
धादिङ । अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा धादिङको बेनीघाट रोराङको मझिमटारमा जारी तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगिताको फाइनल आज सोल्टी नेपाल र कुरिनटार फुटबल क्लबबीच हुने भएको छ।
प्रतियोगिता यही असोज २५ गतेदेखि सुरु भएको हो। हिजो सम्पन्न सेमिफाइनल खेलमा सोल्टी नेपालले लालीगुराँस युवा क्लबलाई १–५ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। त्यसैगरी दोस्रो सेमिफाइनलमा कुरिनटार एफसीले बेनीघाट रोराङलाई ०–१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
फाइनल खेल आजै अर्थात् कार्तिक १ गते भव्य रूपमा आयोजना हुने आयोजक प्रतिष्ठानले जनाएको छ।
फाइनल भिड्ने टिमका खेलाडीहरू
कुरिनटार एफसी:
हार्दिक भण्डारी (५), समीर श्रेष्ठ (१२), सुदीप गुरुङ (९), अनुज मगर (७७), सन्जय श्रेष्ठ (११), दिनेश गुरुङ (३०), शुभम गुरुङ (१६), वमेश सुनार (२), बिपन गुरुङ (३), सबिन गुरुङ, मनिष गुरुङ
सोल्टी नेपाल:
बिशाल शाही (१), रोहित शाही (४), सन्दीप मगर (१३), जनक मगर (३), बिजय लामा (६), बिकेश शाही (७), राजन बल (१४), दिपेन्द्र लामा (१२), नवराज परियार (११), झक्पा लामा (५), सौगात लामा (२), शम्भु श्रेष्ठ (८)
पुरस्कार राशिः
फाइनल विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्।
सेमिफाइनलमा परेका लालीगुराँस युवा क्लब र बेनीघाट रोराङले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सहभागी टिमहरू
धुनिवेसी फुटबल क्लब, सोल्टी नेपाल टिम, हाईवे स्पोर्ट्स क्लब–ए र बी, फजिमटार युवा क्लब, गजुरी समाज गजुरी, चारौंदी समाज सुधार युवा क्लब, लालीगुराँस युवा क्लब, यङ स्टार फुटबल क्लब, कुरिनटार एफसी, बेनीघाट रोराङ युवा क्लब, मोहीरिया टिम (बेनीघाट रोराङ–४) र विशालटार एफसी।
गत संस्करणहरू:
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। चितवनका विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए र प्रतिगोल नगद पुरस्कारसहित कुल ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए। दोस्रो संस्करणमा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन इच्छाकामना टिम विजयी बनेको थियो।
अञ्जन सिलवालको सम्झनामा आयोजना
३४ वर्षीय स्व. अञ्जन सिलवालको स्मृतिमा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता स्थानीय युवामा खेलप्रतिको रुचि बढाउन र आपसी सद्भाव सुदृढ गर्न उद्देश्य राखिएको छ।
सिलवाल तत्कालीन माओवादी केन्द्रका बेनीघाट–९ का सचिव समेत थिए। चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरूले उनको नाममा “अञ्जन स्मृति प्रतिष्ठान” स्थापना गरेका हुन्।












