
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आज असोज २५ गतेदेखि तेस्रो स्व. अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरु हुँदैछ।
अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङको आयोजनामा सञ्चालन हुने यो प्रतियोगितामा १३ टिम सहभागी छन्। उद्घाटन खेल आज दिउँसो १ बजे मझिमटार खेल मैदानमा धुनीबेशी एफ.सी. र सोल्टी नेपाल टिमबीच हुनेछ।
प्रतियोगितामा सहभागी टिमहरू
- धुनिबेसी फुटबल क्लब (Dhunibesi FC)
- सोल्टी नेपाल टिम (Solti Nepal Team)
- हाईवे स्पोर्ट्स क्लब बी (Highway Sports Club–B)
- फजिमटार युवा क्लब (Fajimtar Youth Club)
- गजुरी समाज गजुरी (Gajuri Samaj, Gajuri)
- हाईवे स्पोर्ट्स क्लब–ए (Highway Sports Club–A)
- चारौंदी समाज सुधार युवा क्लब (Charaundi Samaj Sudhar Youth Club)
- लालीगुराँस युवा क्लब (Laliguras Youth Club)
- यङ स्टार फुटबल क्लब (Young Star FC)
- कुरिन्टर फुटबल क्लब (Kurintar Football Club)
- बेनीघाट रोराङ युवा क्लब हुङ्दी (Benyighat Rorang Youth Club–Hungdi)
- बेनीघाट रोराङ–४ मोहीरिया टिम (Benyighat Rorang–4 Mohiriya Team)
- विशालतार एफ.सी. (Vishaltar FC)
पुरस्कार रकम
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेता टिमले ५० हजार रुपैयाँ, सेमिफाइनलमा रोकिएका दुई टोलीले जनही १० हजार रुपैयाँ, अनुशासित टिमलाई ५ हजार रुपैयाँ, र उत्कृष्ट खेलाडी, गोलरक्षक तथा गोलकर्तालाई पनि जनही ५ हजार रुपैयाँ पुरस्कारका रूपमा प्रदान गरिनेछ।
यो प्रतियोगिता ३४ वर्षीय स्वर्गीय अञ्जन सिलवालको स्मृतिमा आयोजना गरिँदै आएको हो। स्व. सिलवाल तत्कालीन माओवादी केन्द्रका बेनीघाट–९ का सचिव थिए। उनको चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरूले उनको नाममा “अञ्जन स्मृति प्रतिष्ठान” स्थापना गरेका हुन्।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको रुचि बढाउने र आपसी सद्भाव सुदृढ गर्ने उद्देश्य राखेको छ।
विगतका संस्करणहरू
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। सो खेलमा चितवनका खेलाडी विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। उनले प्रतिगोल नगद पुरस्कारसहित जम्मा ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए, जुन मुख्य पुरस्कारभन्दा पनि बढी थियो।
दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन इच्छाकामना टिम विजयी बनेको थियो।
खेल तालिका अनुसार अन्तिम फाइनल खेल कात्तिक १ गते दिउँसो १ बजे हुने कार्यक्रम रहेको छ।















