मझिमटारमा तेस्रो अञ्जन स्मृति कप फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
अशोज २५, २०८२

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मझिमटारमा तेस्रो अञ्जन स्मृति कप २०८३ खुला फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

अञ्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा १३ टिम सहभागी भएका छन्। उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौंले धुनीवेसी युवा क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रतियोगिताका विजेता टोलीले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै, सेमीफाइनलमा पुग्ने प्रत्येक टोलीलाई १०/१० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, पालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती रहेको थियो।

प्रतियोगितामा सहभागी टिमहरू

  • धुनिबेसी फुटबल क्लब (Dhunibesi FC)
  • सोल्टी नेपाल टिम (Solti Nepal Team)
  • हाईवे स्पोर्ट्स क्लब बी (Highway Sports Club–B)
  • फजिमटार युवा क्लब (Fajimtar Youth Club)
  • गजुरी समाज गजुरी (Gajuri Samaj, Gajuri)
  • हाईवे स्पोर्ट्स क्लब–ए (Highway Sports Club–A)
  • चारौंदी समाज सुधार युवा क्लब (Charaundi Samaj Sudhar Youth Club)
  • लालीगुराँस युवा क्लब (Laliguras Youth Club)
  • यङ स्टार फुटबल क्लब (Young Star FC)
  • कुरिन्टर फुटबल क्लब (Kurintar Football Club)
  • बेनीघाट रोराङ युवा क्लब हुङ्दी (Benyighat Rorang Youth Club–Hungdi)
  • बेनीघाट रोराङ–४ मोहीरिया टिम (Benyighat Rorang–4 Mohiriya Team)
  • विशालतार एफ.सी. (Vishaltar FC)

विगतका संस्करणहरू
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। सो खेलमा चितवनका खेलाडी विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। उनले प्रतिगोल नगद पुरस्कारसहित जम्मा ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए, जुन मुख्य पुरस्कारभन्दा पनि बढी थियो।
दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन इच्छाकामना टिम विजयी बनेको थियो।

खेल तालिका अनुसार अन्तिम फाइनल खेल कात्तिक १ गते दिउँसो १ बजे हुने कार्यक्रम रहेको छ।