना टिम विजयी बनेको थियो।
अञ्जन सिलवालको सम्झनामा आयोजना
३४ वर्षीय स्व. अञ्जन सिलवालको स्मृतिमा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता स्थानीय युवामा खेलप्रतिको रुचि बढाउन र आपसी सद्भाव सुदृढ गर्न उद्देश्य राखिएको छ।
सिलवाल तत्कालीन माओवादी केन्द्रका बेनीघाट–९ का सचिव समेत थिए। चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरूले उनको नाममा “अञ्जन स्मृति प्रतिष्ठान” स्थापना गरेका हुन्।












